
काठमाडौं । गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिको रुपमा नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । बिहिबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश कल्याण श्रेष्ठले राष्ट्रपति भण्डारीलाई पद तथा गोपनीयताको शपथ दिलाउनुभएको हो । नवनिर्वाचित राष्ट्रपति भण्डारीले शपथपत्रमा हस्ताक्षर गर्नुभएपछि निर्वतमान राष्ट्रपति डा. रामवरण यादव, उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख ओनसरी घर्तीलगायतसँग परिचय गर्नुभएको थियो ।
समारोहमा उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, पूर्व प्रधानमन्त्रीहरु, संवैधानिक अङ्गका प्रमुखहरु, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु, सांसदहरु, नेपाल सरकारका उच्च अधिकारीहरु, सुरक्षा अङ्गका प्रमुखहरु, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरु, नागरिक समाजका प्रतिनिधिलगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो भने शपथ ग्रहणलगत्तै निवर्तमान राष्ट्रपति डा. यादवले नवनिर्वाचित राष्ट्रपति भण्डारीलाई पदभार हस्तान्तरण गर्नुभएको थियो । शपथ ग्रहणपछि नेपाली सेनाले राष्ट्रपति भण्डारीको सम्मानमा २१ तोपको सम्मान गारद अर्पण गरेको थियो ।
यसअघि नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले आफू राष्ट्रपतिजस्तो गरिमामय पदमा निर्वाचित भएको भन्दै नेकपा (एमाले) उपाध्यक्ष, पार्टी सदस्य र व्यवस्थापिका–संसद्को सदस्यको जिम्मेवारीबाट अलग भएको घोषणा गर्नुभएको थियो । एक प्रेस विज्ञप्ति जारी गरी राष्ट्रपति भण्डारीले आफू रहेको पार्टीको जिम्मेवारी र व्यवस्थापिका–संसद्को जिम्मेवारीबाट समेत यही कात्तिक ११ गतेदेखि लागू हुने गरी अलग रहेको उल्लेख गर्नुभएको छ ।
एक विज्ञप्ति प्रकाशित गर्दै नेपालको संविधानको धारा २९७ बमोजिम २०७२ कात्तिक ११ गते भएको निर्वाचनबाट नेपालको राष्ट्रपति पदमा निर्वाचत भएको सन्दर्भमा यस पदको गरिमा र संविधानप्रदत्त दायित्व निष्पक्षतापूर्वक सम्पन्न गर्न सो जिम्मेवारीबाट अलग भएको हुँ भन्नुभएको छ ।
प्रतिक्रिया