घुमिफिरी ‘एक देश एक प्रदेश’

घुमिफिरी ‘एक देश एक प्रदेश’


SN Karki
– स्वयम्भुनाथ कार्की

भनिन्छ, राणाकालमा कुनै एक प्रभावशाली राणाजी खेलकुदका सौखिन थिए । खेलकुदको प्रवद्र्धनमा राम्रो काम गरेका उनी आपैँm पनि फुटबलका राम्रा खेलाडी थिए । एक दिन रोमाञ्चक फुटबल प्रतिस्पर्धा हेर्दै रहेछन् । एक खेलाडीले बडो कुशलतापूर्वक गोलपोस्टमा प्रहार गरेछ । अत्यन्त आकर्षक त्यो कौशलले मन्त्रमुग्ध भएर राणाजी चिच्याएछन्– ‘गोल’ । तर, गोलकिपरले त्योभन्दा कुशलतापूर्वक उक्त गोल बचाएछ । त्यो कुरा उनलाई जाहेर गरियो, ‘सरकार, गोल भएन, किपरले रोक्यो ।’

आफ्नो कुरा अरूले काटेको उनलाई मन परेन, अनि हुकुम दिएछन्, ‘हाम्रा हजुरले भनेपछि गोलै सदर ।’ हुकुम त मान्नैपर्‍यो, वास्तविकतामा गोल नभए पनि, किपरले अद्वितीय कुशलता प्रदर्शन गरेको भए पनि त्यो गोल नै मानियो । खेलको ज्ञाता स्वयम् खेलाडी भएर पनि केवल आफूले बोलेको कुरा अकाट्य हो भनी साबित गर्न सदर गरेको उक्त ‘गोल’ उनलाई जिस्क्याउने आख्यान बन्यो ।

संविधान जसरी भए पनि जस्तो भए पनि जारी गरिछोड्ने जिद्धी यही राणाजीको ‘हाम्रा हजुरले भनेपछि गोलै सदर’ शैलीको थियो । नियम निलम्बन गरेर संसारमा कतै नभएको ‘फास्ट ट्रयाक’ भनेर महत्त्वपूर्ण निर्णय मतविभाजनले गर्नुपर्ने शाश्वत नियम मिचियो । जब संविधानको धारा पारित गर्न पनि ध्वनि मत लागू गरिन्छ भने अर्को योभन्दा गहकिलो र महत्त्वपूर्ण कुन प्रस्ताव हुन सक्छ, जसको निमित्त मत विभाजन गर्नु परोस् ? अबका दिनमा यो प्रश्न त्यसबेला ध्वनिमतले यसलाई पारित गर्ने अध्यक्षको नामसँगै चिरकालसम्म जिस्क्याउने आख्यान भएर रहनेछ ।

सङ्घीयताको प्रश्न जटिल छ, यो नेपालले धान्न सक्दैन भन्ने भनाइ धेरै नेपालीको हो । केही राजनीतिक दलले यो जनताको कुरा उठाएका मात्र हुन् । चित्रबहादुर केसी, कमल थापा, नारायणमान बिजुक्छे आदिको प्रतिलिपि अधिकार प्राप्त भनाइ होइन । कसैलाई उपप्रधानमन्त्री, कसैलाई अनुरोध गरेर मनाउँदैमा सङ्घीयताको जटिलता सकिने थिएन र सकिएन पनि । वर्तमानमा करिब चार महिनादेखि यो जटिलताले जनताको रगत बगाइरहेको छ । भोको पेट बस्न बाध्य बनाइरहेको छ, हुँदाहुँदा अब त देशै टुक्र्याउने धम्की हाक्काहाक्की आउन थालिसक्यो । यो शाश्वत सत्य विसर्जन गरेर उपप्रधानमन्त्रीको कुर्सीमा गजधम्म बसेकाले यो समस्या हल गर्न सक्छन् र ?

हल गर्ने वर्कत नेतृत्वमा छैन, यो कुरा प्रस्ट देखिइसकेको छ । यस्तो अवस्थामा सङ्घीयतालगायतका विवादास्पद प्रश्नहरू थाती राखेर त्यसलाई पुनर्विचार गर्नुको विकल्प छैन । अब कस्तो वा कसरी भन्नेभन्दा पनि यो विषय नै ठीक हो वा होइन भनेर विचार गर्नुपर्ने आवश्यकता समयले देखाइसक्यो । तर, जिद्दीवाल र घमण्डीहरूको थेगो हुन्छ, ‘बागमतीमा धेरै पानी बगिसक्यो ।’ आफ्ना जे–जस्ता काम भए पनि त्यो बज्रलेप नै गरेको हुनुपर्छ भन्ने आशयको निम्ति प्रयोग हुने यो थेगोले धेरै कम मात्र राम्रो काम गरेको हुन्छ ।

चित्रबहादुर, कमल थापा, बिजुक्छेहरूले आ–आफ्नै स्वार्थले गरे होलान्, तर जनताको मुटुको कुरा आफ्नो कार्यसूचीमा हालेका थिए । यो केवल भावना मात्र नभई परिस्थितिको सही मूल्याङ्कन पनि थियो । यिनै कुरा अपनाएर बुद्धिमत्ता देखाएको ठानी जनताले कुन स्थानबाट कुन स्थानमा पुर्‍याए त्यो अहिले प्रस्ट देखिएको छ । तर, यी कुरालाई आङ्खmूलाई महत्त्व दिन बाध्य पार्ने हतियारको रूपमा प्रयोग गर्नाले पद त प्राप्त भयो, तर जनताको माया भने गुमाउँदै छन् । विरोधी दलको दुलार त पाउन सफल भए, तर यो महत्त्व दिलाउने जनताको माया भने अब शायदै पाउलान् ।

खोलामा पानी बगेको उदाहरण दिनेहरूले आँखा खोलेर हेर्नुपर्छ, हिजो सङ्घीयतालाई ठूलो उपलब्धि मान्ने चिन्तकहरू धमाधम सङ्घीयतालाई थाती राखौँ भनेर वक्तव्य निकाल्दै छन् । यो कुनै आवेशमा या भावनामा आएर भनिएको कुरा होइन । यसको कार्यान्वयनको सुरुवातमा नै देखिएको ध्वंसात्मक परिणामले देश नै समाप्त हुनसक्छ कि भन्ने सोचले बोलेको देशप्रेम हो । अहिलेसम्मको अवस्थामा सङ्घीयता कार्यान्वयनको तरिकामा पुनर्विचारको आग्रह मात्र छ । तर, जति समय बित्तै जान्छ विवश भएर सबैले सङ्घीयताको औचित्यमा प्रश्न उठाउन थाल्नेछन् ।

बागमतीमा बगेको पानी देखाएर हाम्रा हजुरले भनेपछि गोलै सदर भन्ने हो भने त उल्टो पानी बग्दै गएर संविधान फास्टट्रयाकले बनाइनु हँुदैनथ्यो भनिन पनि बेर लाग्दैन । त्यहाँ पनि जिद्दी कायम रहने हो भने संविधानसभाको औचित्य पनि प्रश्नको घेरामा आउन सक्छ । काम गर्दा कुनै काम गलत भएमा कुन बिन्दुसम्म सही थियो त्यहाँसम्म भत्काएर पुन: सुरु गर्ने गरिन्छ । सुदूरपश्चिम टुक्र्याउन पाइन्न भन्नेहरूको खिल्ली उडाउने पूर्वका प्रखर सङ्घीयता समर्थकहरू भर्खर मोरङ, सुनसरीका केही भाग २ नं. प्रदेशमा गाभ्ने हल्लाको विरोधमा सडकमा उत्रिसकेका छन् । विस्तारै यो क्षेत्र टुक्र्याउन हुन्न भन्ने आवाजमा बदलिनेछ । त्यसपछि अरू धेरैको आवाज ‘एक देश एक प्रदेश’मा पुग्ने सम्भावना नकार्न सकिन्न ।

यतिखेर आन्दोलनमा सक्रिय रहेका कैयनले केही कुराहरूलाई ‘गलत गरिएछ’ भन्दै सार्वजनिक रूपमै पश्चात्ताप गर्न लागेको भेटिन थालेको छ । जुन कुरा प्राप्त होला भनेर गरिएको थियो त्यो प्राप्त हुनको साटो धेरै कुरा गुमाउन परेको अनुभूतिले ल्याएको पश्चात्ताप हो यो । हिजो भारतको खुलेर प्रशंसा गर्ने र उसले नेपालको मामलामा दिएको सल्लाहलाई सदाशयता ठान्नेहरू थिए । तिनीहरू बल्ल यस्ता कुरालाई आन्तरिक मामिलामा अनाधिकृत हस्तक्षेप ठान्न थालेका छन् । दिल्लीको रोहवरमा सम्पन्न १२बुँदे सम्झौतामा लागेको सदाशयता पनि धेरै दिन नटिक्न सक्छ । त्यसैले जतिसक्यो छिटो गलत कदममा पुनर्विचार गर्नु नै निकासको एक मात्र बाटो हो । हाम्रा हजुरले भनेपछि गोलै सदर भन्ने हो भने त्यसको परिणाम पनि भोग्नुपर्ने नै छ ।