खुकुलियो बेलहिया नाका !

खुकुलियो बेलहिया नाका !


बेलहिया नाका
काठमाडौं । भारतीय पक्षले कुनै पनि अवरोध नगरेपछि रुपन्देहीको बेलहिया नाकाबाट निर्वाध रुपमा इन्धनसहितका मालबाहक गाडी नेपाल आइरहेको बुझिएको छ । देशका अन्य नाकाको अवरोध जारी रहे पनि बेलहिया नाका भने अविश्वसनीय तवरले खुकुलो गरिएको छ । मधेसी मोर्चाले सिमानाका बेलहियामा नाकाबन्दी गर्ने कार्यक्रम राखे पनि भारतीय पक्षले आन्दोलनकारीलाई सहयोग नगरेपछि पछिल्ला दिनमा बेलहिया नाकाबाट दैनिक २०० बढी गाडी नेपाल प्रवेश गरेको बताइएको छ ।

रुपन्देहीको बेलहियाका नाकाबाट बिहीबार र शुक्रबार मात्रै झन्डै ५० वटा डिजेल र पेट्रोलका गाडी नेपाल प्रवेश गरेको र २० वटा बढी ग्यास बुलेट नेपाल आएको इलाका प्रहरी कार्यालय बेलहियाले जनाएको छ । बताइएअनुसार बिहीबार सबैभन्दा बढी ३३ वटा डिजेल, चार वटा पेट्रोलसहित सयौँ गाडी नेपाल आएका थिए । त्यसैगरी शुक्रबार १५८ वटा ट्रकसहित २०० बढी मालसहितका सवारीसाधन एवम् बस, पिकअप, अक्सिजनका गाडी आएका छन् । भारतीय पक्षले कुनै पनि अवरोध नगरेपछि सहजरुपमा मालबाहक साधन नेपाल आएको रुपन्देही प्रशासनले पनि पुष्टि गरेको छ ।