सुनसरी घटनापछि प्रजिअलगायत सुरक्षा अधिकारीहरुलाई फिर्ता बोलाइयो

सुनसरी घटनापछि प्रजिअलगायत सुरक्षा अधिकारीहरुलाई फिर्ता बोलाइयो


गत आइतबार (१० साउन) राति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखलाई गृह मन्त्रालयले फिर्ता बोलाएको छ । प्रजिअ घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाएर उनको ठाउँमा सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्याललाई खटाइएको छ ।

गृह मन्त्रालयले जनाएअनुसार कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डिआइजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय, काठमाडौं पठाइएको छ भने प्रहरी प्रधान कार्यालयमा कार्यरत डिआइजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय खटाइने भएको छ ।

यस्तै, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) केशव थेवेलाई भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल खटाइएको छ । थेवेको स्थानमा उक्त विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई जिम्मेवारी दिइएको छ ।

यसैगरी, सशस्त्र प्रहरी बल नेपालका एसपी श्यामकुमार कार्कीलाई फिर्ता बोलाएर प्रधान कार्यालयमा कार्यरत एसपी लवकुमार सापकोटालाई पठाउने निर्णय गरेको छ । साथै, सशस्त्र प्रहरी बल नेपाल कप्तानगञ्जमा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाइएको छ । उनको ठाउँमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, काठमाडौंमा कार्यरत डिएसपी मदन नाथलाई पठाइएको छ ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडपमा एक जनाको निधन भएको थियो । घटनामा परेर नौ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र पाँच जना सशस्त्र प्रहरी गरी २४ जना घाइते भएका थिए ।

घटनाको विषयमा छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । समितिले एक साताभित्रमा प्रतिवेदन बुझाउने बताइएको छ ।

घटनापछि थप समस्या उत्पन्न हुन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा सोमबार बिहान ७ः०० बजेदेखि अनिश्चितकालीन कर्फुयू आदेश जारी गरेको छ ।