काठमाडौं । राष्ट्रपति पदका लागि कात्तिक ११ गते हुन लागेको निर्वाचनमा विभिन्न दलका तीन जनाले उम्मेद्वारी दिएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्राध्यक्ष एवम् संविधानको संरक्षकका रुपमा रहेको उक्त पदमा सत्तारुढ दल नेकपा (एमाले)का उपाध्यक्ष विद्यादेवी भण्डारी, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका पुराना नेता एवम् पूर्वमहामन्त्री कुलबहादुर गुरुङ र नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नारायण महर्जनले उम्मेदवारी दिएका हुन् । उम्मेदवारी दर्तापछि उम्मेदवारी दिएकी एमाले उपाध्यक्ष भण्डारीले आफू विजयी भएमा राष्ट्रपति पदको गरिमा र जिम्मेवारीलाई अझ उँचो बनाउने अठोट व्यक्त गरिन्। आफूलाई जुन विश्वासका साथ ठूलो जिम्मेवारी सुम्पिन लागिएको छ, त्यो विश्वासलाई अझ उँचो राख्ने प्रयास गर्ने विद्याको भनाई छ ।
नयाँ संविधान जारी भएपछि नेपाल नयाँ ढङ्गले अगाडि बढ्ने, नेपाली महिलाको पनि सहभागिता बढ्ने तथा संविधानको मर्म र भावनाअनुरुप मुलुक अगाडि बढ्न लागेको सन्देश आफ्नो उम्मेदवारीले दिएको नेत्री भण्डारीलाई उद्धृत गर्दै राससले जनाएको छ । राष्ट्रपति जस्तो जिम्मेवार पदमा आफूलाई पार्टीहरुले अगाडि सारेर जिम्मेवारी दिने प्रयास गर्नुलाई आफूप्रतिको विश्वासका रुपमा लिएको बताउँदै उनले दलहरुबीचको सहमति र विश्वासलाई कसैले पनि डगमगाउन दिनु नहुने धारणा राखिन् ।
आफ्नो उमेदवारीलाई अहिले गठबन्धनमा रहेका सबै दलले समर्थन गरेको र बुधबारसम्ममा संसदमा रहेका सबै दलको समर्थन प्राप्त हुने विश्वास उनले व्यक्त गरिन् । नेपालको एकता, राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता, समृद्ध लोकतन्त्र र समृद्ध जीवनका लागि आफ्नो उम्मेदवारीले नयाँ मार्गप्रशस्त गरेको उनको भनाई थियो ।
यसैगरी, नेपाली कांग्रेसका तर्फबाट राष्ट्रपतिका लागि उम्मेदवारी दिएका नेता केबी गुरुङले कांग्रेस लोकतन्त्र र विधिको शासनका लागि लड्दै आएको पुरानो पार्टी भएकाले विजयी हुने विश्वासका साथ पार्टीको निर्णयअनुसार आफूले उम्मेदवारी दिएको बताए ।
कांग्रेसको इतिहास र भूमिकालाई सम्झेर सबै पार्टीले आफूलाई विजयी गराउने विश्वास व्यक्त गर्दै उनले आफू व्यक्तिगत रुपमा नभई कांग्रेस नै निर्वाचनमा लडेकाले विजयी हुने आधार धेरै भएको बताए । व्यवस्थापिका–संसद्मा कांग्रेसजस्तै अरु पनि लोकतान्त्रिक पार्टी भएकाले उनीहरुबाट आफूले समर्थन प्राप्त गर्ने उनको भनाइ थियो ।
त्यसैगरी नेमकिपाका तर्फबाट उम्मेदवार बनेका महर्जनले संवैधानिक व्यवस्था र आफ्नो पार्टीले संसदमार्फत् खेलेको भूमिकालाई विचार पु¥याएर अरु राजनीतिक दलले आफ्नो उमेदवारीलाई सहयोग र समर्थन गर्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया