राजधानीका अपराधीलाई सुट्–आउट गरिने !

राजधानीका अपराधीलाई सुट्–आउट गरिने !


B Thapa 1
काठमाडौं । नेपालीहरुको महान चाड बडादशैँ, दिपावली र छठपर्वको अवसरमा उपत्यकाको सुरक्षा व्यवस्थालाई मजबुत बनाउन महानगरीय प्रहरी परिसर काठमाडौंले सुरक्षा रणनीतिसहित विशेष सुरक्षा योजना बनाएको छ । चाडपर्वका समयमा चोरी, डकैती, कालोबजारी लगायतका अपराध र अपराधी बढ्न सक्ने हुँदा सुरक्षाकर्मीको दुरुस्त परिचालन, नागरिकको जिउधनको सुरक्षा एवं सिधा सेवा प्रवाहलगायतको उद्देश्य राखी योजना लागू गरिएको उपत्यका प्रहरी प्रमुख एसएसपी विक्रमसिंह थापाले जानकारी दिनुभयो ।

आगामी सुरक्षा रणनीतिसम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सुरक्षासम्बन्धी आफ्नो विशेष रणनीति सार्वजनिक गर्दै एसएसपी थापाले संगठित अपराध र अपराधीलाई समूल नष्ट गर्न ‘बीडब्लुटी’ (ब्रोकन वीन्डो थ्योरी पुलिसिङ) अर्थात् अपराध र अपराधीको कोपिला नै निमोठ्ने नीति लिइएको बताउनुभयो ।

संगठित अपराध र अपराधीलाई नियन्त्रण गर्ने नीति अपनाउने, नागरिकमैत्रीको लागि मुस्कानसहितको सेवालाई पूर्ण रुपमा कार्यान्वयन गर्ने, समुदायसँग समन्वय र सहकार्य गरी सुरक्षासम्बन्धी जनचेतनामुलक कार्यक्रम गर्ने रणनीति लिइएको जानकारी दिँदै उहाँले ‘थ्री एस’ विधि लागू गरेर काठमाडौं उपत्यकालाई अपराधमुक्त तुल्याउने कोशिसमा आफू लागेको खुलासा गर्नुभयो । थ्री एस विधि भन्नाले स्वीप, स्क्रिनिङ र सूट–आउट् भएको उल्लेख गर्दै जसअन्तर्गत पहिला स्वीप, दोस्रोमा स्क्रेनिङ र तेस्रोमा सुटआउट रहेको छ । पहिलो चरणमा गुण्डागर्दी बढार्ने, दोस्रो चरणमा सम्झाउने अनि मानेन भने तेस्रो चरणमा गोलीसमेत ठोक्ने रणनीति ल्याएको उहाँको प्रस्टोक्ति थियो । हतियार बोकेर आमनागरिकको अपरहरण गर्ने, धम्क्याउने र ज्यान लिने अपराधीलाई गोली ठोकिने दाबी गर्दै एसएसपी थापाले आफ्नो शब्दकोषमा डन या गुण्डा जस्ता शब्द नै नभएको र सुरक्षाको मामलामा कुनै पनि अराजक व्यक्ति या समूहसँग सम्झौता नगर्ने प्रतिबद्धता जनाउनुभयो । हतियारको आडमा अपराध गर्दै हिँड्नेलाई आफूले नमस्कार गर्ने प्रश्नै नरहेको जिकीर उहाँको थियो ।
राजधानीजस्तो शहरमा बेलुका नौ बजे नै बजार बन्द गराएर शान्ति स्थापना भएको ढोँग रच्नु पाखण्डीपन हुने भन्दै उहाँले आफू चौबिसै घण्टा शहर खुला गराउने प्रयत्नमा जुटेको पनि बताउनुभयो । यो काम दरबारमार्ग क्षेत्रबाट सुरु गरिने र क्रमशः राजधानीका मुख्य व्यावसायिक या पर्यटकीय स्थलहरू चौबिसै घण्टा खुल्ला तुल्याइने प्रतिबद्धता एसएसपी थापाले जनाउनुभयो ।

प्रहरीले उदासिनता, अश्लील शब्द प्रयोग, शारीरिक यातना दिने कार्य, भ्रष्टाचार र अपहेलना जस्ता प्रवृत्ति दर्शाउन नहुनेमा जोड दिँदै उहाँले यसको पालनाप्रति प्रहरीलाई सचेत तुल्याउन आफूमातहतबाट काम थाल्ने र यो क्रम विस्तार हुँदै भविष्यमा सिंगो प्रहरी संगठन नै स्वच्छ हुने आशा पनि उहाँले व्यक्त गर्नुभयो ।

आफ्ना भावी योजनाहरु सार्वजनिक गर्दै एसएसपी थापाले महाभूकम्पले क्षति पु¥याएका सम्पदाहरुको सुरक्षा र पुनर्निर्माणमा सम्बन्धित निकायसँग छलफल गरी सुरक्षाबाहेकका अन्य कार्यमा समेत सघाउने, सार्वजनिक स्थलमा धुम्रपान गर्न परुर्ण रुपमा रोक लगाउने, कुलतमा फसेका युवा तथा किशोरहरुमाथि निगरानी बढाई आवश्यक कारवाही गर्ने, समूदायसँग मिलेर विभिन्न जनचेतनामूलक कार्य गर्ने, दशैँ तिहार, छठलगायतका चाडपर्वमा हुन सक्ने विकिृति र अपराधकार्यलाई रोक्न आवश्यक सबै प्रकारका उपाय गम्भीरताका साथ अवलम्बन गरिने जानकारी दिनुभयो ।

कानुनले दिएको अधिकार प्रयोग गरी कर्तव्य पालना गर्ने क्रममा कसैको दबाबमा नआउने प्रतिबद्धता व्यक्त गर्दै काठमाडौं प्रहरी प्रमुख थापाले आफू मुलुकको जुनसुकै क्षेत्रमा खटिँदा पनि कर्तव्य पालनामा पछि नहटेको र आफ्नो यो जुझारु छवि कायम राखेर काम गर्ने पनि बताउनुभयो ।