देश

देश


रत्ननिधि रेग्मी शुक्राचार्य

– ज्यो. रत्ननिधि रेग्मी शुक्राचार्य

मेरो यो मुटुभित्र छाम कसरी ज्युँदै मरेको म छु
हाहाकार जिएर यो बखतमा गिर्दै झरेको म छु
पग्लन्छन् पसिना हिमाल तर यो आँसु बगेको म छु
आफ्नो स्वत्व सबै गुमेसरि भई आस्था डगेको म छु ।।१।।

पानी– जङ्ग बेचिई बगरमा बाँझो पडेको म छु
रित्तो मन्दिर जीर्ण भई गजुर यो ढल्दै लडेको म छु
छातीमा घनघोर बज्र सहँदै पीडा पिएको म छु
धोकाभित्र परी बडो सकसमा आधा जिएको म छु ।।२।।

छोराको अवसानमा हरघडी शोकीरहेको म छु
छोरीको बलजफ्त इज्जत गुमी क्रोधी बनेको म छु
सीमा साँध थिचोमिचो हुन गई मूर्दा भएको म छु
लुट्नेको हुलबाट बच्न नसकी गुम्दै गएको म छु ।।३।।

तानातान भएर छिन्न नसकी त्यान्द्रो अडेको म छु
घोट्दा पत्थरझैँ खिएर अहिले डल्लो बनेको म छु
कुल्चेको शिरमा सहेर रहँदा थेप्चो परेको म छु
खन्दा पर्वत दुष्टले तल–तलै खुम्ची झरेको म छु ।।४।।

स्वार्थी जाल र झेलमा अझ परी मर्दै गरेको म छु
फुल्छन् फूल वसन्तमा शिशिरझैँ नाङ्गै–भुतुङ्गै म छु
त्यो काकाकुल रुन्छ रे ! जलविना सुक्खा रहेको म छु
बाँकी छैन कुनै परन्तु जिउ नै चोक्टा भएको म छु ।।५।।

यौटा देश भई स्वतन्त्र नहुँदा अस्तित्वले हीन छु
आफ्नै भन्नु छिमेकको दमनले गर्दा सधैँ दीन छु
फल्छन् अन्न–अनाज तैपनि सधैँ भोको रहेको म छु
पानीमा अधिकार छैन पिउने धोको भएको म छु ।।६।।

नाका बन्द छ पारिको अझ कडा धम्की र अन्याय छ
आफ्नो चैँ घरभित्र मस्त झगडा या द्वन्द्व बेमेल छ
काटामार छ, आपसी कलहको वैरत्वले व्याप्त छ
शान्तिक्षेत्र बनी दिए पनि ठूलो सन्तोष पर्याप्त छ ।।७।।

माटो मात्र हुँदैन देश कहिल्यै मान्छेबिनाको घर
बस्तीयोग्य हुनेछ भूमि जसले पार्‍यो भने सुन्दर
हेपेको अरूले हुँदैन सहने मान्छे सही देशको
माता, भूमि निमित्त लड्दछ भने सन्तान हो बेस त्यो ।।८।।