फेरि जमे ‘लुटेरा’ निखिल

फेरि जमे ‘लुटेरा’ निखिल


lootera-in1
‘दुई जोइको पोइ कुना पसी रोई’ भन्ने नेपाली उखान छ । अभिनेता निखिल उप्रेतीको जीवनमा यो उखान दुरुस्त लागू भएको ठानिएको थियो । आफ्नो चढ्दो सिने करिअर भताभुङ्ग हुने गरी पत्नी कोपिलामाथि नायिका सञ्चिता लुइँटेललाई कान्छी बनाएर भित्र्याउँदा धेरैले निखिलको सिने–जीवन समाप्तै भएको ठाने । अनेक आलोचना र टीका–टिप्पणी हुन थालेपछि उनी काठमाडौं बस्न नसकी पुरानै कर्मथलो मुम्बई फर्किएका थिए । निखिल अब यता न उताका हुने भए भनी काखी बजाउनेहरूसमेत यहाँ देखिएका थिए भने उनको सुखद भविष्यको कामना गर्नेहरूको पनि कमी थिएन ।

तर, समयले जस्तोसुकै घाउमा पनि मल्हम लगाउँछ भन्ने भनाइलाई चरितार्थ तुल्याउँदै निखिलले आफूलाई पुन: दर्बिलो ढङ्गले उभ्याएका छन् । नेपाली चलचित्रमा निखिलको पुनर्वापसी सोचेभन्दा भव्य भयो । उनले पछिल्लो समयमा काम गरेका चलचित्रले रेकर्ड कायम गर्नेगरी हिट भएका छन् । यतिबेला करोडौँ रकम बटुलिरहेको ‘लुटेरा’ यसैको उदाहरण हो । निखिलअभिनीत ‘भैरव’ले पनि उस्तै सफलता हासिल गरेको थियो । खासगरी द्वन्द्वको भूमिकामा अत्यन्त प्रभावशाली देखिने निखिललाई लुटेराको द्वन्द्वप्रधान कथा उत्तिकै शुभ सावित भयो । दयाराम दाहाल निर्देशित ‘लुटेरा’मा नायिक निशा अधिकारी, हर्षिका श्रेष्ठ, सविन श्रेष्ठलगायतले अभिनय गरेका छन् ।