अध्यागमन विभागको गैरपर्यटक शाखामा कार्यरत तत्कालीन कम्प्युटर अपरेटर (वरिष्ठ अध्यागमन सहायक) राजीव महतो र एक अमेरिकी नागरिकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले जनाएअनुसार महतोले नेपाली पोर्ट प्रणालीको ‘ट्राभलर सेन्ट्रलाइजेसन’ सुविधा दुरुपयोग गरी लक्जेम्बर्गका नागरिकका नाममा जारी भएको आवासीय भिसाको अभिलेख कीर्ते गरेर आवश्यक प्रक्रिया पूरा नगरेका एक अमेरिकी नागरिकका नाममा एकीकृत गरी भिसा जारी गरेको आरोप लागेको छ ।
सरकारी अभिलेख हेरफेर गरी नेपाल सरकार र अध्यागमन विभागलाई हानि-नोक्सानी पुऱ्याएको आरोपमा आयोगले सोमबार (११ साउन) विशेष अदालतमा वरिष्ठ अध्यागमन सहायक महतो र उक्त अमेरिकी नागरिकविरुद्ध कैद तथा जरिवानाको मागदाबी गर्दै मुद्दा दायर गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया