
काठमाडौं । विभिन्न आरोप, आशंका र टिकाटिप्पणीबीच पूर्व माओवादी नेता एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ शक्ति राष्ट्रिय अभियान गठन गरेका छन् । आफ्नै संयोजकत्वमा गठित अभियानले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै डा. भट्टराईले तराई मधेसको समस्यालाई तत्काल राजनीतिक तवरले समाधान गर्न आग्रह गरे । उनले तराई मधेसको आन्दोलन र भारतको नाकाबन्दी फरकफरक विषय भएकाले त्यसलाई फरक ढङ्गले सम्बोधन गर्नुपर्नेमा जोड दिए ।
विभिन्न संयोजकसमेत तोकेको अभियानले मेची, कोसीको संयोजकमा राजेन्द्र किराँती, मध्य तराई संयोजकमा रामचन्द्र झा, काठमाडौँ र यसको आसपासको क्षेत्रका लागि गङ्गा श्रेष्ठलाई संयोजक तोकिएको जनाएको छ । यस्तै, गण्डकी–बाग्लुङ–म्याग्दी संयोजकमा देवेन्द्र पराजुली, मगरात—अवधमा वामदेव क्षेत्री, भेरी कर्णालीमा भक्तबहादुर शाह, सेती–महाकालीमा नवराज सुवेदी, जनवर्गीय एवम् मोर्चामा कुमार पौडेल, अन्तर्राष्ट्रियमा हिसिला यमी र जातीय मोर्चाको संयोजकमा रामकुमार शर्मा तोकिएका छन् ।
नयाँ शक्तिको रुपमा घोषणा गरिएका सार्वजनिक गरिएका संयोजकहरुमा डा. भटृराईले छोडेको पार्टी एकीकृत नेकपा (माओवादी)का नेता तथा कार्यकर्ता नै रहेका छन्। अहिले नागरिक समाज, अन्य राजनीतिक दलका कार्यकर्ता सो अभियानमा संलग्न भएका छैनन् ।
मुलुकको आन्तरिक समस्या आफैँले हल गर्नेतिर जानुको सट्टा समस्या अस्वाभाविकरुपमा अन्तर्राष्ट्रियकरण भएको र कूटनीतिक सन्तुलन बिग्रँदै गएको धारणा राख्दै पत्रकार सम्मेलनमा डा. भट्टराईले दुःख व्यक्त गरे । तराई मधेसको आन्दोलन र कूटनीतिक विषयलाई एउटै बनाएर देशभक्ति भावनालाई उत्ताउलो राष्ट्रवादमा परिणत नगर्न पनि उनले सबैलाई आग्रह गरे ।
प्रतिक्रिया