
काठमाडौं । हिमाल आरोहणमा गएका एक अस्ट्रेलियन नागरिकको मृत्यु भएको छ । मुस्ताङ र म्याग्दीमा पर्ने अन्नपूर्ण प्रथम हिमालको आरोहणका लागि गएका ती आरोहीको छ हजार मिटरको उचाइबाट खसेर मृत्यु भएको सीमा प्रहरी चौकी भुरुङ तातोपानीलाई उद्धृत गर्दै राससले जनाएको छ । मृत्यु हुने आरोहीको पहिचान हुन सकेको छैन । हिमाल आरोहणका लागि एकदमै सहज मानिने अन्नपूर्ण प्रथममा चार जनाको टोली चार दिनअघि त्यसतर्फ गएका थिए ।
खसेर साथीको मृत्यु भएपछि उनका सहकर्मी आधा बाटोबाटै फर्किएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङका अनुसार अप्ठ्यारो ठाउँमा रहेका कारण शव निकाल्न सक्ने अवस्था छैन । तर, घटना बारे सीमा प्रहरी चौकीमा खबर गरिएको र मृतक आरोहीको पहिचान तथा शव ल्याउने प्रयास भइरहेको सीमा प्रहरी चौकीले जनाएको छ । आधार शिविरसम्म पुग्नका लागि हेलिकप्टर अथवा मुस्ताङको कुञ्जो हुँदै घुमाउरो बाटो जानुपर्ने हुन्छ । पैदल जाँदा दुई दिन लाग्ने भएकाले अधिकांश आरोही हेलिकप्टरमार्फत सिधै त्यहाँ पुग्ने गर्दछन् ।
यसैबीच, म्याग्दीको शिख गाविसमा पर्ने खोप्रा लेक क्षेत्रबाट सात महिनाअघि हराएका पर्यटक फेला पार्ने व्यक्तिलाई उनका आफन्तले १० लाख नगद पुरस्कार दिने घोषणा गरेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत पर्ने शिखको बयलीखर्कदेखि खोप्रा लेक जाने क्रममा गत चैत २२ गते मलेसियाको क्वालालम्पुरका ४७ वर्षीय डेनिस लियन थिएन पो हराएका थिए ।
गत वैशाखदेखि प्रहरी, पर्यटन व्यवसायी र उनका आफन्तले हेलिकप्टर र तालिम प्राप्त कुकुरको समेत प्रयोग गरे निरन्तर खोजी गरी रहे पनि ती पर्यटक अझसम्म भेटिएका छैनन् । डेनिसको खोजीका लागि यसै हप्ता नेपाल आएका आफन्तले एक सार्वजनिक सूचना जारी र १० लाख पुरस्कार दिने घोषणा गरेको हो । पर्यटक डेनिस सारडग्स नेपाल नामको टे«किङ कम्पनीमार्फत पदयात्रामा आएका थिए ।
प्रतिक्रिया