‘भारतविरोधी राष्ट्रवाद’ले बर्बाद गर्‍यो

‘भारतविरोधी राष्ट्रवाद’ले बर्बाद गर्‍यो


rameshor-raya
:: रामेश्वर राय यादव (वरिष्ठ उपाध्यक्ष, मजफो लोकतान्त्रिक)

० तपाईंको पार्टी त सरकारमा छ, मधेस–आन्दोलनबारे तपाईंहरूको दृष्टिकोण के हो ?
– मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) वर्तमान गठबन्धन सरकारमा सामेल देखिए पनि पूर्वघोषित नीतिअनुसार हाम्रो पार्टी आन्दोलनमै छ । अध्यक्ष गच्छदारजी सरकारमा जाँदा सत्ताको नेतृत्व गर्नेसँग आठबुँदे सम्झौता गर्नुभएको थियो । तर, पार्टी आन्दोलनरत अवस्थामै गरिएको त्यो सम्झौता पूरा गराउन सक्नुभएको छैन उहाँले । आठबुँदे सम्झौतामा जे लेखिएको छ, त्यो गच्छदारजीले पूरा गराउन या कार्यान्वयन गराउन नसक्नुभएको मात्र होइन कि सक्ने छाँटकाँट पनि देखिँदैन । यसर्थ पनि हाम्रो पार्टी आन्दोलनमै छ ।

० त्यसो भए के सरकारबाट फिर्ता हुनुपर्छ भन्ने धारणा हो तपाईंको ?
– हाम्रो केन्द्रदेखि गाउँ तहसम्मका कार्यकर्ताको धारणा नै पार्टी आन्दोलनमा रहनुपर्छ भन्ने छ । मधेस आन्दोलनका क्रममा फोरम लोकतान्त्रिकका कार्यकर्ताले जति कष्ट अरू पार्टीका सदस्यले व्यहोर्नुपरेको छैन । मर्ने, घाइते हुने धेरैजसो हाम्रै पार्टीका सदस्यहरू हुन् । त्यसैले हाम्रो पार्टी पूर्णरूपले आन्दोलनमा होमिँदा मधेस आन्दोलनको लक्ष्य हासिल गर्न व्यापक सहयोग पुग्छ । आन्दोलनको रौनक नै बेग्लै हुन्छ । सरकारमा गएर कि त विगतमा मधेस प्रदेशसम्बन्धी भएको सहमति–सम्झौता क्रियान्वयन गराउन सक्नुपर्छ, होइन भने सरकार छोडेर आन्दोलनमा उत्रिनुको अब विकल्प छैन । आन्दोलनमा वीरगति प्राप्त गरेकालाई सहिद घोषणा गराउन सक्नुपर्‍यो, घाइतेलाई राम्रो उपचार दिलाउन सक्नुपर्‍यो, पीडितलाई क्षतिपूर्ति भराउन सक्नुपर्‍यो, झुटा मुद्दा लगाइएर जेल परेकालाई छुटकारा दिलाउन सक्नुपर्‍यो । यीलगायत मधेस आन्दोलनले जुन माग उठाइरहेको छ, सरकार वा राज्यबाट सम्पूर्ण माग पूरा गराउन सक्नुपर्‍यो । राज्यले माग सम्बोधन नगरिरहेको अवस्थामा सरकारमा बसिरहनु प्रत्युत्पादक हुने मेरो ठहर छ ।

० तपाईंको यो ठहरलाई पार्टीको आधिकारिक धारणाको रूपमा निर्णय गराउन सक्नुहुन्छ त तपाईं ?
– निश्चय पनि हाम्रो पार्टीभित्र वैचारिक द्वन्द्व बढेको अवस्था छ । यसर्थ यो छलफलको विषय बनेको छ । यसका लागि यथाशीघ्र पार्टी केन्द्रीय समितिको बैठक बोलाउन अध्यक्षलाई हामीले आग्रह गरेका छौँ । पार्टीको केन्द्रीय समिति बैठकबाट हामी यो सबै विषयको छिनोफानो लगाउँछौँ । नि:सन्देह मधेस आन्दोलनको पक्षमा हामी दर्बिलो ढङ्गले मैदानमा जानेछौँ ।

० तपाईं यसो भन्दै हुनुहुन्छ, तर अध्यक्ष गच्छदारको पूरै पकड छ तपाईंको पार्टीमा, उहाँले नचाहेसम्म तपाईंले भनेको कुरा कसरी लागू हुन्छ र ?

– पार्टी व्यक्तिको प्रभावले भन्दा पनि विचारले पकडमा रहन्छ, रहनुपर्छ । पार्टी आन्दोलनमै रहने भन्ने निर्णय यथावत् रहेको र यतिबेलाको परिस्थितिले पनि आन्दोलन नै अपरिहार्य तुल्याएकोले अध्यक्षले यसविपरीत जान सक्ने म देख्दिनँ । वास्तवमा पार्टीका समस्त अगुवा कार्यकर्ता आन्दोलनमै होमिएको परिवेशमा पार्टी सरकारमा जाने निर्णय गर्नु नै अनुचित थियो भन्ने परिस्थितिले सिद्ध गरेको छ । मेरो विचारमा त्यो आठबुँदे मात्र कार्यान्वयन गराउन सक्नुभएको भए आन्दोलनकारीलाई केही राहत हुन्थ्यो । त्यो गर्न नसक्दाको अवस्थामा अध्यक्ष स्वयम्ले आफ्नो निर्णय पुनर्विचार गर्नैपर्छ ।

० तपाईं आन्दोलित अवस्थामै पार्टी सरकारमा गएको बेठिक भयो भन्दै हुनुहुन्छ, तर गच्छदारजी त पार्टीको संसदीय दलको निर्णयको आधारमा सरकारमा गएको भन्नुहुन्छ नि ?
– यस्तो तर्कमा दम छैन । संसदीय दलको निर्णयभन्दा पार्टी निर्णय ठूलो र सर्वोपरी हुन्छ भन्ने उहाँले नबुझेको होला भन्ने मलाई लाग्दैन । वैधानिक रूपले पनि पार्टीले आन्दोलनमा जाने भनी निर्णय गरी आन्दोलनमै रहेको बेला उक्त निर्णयमा कुनै फेरबदल नगरी आठबुँदे सम्झौता गरी सरकारमा जानु ठीक थिएन नि ! यो त सत्तालोलुपताको उदाहरण मात्रै हो । संसदीय दलले निर्णय गरेकै भए पनि त्यसलाई पार्टी केन्द्रीय समितिबाट पास गराउनुपर्दैन ? खै त्यो गर्न सकेको ? अध्यक्षलगायत केही नेतामा वैचारिक विचलनको लक्षण देखिएकोप्रति हामी चिन्तित छौँ । हाम्रो अध्यक्ष र महासचिवजीले लिएको निर्णय राजनीतिक रूपले विब्ल्याँटो र अनुचित छ भन्ने हाम्रो ठहर छ । उहाँहरूको हितका लागि पनि हामीले पार्टी सक्रियताका साथ आन्दोलनमा होमिनुपर्ने कुरालाई जोडदार ढङ्गमा बारम्बार घच्घच्याइरहेका छौँ ।

० तपाईंले अघिसारेको धारणाको पक्षमा कति प्रतिशत नेता–कार्यकर्ता छन्, भन्न सक्नुहुन्छ ?
– नब्बे प्रतिशत पार्टी सदस्यको यही धारणा छ । आन्दोलन अपरिहार्य रहेको अधिकांशको ठहर छ र त हामी आन्दोलनमै छौँ ।

० तपाईंहरू पार्टी नै फुटाउँदै हुनुहुन्छ कि कसो ?
– यस्तो सोच हामीले राखेका छैनौँ । जुट्नुपर्ने बेला कहाँ फुट्ने कुरा गर्ने ? पार्टीभित्रै वैचारिक बहस हुनुपर्छ भन्ने हाम्रो सोच हो, भइरहेको पनि त्यही हो । यसले पार्टीलाई अहित होइन फाइदा नै गर्छ ।

० गच्छदारजीले सरकारबाट फर्कन मान्नुभएन भने के हुन्छ नि ?
– पार्टीको बहुमत र पार्टी–कार्यकर्ताको भावनाको उहाँले कदर गर्नैपर्छ र गर्नुहुन्छ भन्ने मलाई लाग्छ । झापादेखि कन्चनपुरसम्मका साथीहरू कैयन घाइते भएका छन्, कतिले मुद्दा खेपिरहेका छन् । कतिले देशै छोडेर भाग्नुपरेको अवस्था छ । के यी सब यथार्थले अध्यक्षलाई पोल्दैन र ? व्यक्तिको भन्दा पार्टीको दृष्टिकोण ठूलो हुने भएकाले हाम्रो पार्टीको दृष्टिकोण अब आममानिसबीच प्रस्ट हुनैपर्छ ।

० सीमाङ्कनको विषयमा तपाईंहरूको धारणा के हो नि ?
– पहिले नै हामीले दिइसकेका हौँ कि झापादेखि कन्चनपुरसम्म गरी मधेसमा दुई प्रदेश हुनुपर्छ । तिनको नाम मधेस प्रदेश र थरुहट प्रदेश गर्दा राम्रो हुन्छ । तथापि, नाम जे राखे पनि हुन्छ भन्ने पनि छ हाम्रो धारणा । हाम्रो बटमलाइन मधेसमा दुई प्रदेश हुनुपर्छ भन्ने हो ।

० तर, यो सम्भव छैन भनिरहेका छन् नि कांग्रेस र एमालेहरू ?
– उहाँहरूले यो सम्भव छ, हुनुपर्छ भनी मानिदिएको भए त यत्रो आन्दोलन नै गर्नुपर्ने थिएन नि । देशमा हालीमुहाली गरिरहेका यी दलहरूको यस्तै सोचले गर्दा त हो मधेस आन्दोलनमा उत्रिनुपरेको, कुनै रहरले त होइन नि ।

० यो आन्दोलनमा जनताको साथ छैन, जबर्जस्ती गरिएको भनिन्छ नि ?
– यस्तो भ्रम नपाल्न म प्रधानमन्त्री तथा सरकारलगायत सबैलाई आग्रह गर्न चाहन्छु । यस्तो भ्रमको खेती गरेर देश र जनतालाई दु:ख दिनुहुँदैन । यथासक्य चाँडो आन्दोलनकारी पक्षको माग सम्बोधन गरी देशलाई पीडाबाट मुक्त गर्नुपर्‍यो ।

० जनताले त नाकाबन्दी ज्यादती भयो, फिर्ता गर्नुपर्‍यो भनिरहेका छन्, सुन्नुहुन्न तपाईंहरू ?
– जनताले नै नाकाबन्दी गरेका हुन्, माग सम्बोधन नभएसम्म आन्दोलनबाट पछि नहट्न नेताहरूलाई चेतावनी दिइरहेका छन् ।

० नाकाबन्दी जनताले नभई भारतले लगाएको भनेका छन् त सबैले ?
– सत्य छोपेर जबर्जस्ती कसैले काल्पनिक कुरा गर्छ भने गरिरहुन् । हाम्रो नाका बन्द गरेर हामी बसिरहेका छौँ । माग सुनुवाइ नगरे नाकाबन्दी गर्छौं भनेर पहिले नै हामीले घोषणा गरेका हौँ । यो बुझ्दाबुझ्दै कसैले भारत या अर्को कोहीमाथि आरोप थोपर्छ भने उतैबाट समस्या समाधान गरे भइहाल्यो नि त । वास्तवमा ‘भारतविरोधी राष्ट्रवाद’ले यो मुलुकमा राम्रो गरिरहेको छैन । भारतको नाम लिँदै मधेसविरोधीहरूले यस्तै रवैया गरिरहे दु:ख झन् बढ्छ । हरेक मधेसी अनुहारलाई ‘भारतीय चेहरा’ देख्ने मनोवृत्तिकै कारण आज देश यस्तो समस्यामा फसेको हो । देशको आर्थिक, राजनीतिक र सामाजिक अवस्था धराशायी हुन लाग्दा पनि नेपालका ठूला भनाउँदा दल र नेताहरूको चेत नफिर्नु कस्तो विडम्बना † परिस्थिति यस्तरी बिग्रिसक्दा पनि देश र जनताप्रति अलिकति पनि चिन्तित नहुँदा हामीलाई असाध्यै दु:ख लागेको छ । म समस्त आन्दोलकारीका तर्फबाट यो भन्न चाहन्छु कि तपाईंहरू देश र जनताप्रति उत्तरदायी हुनुहुन्छ भने इमानदारी साथ आन्दोलनकारी पक्षसँग वार्ता गर्नुहोस्, सहमतिको वातावरण बनाउनुहोस् र सीमाङ्कनसहितका मुद्दामा विगतमा भएको सम्झौता–सहमतिअनुसार कार्यान्वयनमा अग्रसरता देखाउनुहोस् ।

० तपाईंको पार्टी अध्यक्ष देशकै उपप्रधानमन्त्री हुनुहुन्छ अनि तपाईं नै यस्तो माग गरिरहनुभएको छ, यस्तो डबल स्ट्यान्डर कुरा गर्न कत्ति अप्ठ्यारो लाग्दैन हो कि तपाईंहरूलाई ?
– मधेसको मुद्दाले यस्तो जरो हालिसकेको छ कि हाम्रो लडाइँ सडक, सदन र सरकारसम्मै पुगेर लड्दा पनि समाधान हुन कठिन परिरहेछ । मैले भनिहालेँ, आठबुँदे सम्झौता गरेर हाम्रो अध्यक्षले सरकारमै बसेर पनि हकहितका लागि लडौँला भन्ने ठान्नुभएको थियो होला, तर उहाँको यो लडाइँ बेकार हुने अवस्था देखिसकियो । उहाँ एक्लै पर्दै हुनुहुन्छ । त्यसैले बेलैमा यो सरकार छोडेर आन्दोलनको मैदानमा उत्रन आमकार्यकर्ता भनिरहेछन् । सम्भवत: पार्टी एवम् पार्टी–कार्यकर्ताको भावना बुझेर उहाँ छिट्टै सरकारबाट फिर्ता हुनुहोला ।