
‘‘प्रधानमन्त्रीको निर्वाचनमा सहयोग गरेको दलसँग आवश्यक परामर्श र छलफलपछि राष्ट्रपति र उपराष्ट्रपति पदमा उम्मेदवारी दिने निर्णय गरेको कांग्रेसले जनाएको छ । प्रधानमन्त्री निर्वाचनको क्रममा काँग्रेसलाई मधेसकेन्द्रित दलले सहयोग गरेका थिए । व्यवस्थापिका–संसद्को आज दिउँसो ३ बजे बस्ने बैठकमा सभामुखको निर्वाचन हुनेछ । बताइएअनुसार राष्ट्रपति र उपराष्ट्रपतिको चुनावमा भने कांग्रेसले उम्मेदवारी दिनेछ । शुक्रबार बिहान ११ देखि २ बजेसम्म सभामुख र उपसभामुखको उम्मेदवारी दर्ता गराउने कार्यक्रम रहेको छ ।
सभामुखमा एकीकृत नेकपा (माओवादी)ले रोल्पा क्षेत्र नं २ बाट निर्वाचित सांसद ओनसरी घर्तीलाई उम्मेदवार बनाएको छ । प्रमुख सत्तारुढ दल नेकपा (एमाले), एमाओवादी र सरकारलाई सहयोग गरेका अन्य दलको सहयोगमा घर्ती सहजै निर्वाचित हुने बाटो खुलेको छ । दोस्रो संविधानसभा निर्वाचनमा रोल्पाबाट विजयी हुनुभएकी घर्ती एमाओवादीको तर्फबाट प्रत्यक्ष निर्वाचित हुने २६ जना सांसदमध्ये एक मात्र निर्वाचित महिला सांसद हुनुहुन्छ । उपसभामुखको जिम्मेवारीसमेत सम्हालिसक्नुभएकी घर्ती सत्तारुढ दलको साझा उम्मेदवारको रुपमा देखिनुभएको छ । व्यवस्थापिका–संसद् सचिवालयले बिहीबार दिउँसो ३ बजेसम्म सहमतिका आधारमा सभामुख चयन गर्ने निर्वाचन तालिका प्रकाशित गरेको थियो । सो समयसम्म सहमतिका आधारमा सभामुख चयन नभएपछि आज बहुमतीय प्रक्रियामा प्रवेश गरेको हो । यस्तै सचिवालयले आज साँझ ५ बजेका लागि उपसभामुखको निर्वाचन हुने कार्यक्रम तय गरेको छ ।
प्रतिक्रिया