—सन्देश शर्मा
छिमेकी देश भारतको राष्ट्रपति निर्वाचनमा भूतपूर्व अर्थमन्त्री प्रणव मुखर्जी विजयी हुनुभएको छ । १३औँ भारतीय राष्ट्रपतिका रूपमा नवनिर्वाचित राष्ट्रपति मुखर्जीले भारतकी प्रथम महिला राष्ट्रपति प्रतिभा पाटिलको स्थान लिनुहुनेछ भने पाँच वर्षको राष्ट्रपतीय कार्यकालका लागि उहाँले आज बुधबारकै दिन सपथ लिँदैहुनुहुन्छ । प्रणव मुखर्जीले आफ्ना निकटतम् प्रतिद्वन्द्वी पीए सङ्गमालाई पराजित गर्नुभएको हो । सङ्गमा भारतीय तल्लो सदनका पूर्वसभामुख हुन् जसलाई भारतीय जनता पार्टीको समर्थन प्राप्त थियो । आलङ्कारिक पद भए पनि सन् २०१४ मा हुने निर्वाचनमा स्पष्ट परिणाम नआए नयाँ सरकार गठन गर्नमा नवनिर्वाचित राष्ट्रपति मुखर्जीको भूमिका महत्वपूर्ण हुने हुनाले सत्ताधारी काङ्ग्रेस पार्टीका लागि मुखर्जीको विजय सकारात्मक तथा राहतकारी घटना सावित हुन सक्छ ।
प्रणव मुखर्जीको जन्म सन् १९३५, डिसेम्बर ११ का दिन पश्चिमबंगालको वीरभूम जिल्लामा भएको थियो । मृदुभाषी, गम्भीर तथा कम बोल्ने स्वभावका प्रणवले इतिहास र राजनीतिशास्त्रमा स्नातकोत्तर डिग्री हासिल गर्नुभएको छ । मुखर्जीका पिता कामदा किंकर मुखर्जी स्वतन्त्रता सेनानी थिए भने उहाँका छोरा अभिजित मुखर्जी पनि पश्चिमबंगाल विधानसभाका विधायक छन् ।
नवनिर्वाचित राष्ट्रपति मुखर्जी पूर्ववित्तमन्त्री तथा सत्ताधारी गठबन्धनको नेतृत्व गरिरहेको काङ्ग्रेस पार्टीका एकजना प्रभावशाली र पुराना राजनीतिज्ञ हुनुहुन्छ । राष्ट्रपतिको उम्मेदवार बन्दासम्म मुखर्जीले युपीए सरकारमा सबैभन्दा धेरै जिम्मेवारी सम्हालिरहनुभएको थियो भने वित्त मन्त्रालयको जिम्मेवारीबाहेक उहाँले विभिन्न मन्त्रिमण्डल समूहको नेतृत्व गरिरहनुभएको थियो । आफ्नो राजनीतिक जीवनकालमा प्रणव मुखर्जीले विदेश, रक्षा, गृह र वाणिज्यजस्ता विभिन्न मन्त्रालयहरूको जिम्मेवारी सम्हालिसक्नुभएको छ । सन् १९३५ मा भारतको पश्चिम बंगालमा जन्मनुभएका प्रणव मुखर्जी सन् १९६९ मा भारतको माथिल्लो सदनमा निर्वाचित हुनुअघि शिक्षण, पत्रकारिताजस्ता पेसामा संलग्न हुनुहुन्थ्यो । सन् १९८६ मा राजीव गान्धीसँग मनमुटाव भएपछि उहाँले आफ्नै अलग राष्ट्रिय समाजवादी काङ्ग्रेस नामक पार्टीसमेत गठन गर्नुभएको थियो । तर, त्यसको दुई वर्षपछि नै भारतका भूतपूर्व प्रधानमन्त्री पीभी नरसिंह रावको विशेष प्रयत्नमा उहाँ पुरानो पार्टीमा फर्किनुभएको थियो । उहाँले अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकको बोर्डमा पनि बसेर काम गरिसक्नुभएको छ ।
काङ्ग्रेस पार्टीका सङ्कटमोचक मानिँदै आउनुभएका ७६ वर्षीय मुखर्जीले भारतीय राजनीतिमा चार दशकभन्दा बढी समय बिताइसक्नुभएको छ । सन् १९६९ मा पहिलोपटक राज्यसभाका लागि चुनिएयता उहाँ धेरैपटक राज्यसभामा निर्वाचित हुनुभएको छ । सन् १९७३ को फेब्रुअरीमा पहिलोपटक केन्द्रीय मन्त्री बनेपछि मुखर्जीले बितेको चार दशक अवधिमा काङ्ग्रेस नेतृत्वको सबैजसो सरकारमा मन्त्री पद सम्हालिसक्नुभएको छ । सरकारका विभिन्न समितिको अध्यक्षता गर्नुका अलावा उहाँले काङ्ग्रेस पार्टीमा महत्वपूर्ण भूमिका निभाउनुभएको छ ।
भारतमा राष्ट्रपतिको भूमिका सामान्यतया आलङ्कारिक नै हुन्छ, तर आगामी राष्ट्रिय निर्वाचनमा कुनै पनि दलले बहुमत हासिल गर्न सकेन भने उहाँले खेल्ने भूमिका महत्वपूर्ण हुन आउँछ । पछिल्लो चार दशक भारतीय राजनीतिमा सक्रिय रहनुभएका मुखर्जीले २५ जुलाई अर्थात् आज बुधबार राष्ट्रपति पदको पद तथा गोपनियताको शपथग्रहण गर्नुहुनेछ ।
कोलकातामा राजनीतिक यात्रा थाल्दादेखि नै नेपालप्रति चासो राख्दै आउनुभएका नवनिर्वाचित राष्ट्रपति मुखर्जी नेपालप्रति विशेष लगाव राख्ने व्यक्तिका रूपमा परिचित हुनुहुन्छ । नेपालप्रतिको चासो र नेपाली साथीहरूसँगको उहाँको निकट सम्बन्धमा अझै गाढापन आउने उहाँलाई नजिकबाट चिन्ने नेता तथा सहयोगीहरूको कथन छ । नेपालप्रति गहिरो चासोचाहिँ मुखर्जीले सन् १९९० पछि मात्र राख्न थाल्नुभएको उहाँलाई नजिकबाट नियालिरहेका विश्लेषकहरूको ठहर छ । सन् २००५ पछि नेपाल मामिलामा मुखर्जीको चासो नेपालप्रति झन् गहिरिएर गयो । किनकि, सशस्त्र सङ्घर्षरत माओवादी र तत्कालीन सातदलीय गठबन्धनबीच सम्झौताको प्रयास भइरहेको त्यस अवस्थामा मुखर्जीले नेपालप्रति निकै चासो बढाउनुभएको थियो । तत्कालीन विद्रोही माओवादी र राजनीतिक दलहरूबीच सम्झौता गराउन माक्र्सवादी नेता सीताराम येंचुरीलाई संलग्न गराउन पनि मुखर्जीको ठूलो भूमिका रहेको मानिन्छ । यति मात्र नभई काङ्ग्रेस, एमाले, माओवादीदेखि लिएर मधेसवादी दलका प्रायः सबै प्रमुख नेतासँग मुखर्जीको सुमधुर सम्बन्ध छ । गत वर्ष भारतको वित्तमन्त्री रहेको बेला नेपाल भ्रमण गर्नुभएका मुखर्जीले नेपालका सबै राजनीतिक दलका शीर्षनेतासँग भेटवार्ता गर्नुभएको थियो ।
स्वर्गीय गिरिजाप्रसाद कोइरालासँग मुखर्जीको अत्यन्त निकटको सम्बन्ध रहेको थियो भने नेपालका राष्ट्रपति डा. रामवरण यादवसँग पनि मुखर्जीको घनिष्ट सम्बन्ध छ । कोलकाताबाट एमबीबीएस गर्नुभएका राष्ट्रपति यादव स्वयम् पनि बंगाली भाषाका जानकार हुनुहुन्छ । दुबैबीच बंगालीमै कुराकानी हुने गर्छ । छिमेकी भारतको राष्ट्रपतिमा नेपाललाई नजिकबाट बुझ्नुभएका राजनीतिज्ञ निर्वाचित हुनुभएबाट नेपाल र भारतबीचको सम्बन्धमा दूरगामी महत्वका नवीन आयामहरू थपिने अनुमान गर्न सकिन्छ ।
प्रतिक्रिया