बीस लाख नगदसहित जुवाडेहरू पक्राउ

बीस लाख नगदसहित जुवाडेहरू पक्राउ


Juwade 1
काठमाडौं । लागुऔषध, जुवातास जस्ता विकृतिविरुद्ध कडाईका साथ अभियान थालेको महानगरीय प्रहरी परिसर काठमाडौंले मंगलबार राती गौशालाबाट डेढ दर्जन जुवाडेलाई जुवातास खेलिरहेकै अवस्थामा पक्राउ गरेको छ । काठमाडौं–९ गौशालास्थित केशवध्वज राणाको घरको भुइँतलामा कौडा खेलिरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । जुवामा प्रयोग भएको करिव २० लाख नगदसहित प्रहरी नियन्त्रणमा पर्नेहरूमा केडी राणा भनेर चिनिने ६३ वर्षीय केशवध्वज राणा, अभिषेक राणा, रुपेश श्रेष्ठ, क्षेत्रबहादुर तामाङ, जोग वहादुर तामाङ, सोहेल कार्की, बद्री धिताल, विजय थापा, मुक्ति लामा, अनन्त दाहाल, प्रकाश पन्त, कृष्ण लामा, उमेश थापा, निश्चल प्रधान, हरि घिमिरे, जित बहादुर नेवार र प्रदिप क्षेत्री (बोगटी) रहेको प्रहरीले जनाएको छ । उनीहरूबाट १६ थान कौडा, १२ बुक तास, भुइँमा ओच्छ्याउने कपडा, तन्ना, कम्बल, चकटीहरू, प्रत्येक जुवाडेबाट विभिन्न मोडलका महँगा मोबाइलहरु र नगद १९ लाख ९४ हजार बरामद गरिएको पनि बताइएको छ । पक्राउ परेकाहरूलाई आवश्यक कानुनी कारवाही गरिने र जुवातास नियन्त्रणको लागि थप कडाइका साथ लागिपर्ने पनि प्रहरीले जनाएको छ ।