
काठमाडौं । बजारमा किनमेलको क्रममा सामान्य भनाभन भएपछि एक महिलाले आफ्नो छोरो प्रयोग गरी एक दलित महिलालाई बलात्कृत गराएको घटना प्रकाशमा आएको छ । सिरहाको फुलकहाकट्टी गाविस–२ फूलकहा गाउँकी एउटी दलित महिलालाई छिमेकी गाउँका युवकले सोमबार कुटपिटसहित बलात्कार गरेको कुरा पीडित महिलाले खुलासा गरेकी हुन् ।
प्राप्त जानकारीअनुसार छिमेकी अयोध्यानगर गाविस–३ कसहा चोकमा लाग्ने साप्ताहिक हाटमा दैनिक किनमेल गरेर फर्किंदै गर्दा बजारबाट करिब ३०० मिटर दक्षिणको दुरीमा रहेको फूलबारीमा आफू बलात्कृत भएको मंगलबार साँझ पीडित महिलाले खुलासा गरेकी हुन् । इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाका अनुसार मोटरसाइकलमा आएका तीन युवकमध्ये दुई जनाले समातेर एक जनाले बलात्कार गरेको पीडितको भनाई छ । पीडिताका छिमेकी अयोध्यानगर गाविस–५ का श्रीराम महतोका कान्छा छोरा २३ वर्षीय केशव महतोले बलात्कार गरेको र उनीसँगै आएका स्थानीय ३३ वर्षीय प्रमेश्वर महतो र २९ वर्षीय प्रेम महतले घटनाको बेला महिलाको खुट्टा र हात समातेको बुझिएको छ । बलात्कार गर्नुअघि रड र बाँसको फट्टाले हिर्काउँदा तीन छोराछोरीकी आमासमेत रहेकी महिलाको टाउकाको पछाडिको भाग, बाँया कान र निधारमा गहिरो घाउ भएको छ ।
प्रहरी निरीक्षक निरौलाले जानकारी दिएअनुसार महिलाको टाउकोको पछाडिको भागमा नौ, बाँया कानको माथिल्लो भागमा पाँच र निधारमा छवटा टाँका लगाइएको छ । घाइते महिलाको अयोध्यानगर–१ स्थित ग्रिनएप्पल सिटी हस्पिटलमा उपचार भइरहेको छ । महिलालाई सोमबार साँझ नै कुटपिट गरेर बलात्कार गरिएको भए पनि स्थानीय अगुवाहरुले घटनालाई गाउँमै मिलापत्र गराउने प्रयास गरेकाले मङ्गलबार साँझ मात्र सार्वजनिक भएको हो । कुटपिटपछि बलात्कारमा परेकी महिलाको टाउकोमा गम्भीर चोट लागेकाले सिटी स्क्यानका लागि विराटनगर वा धरान लैजान अस्पतालले सुझाव दिएको भए पनि आर्थिक अभावले लैजान नसकिएको पीडितका पतिले गुनासो गरेका छन् ।
स्थानीय बासिन्दाका अनुसार पीडित महिला र बलात्कारमा संलग्न रहेका आरोप लागेका केशवकी आमा इनरदेवी महतोको कसहा बजारमा किनमेलको क्रममा सामान्य भनाभन भएको थियो । त्यसपछि किनमेल गरेर घर फर्किंदै गरेकी दलित महिलालाई इनरदेवीले मोबाइलमा फोन गरी छोरालाई बोलाएर बाटोमै कुटपिट र बलात्कार गर्न लगाएको पीडिताको दाबी छ । कुटपिट र बलात्कारपछि बेहोस भएकी महिलालाई बजारबाट घर फर्किंदै गरेका मानिसले देखेपछि उद्धार गरी अस्पतालमा भर्ना गरेका थिए । बजारको भनाभनको क्रममा आफूलाई पनि कुटपिट गरेको देखाउन इनरदेवी पनि लहानको निजी अस्पतालमा भर्ना भएकी छन् यद्यपि उनलाई केही नभएको गाउँलेहरुको भनाइ छ ।
प्रतिक्रिया