
‘हट नायिका’को रूपमा चर्चा कमाइरहेकै बेला कुनैबेला एकाएक आफ्नो जात नै ‘स्त्री’ भएको घोषणा गर्दै साधुझैँ व्यवहार गर्न थालेकी सुन्दरी नायिका पूजनाले पुन: आफूलाई ‘प्रधान’ थरमा चिनाउन थालेको पनि निकै भयो । जसले उनलाई प्रधानको ठाउँमा ‘स्त्री’ हुन उक्साएका थिए, पुष्पराज ‘पुरुष’ नामक ती युवा आफ्नो हर्बल व्यवसाय धराशायी बनेपछि यतिबेला गुमनामतुल्य भएका छन् । तर, ‘पुरुष’ सडकमा पुगे पनि ‘स्त्री’ पूजना भने प्रधान थरमा फर्किएपछि यतिबेला चलचित्र क्षेत्रमै सक्रिय बनेकी छिन् । पूजनाले निर्माण गरेको ‘चकलेट’ नामक फिल्म यही मङ्सिरको तेस्रो सातातिर देशभर प्रदर्शनमा आउँदै छ । हङकङमा केही समयअघि यो चलचित्रको विशेष प्रदर्शन भइसकेको छ ।
चुलबुले नायिका प्रधानले ‘चकलेट’बाट कमाएको रकम च्यारेटीका लागि प्रयोग हुने दाबी गरेकी छिन् । उक्त रकमले काठमाडौंमा अनाथ बालबालिकाको लागि घर बनाउने उनको उद्देश्य रहेछ । भवन निर्माणका लागि राजधानीमा जमिन खोजिरहेको बताउने पूजनाले निर्माण गरेको चलचित्रको कथा पनि काठमाडौंका सडक बालबालिकाकै कथामा आधारित रहेको छ । ‘स्त्री’ कास्टलाई निरन्तरता दिन नसके पनि पूजनामा सेवाको भाव भने भरपूर रहेको उनको पछिल्लो कदमले पनि प्रस्ट्याउँछ । यदि अनाथ बालबालिकाको सेवा गर्ने उनको अभिप्रायमा कुनै व्यक्तिगत स्वार्थ लुकेको छैन भने पूजनाको कामको तारिफ गर्नैपर्छ । अन्य नायिकाहरूले पनि पूजनाबाट प्रेरणा लिने हो कि ?
प्रतिक्रिया