काठमाडौं । तीन महिनादेखि नाकाकेन्द्रित आन्दोलन जारी राखेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पूर्वपश्चिम राजमार्ग केन्द्रित आन्दोलन सुरु गरेको छ । यसरी राजमार्गकेन्द्रित प्रदर्शन थालेको मधेसी मोर्चा र प्रहरीबीच सप्तरीको भारदह र रुपनीमा शनिबार राती भएको झडपमा दुईजना आन्दोलनकारीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको भारदह र रुपनी सडकखण्डमा आन्दोलनकारीले बाटो अवरुद्ध गरेपछि बाटो खुलाउने क्रममा प्रहरीले बल प्रयोग गर्दा आन्दोलनकारी र प्रहरीबीच रातभर झडप भएको थियो ।
सो झडपमा परी प्रहरीले चलाएको गोली लागेर सप्तरीको भारदह सडकखण्डमा जिल्लाको बलिया बतनाहा गाविस– १ का १५ वर्षीया नरेन रामको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै रुपनी सडकखण्डमा प्रहरीले चलाएको गोलीबाट सप्तरीको जोमनी मधेपुरा गाविस– ९ निवासी २५ वर्षीय नागेश्वर यादवको मृत्यु भएको बताइएको छ । प्रदर्शनकारी पक्षबाट भने चार जनाको मृत्यु भएको दाबी गरिएको छ ।
बताइएअनुसार प्रहरीले भारदहमा सयौँ राउन्ड अश्रु ग्यास प्रहार गरेको थियो भने रुपनी र विसनपुर सडकखण्डमा समेत सयभन्दा बढी राउन्ड गोलीका छर्रा प्रहरीले प्रहार गरेको थियो । गोली लागेर भारदह र रुपनीमा एक दर्जनभन्दा बढी मोर्चाका कार्यकर्ता घाइते भएका छन् । घाइतेमध्ये आधा दर्जनको अवस्था गम्भीर रहेको प्रहरीले नै जनाएको छ । गम्भीर रहेकाहरुको हात, खुट्टा, टाउको र छातीमा गोली लागेको बुझिएको छ ।
सो क्षेत्रमा शनिबार राति १० बजेदेखि मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच सुरु भएको झडप जारी नै रहेको र अवस्था तनावग्रस्त रहेको बताइएको छ । प्रहरीले दिनहुँ राजमार्ग हुँदै सवारी साधनमा सुरक्षा दिने गरे पनि राजमार्ग क्षेत्रमा रातभरिको प्रदर्शन र झडपका कारण कुनै पनि सवारी साधन चल्न सकेको छैन ।
प्रतिक्रिया