एउटा परिवारमा बाबु, आमा, छोरा र बुढा भएका हजुरबुबा बस्दा रहेछन् । बृद्ध बाबु रोगी बन्दै गएपछि उनलाई स्याहारसुसार गर्नुपर्दा तिनका छोरा–बुहारीलाई झन्झट लाग्न थालेछ । खाना पनि खुवाइदिनु पर्ने, सरसफाइ पनि आफैंले गरिदिनु पर्ने, औषधिमुलोको टन्टा… । यी सबै कुराबाट मुक्ति पाउनका लागि छोरा–बुहारीले बुढालाई पालिरहनु भन्दा भीरबाट खसाल्दिन नै उचित ठानेछन् । एक रात उनीहरूले यो बिषयमा सल्लाह गर्दै भनेछन्, ‘भोली बिहानै डोकामा हालेर लैजाउँ र भीरबाट लडाइदिउँ ।’ बाबु आमाबीचको सल्लाह छोराले निधाएझैँ गरी सुनिरहेको रहेछ । भोलीपल्ट बिहान बाबु–आमाले डोकोमा हजुरबुबालाई बोक्न ठिक्क पारेपछि छोराले भनेछ– ‘बुबा यो डोकोचाहिँ फर्काएर ल्याउनु है !’ छोराको कुराले छक्क परेका बाबु–आमा दुबैले एकै पल्ट सोधेछन्– ‘किन चाहियो तलाई यो डोको ?’ छोराले जबाफ दिएछ– ‘अनि तपाईंहरू बुढाबुढी भएपछि मैले केमा लगेर फाल्नु त ?’ विदेशीहरूले यही कथालाई अलि फरक तरिकाले बनाएका छन् । जे होस्, विश्वब्यापी रुपमा चर्चित यो कथाको चरितार्थ अहिले नेकपा माओवादी पार्टीमा भएको छ ।
हिजो जनयुद्धका नाममा आफुइतरका मानिसहरूलाई जस्तो माओवादी नेताहरूले ब्यवहार गर्न आफ्ना कार्यकर्तालाई सिकाए ठिक त्यही ब्यवहार अहिले आफुहरूमाथि आइलाग्यो । माओवादीहरू जस्तो साधन अवलम्बन गरेर राजनीतिको सतहमा आउन सकेका थिए, जुन प्रकारको ‘स्कुलिङ’बाट कार्यकर्ताहरूलाई अगाडि बढाइएको थियो त्यसैको फलस्वरुप अहिले कार्यकर्ताहरूले ब्यवहार गरेको देखियो । माओवादीले ‘क्रान्ति’को सुरुवात नै मान्छे मारेर गरेका थिए, हत्या गर्नुको साटो कुनै सिर्जनात्मक कामबाट क्रान्तिको सुरुवात गरिएको भए कार्यकर्ताले सोही कुरा सिक्ने थिए । युद्धका बेला माओवादीले के गरेनन् ? किरीया बसिरहेका किरियापुत्रीको समेत अत्यन्त क्रुर तरिकाले अपहरण गरियो । विभिन्न जातजातीको सांस्कृतिक अधिकारको रक्षा गर्ने भाषण गर्दै हिँडेका माओवादीले आर्य संस्कृतिलाई भनें सके सम्म ध्वस्त पार्न लागि परेका थिए । आफुले जतिबेला पार्टीमा एउटा संस्कृतिको विकास गर्नुपर्ने थियो त्यतिबेला आफुबाहेक सबैलाई सत्रुको दृष्टिकोणले हेर्नका लागि सोहीअनुसारको प्रशिक्षण दिइयो । समयक्रममा आहिले आएर यस्तो दिन आयो कि आफ्नै कार्यकर्ताको आँखामा नेताहरू शत्रुको सूचीमा परे । यसो हुनुको प्रमुख कारण धन–सम्पत्ति र ऐस–आरामजस्ता कुरामा एनेकपा माओवादीभित्र नेता र कार्यकर्ताबीचको बढ्दो खाडल नै हो । नेताहरूको दिनचर्या, रहनसहन, लवाइख्वाइ र कार्यकर्ताहरूको निरिहपनबीच कुनै तालमेल नै हुन सकेन । हिजो बुर्जुवा वर्ग र वर्गशत्रु भनेर चिनाइएकाहरू भन्दा कैयौं गुणा बढि ‘हाइफाइ’को जीवन बाँचिरहेका नेताहरूलाई देखेर कार्यकर्ताहरूमा एकप्रकारको निराशा छाएको थियो, छ । त्यो निराशालाई मेट्नका लागि उनीहरूले जे गरे त्यसले माओवादीभित्र रहेको भनिएको ‘चेन अफ कमाण्ड’लाई पुरै ध्वस्त गरिदिएको छ । सामान्यतया कम्युनिष्ट पार्टीहरूमा एक प्रकारको ‘हाइर्यार्की’ समाजवादी या अन्य वर्गभन्दा बढि नै हुने गर्छ । यद्यपि अन्य वर्गभन्दा समानताको कुरा गर्नेमा भने कम्युनिष्टहरू नै अगाडि छन् ।
माओवादी केन्द्रीय समितिको विस्तारित बैठकमा कार्यकर्ताले नेताहरूलाई कुर्सीले हाने । त्यो पनि चानचुने नेतालाई नभएर आफ्नै पार्टीका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई । कुनै बेला यो मुलुकमा प्रचण्डहरूले यति छिटै आफ्नै कार्यकर्ताहरूबाट यस प्रकारको ब्यवहार भोग्नु पर्ला भनेर सोचिएको पनि थिएन । अहिले आफ्ना कार्यकर्ताबाहेक मुलुकका अन्य पङ्क्तिबाट यस प्रकारको ब्यवहार भोग्नुपरेको भए तिनको हालत के हुने थियो होला भनेर अनुमान मात्र गर्न सकिन्छ । मुलुकको प्रधानमन्त्रीका लागि राज्यले धेरै ठुलो सुरक्षा ब्यवस्था गरेको हुन्छ, तर प्रधानमन्त्रीले भारी सभामा कुर्सीको प्रहार खाँदासम्म यो मुलुकमा कसैलाई कार्वाही भएन न त तिनका सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूले कुनै बचाउ नै गर्न सके । तर यो घटनालाई नेपाली समाजले त्यति आश्चर्यजनक रुपमा भने लिएको छैन । ‘जस्तो रोपिन्छ त्यस्तै फल्छ’ भन्ने प्रचलित नेपाली उखान सुनिरहेकाहरूका लागि यो त्यति असहज घटना बनेन । हामीकहाँ ‘कली आजको भोली’ भन्ने चलन पनि छ । सत्य युगमा भए आफुले गरेका कामको परिणाम भोग्न अर्को जूनी पर्खनुपथ्र्यो अरे, तर कलियुगमा त कसैले कसैलाई दुःख, तनाव दिएको छ र कुनै पाप गरेको छ भने केही समयपछि नै त्यसको परिणाम सम्बन्धित ब्यक्तिले भोग्नुपर्छ । धेरै कुराबाट यसको प्रमाणित भइसकेको छ । माओवादीको सवालमा मात्र नभएर अन्य कुरामा पनि यस प्रकारका कति उदाहरणहरू भेट्ने गरिएको छ । अरूलाई धोखा दिनेले अन्ततः आफुले पनि धोखा पाएका, अरूको कुभलो चाहनेको आफ्नै हविगत भएका अनेक कहानीहरू घर–घरमा सुनिन्छन् । अन्तर्राष्ट्रिय स्तरमै पनि यस प्रकारका अनेक उदाहरणहरू छन् । विगतमा सामन्ती वर्गका नाममा तिनै कार्यकर्तालाई अगाडि सारेर माओवादीले सर्वसाधारणलाई धम्काउन प्रयोग गरे । धम्काउन र तर्साउन मात्र नभएर जनकारवाहीका नाममा तिनलाई कुटपिट गर्न र मार्नमा समेत कार्यकर्ता अगाडि सारियो, अहिले तिनै कार्यकर्ताहरू आफैंलाई कार्वाही गर्न अघि सरे । गन्तब्यप्राप्तिको साधन हिंसालाई बनाउनु पर्छ भनेर बुझेका/बुझाइएका कार्यकर्ताहरूले आफ्ना माग पुरा गर्न नेताहरूमाथि जसरी जाइलागे यसले पार्टीमा सबैलाई सचेत र सजग गराएको हुनु पर्दछ । बुढापाकाहरू भनिरहेका छन् कि विगतमा अरूलाई सताउनुको परिणाम भोग्न माओवादी नेताहरूले अर्को जुनी कुरिरहनु परेन ।
पार्टीभित्रको गुटबन्दी अब सकिएको भन्ने घोषणा गरेर सुरु भएको बैठकमा त्यस प्रकारको घटना हुनु माओवादीका लागि निकै दुर्भाग्यपूर्ण कुरा हो । यस्तो घोषणा गरेको केहीबेरमैं माओवादीभित्रको गुट–उपगुटबीच हात हालाहालको अवस्थाले पार्टीभित्रको एकता बालुवाको घर मात्र भएको प्रमाणित गरिदिएको छ । यस घटनाबाट माओवादीले जनवादी केन्द्रीयताको कुरा जतिसुकै जोडतोडले गरे पनि जनवाद र केन्द्रीयता दुबै कमजोर भएको प्रमाणित भएको छ । पार्टीभित्र बढेको बेथिति र भत्किएको ‘चेन अफ कमाण्ड’लाई पुरानै अवस्थामा ल्याउन त्यति सजिलो देखिँदैन । किनभने, कुनै पनि पार्टी, संस्था या संगठनमा नेतृत्व सबैभन्दा महत्वपूर्ण कुरा हो, जब नेतृत्वले नै कार्यकर्ताबाट कारवाहीको अवस्था खेप्नु पर्छ भने त्यस्तो अवस्थामा जनवादी केन्द्रीयता कहाँ रहन्छ र ?
प्रतिक्रिया