
काठमाडौं । नेपालका कराते खेलाडी मुक्ति सङ्ग्राम विष्टले अमेरिकाको बाल्टिमोरमा आयोजित ब्याटल अफ बाल्टिमोर विश्व कराते च्याम्पियनसिप–२०१५ मा प्रथम स्थान हासिल गरेका छन् । गत असोजको अन्तिम सातामा भएको उक्त प्रतियोगितामा विभिन्न राष्ट्रका १५ खेलाडीलाई पछाडि पार्दै उनले प्रथम स्थान हासिल गरेका हुन् । यो आफ्नो खेल जीवनकै महत्वपूर्ण उपलब्धि भएको विष्टले बताए । दुई दिने उक्त प्रतियोगिता गत असोज २९ र ३० गते सञ्चालन भएको थियो ।
विसं २०३२ वैशाख १५ गते चितवनमा जन्मेका विष्ट खेल क्षेत्रमा आफूलाई परिचित गराउने उद्देश्यले २०४६ सालदेखि क्योकुशिन करातेमा लागेका हुन् । उनले सन् १९९५ मा काठमाडाँैमा सम्पन्न एसियन गेम अफ क्योकुशिन कराते च्याम्पियनसिपमा भाग लिनुका साथै इटालीमा आयोजना भएको वाको विश्व किक बक्सिङ च्याम्पियनसिप– २००२ र अमेरिकामा भएको अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप– २००३ तेस्रो स्थान हासिल गरेका थिए ।
त्यस्तै, अमेरिकामा भएको मेरिल्यान्ड युएसए खुला कराते प्रतियोगिता–२००३ मा दोस्रो तथा सन् २००९ मा अमेरिकामै आयोजित मर्सर अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा प्रथम स्थान हात पारेका थिए ।
प्रतिक्रिया