अप्रिलमा बुर्का लगाउने महिलालाई जेल

अप्रिलमा बुर्का लगाउने महिलालाई जेल


लण्डन । फ्रान्सेली सरकारले हिजो अब आउने अप्रिल महिनादेखि पूर्णरुपमा बुर्का लगाउन प्रतिबन्धित गर्ने घोषणा गरेको छ । महिलाहरुलाई मुख छोपेर काँधभन्दा मुनि अथवा घाँटी तलतिर लत्रिने गरी केही लुकाइएको जस्तो देखिने वस्त्र धारणा गरेमा जेल सजाय दिइने छ, त्यस्तै पुरुषहरुले करकाप गरेर महिलाहरुलाई बुर्का लगाउन बाध्य गरेमा पनि यस कानूनअन्तर्गत जेल सजाय हुनेछ । बुर्का लगाउँदा देशको मूल्य-मान्यताको अपमान ठहर गरेकाले अब आउने अप्रिल महिनाको ११ तारिखको दिनदेखि फ्रान्समा यो कानून लागू हुनेछ । यस्तो कानून लागू गर्ने देशहरुमा बेल्जियमपछि फ्रान्स दोस्रो राष्ट्र हुन आएको छ । फ्रान्सेली राष्ट्रपति निकोलास सार्कोजीले बुर्का प्रयोग गर्नु भनेको तल्लो स्तरको द्योतक हो भनेका छन् ।
गत साल अक्टोबर महिनामा सालभरिको संसदहरुका बहसपछि कानून पारित गर्ने क्रममा अलकायदाबाट फ्रान्सेली नेताहरुलाई कडा प्रतिशोध लिने धम्किको बावजुद यो कानून पारित गरिएको थियो । यस कानूनअन्तर्गत कसैले पनि सार्वजनिक क्षेत्रहरुमा मुख लुकाउने ध्येयले बुर्का लगाउन पाउँदैनन् । बुर्का प्रतिबन्धित क्षेत्रहरुमा सडकहरु, दुकानहरु, रेस्टुरेन्टहरु, सिनेमाहलहरु, थिएटरहरु, खेलकुद स्टेडियमहरु र बाटोमा कारको व्हिलपछाडि जस्ता ठाउँहरु तोकिएको छ । यस कानूनलाई उलंघन गरेर पुरुषहरुले महिलाहरुलाई बुर्का लगाउन बाध्य गरेको अभियोग प्रमाणित भएमा २५००० पाउण्ड बराबरको रकम जरिमाना तथा एक वर्षको जेल सजाय तोकिएको छ र महिलाहरुले कानून उलंघन गरेर बुर्का धारण गरे १३० पाउण्ड रकम जरिमाना तोकिएको छ । यदि कुनै महिलाले दोस्रोपल्ट कानून उलंघन गर्छिन् भने जेल सजाय दिइनेछ भनेर कानूनमा उल्लेख गरेको छ । फ्रान्स सरकारले बुर्का मात्र नभई पहिले नै धार्मिक लक्षण झल्कने कपडाहरु, यहुदीहरुले टुप्पीको भाग छोपेर लगाउने टोपी र क्रस चिन्हहरु स्कुलहरुमा लगाउन प्रतिबन्धित गरेको छ । श्रोत – मेट्रो, सुमल, मेस ।