:: स्वयम्भुनाथ कार्की ::
नेपालको समस्यामा छिमेकी भारतले देखाएको व्यवहार के एक असल छिमेकीको हो भन्ने प्रश्न जति ज्वलन्त छ त्यति नै ज्वलन्त छ नेपालीले आक्रोशको पराकाष्टा प्रदर्शन गर्नु उपयुक्त हो त भन्ने सवाल पनि । यस्तो अपरिपक्व व्यवहार देखाउने होड नै चलेको छ यतिबेला । यो अपरिक्व व्यवहार कालान्तरमा सबैका निमित्त प्रत्युत्पादक हुन सक्छ भन्ने सोच भने खासै राखेको पाइँदैन । सानो होस् वा ठूलो हरेक मुलुकभित्र आन्तरिक विवाद हुन्छ, असन्तोष हुन्छ । यस्ता असन्तोषको फाइदा उठाएर कसैले पनि एक–अर्कालाई दबाब दिने कुरा सम्भव हुनै सक्दैन । किनकि, यो मध्ययुग होइन, निमेषभरमा संसारभर हल्ला मच्चाउन सकिने ‘साइबर युग’ हो ।
ठूलाले मनपरी गर्न सक्ने वा सानाले ठूलालाई फत्तुर लगाएर जनमत मोड्न सकिने सम्भावना साइबर युगमा हुँदैन । साइबर संसारको हरेक साधन–स्रोतमा बिना कुनै भेदभाव सबैको समान पहुँच छ । सामाजिक सञ्जालमा आफ्ना परिधिबाहिरकाहरूसँग सम्पर्क हुँदैन । एकै किसिमका परिधिमा रहेकाहरू एकले अर्काका कुरा मन पराउने र फैलाउने हुन्छन् । प्रयोगकर्ताहरूले ध्यान नदिएको कुरा के हो भने आफूले उठाएको कुराजस्तै कसैले त्यसको विरुद्ध पनि कुरा उठाएको हुन सक्छ । तर, आफ्नो कुरा विरोधी समूहमा जाँदैन र विरोधी समूहको कुरा आफ्नोमा पनि आउँदैन ।
अघोषित रूपमा नाकाबन्दीजस्तै अवस्था छ, यो सही हो । तर, के सबै नेपालीले अन्य काम छोडेर ‘भारतले नाकाबन्दी गर्यो’ भनेर समस्या समाधान हुन्छ त ? नेपालसँग घोषित रूपमा अमैत्री नै प्रकट गरेर भारतले लगाएको नाकाबन्दीको सामना दुईपटक गरिसकेको अनुभव छ । त्यो बेलामा सञ्चारको यत्रो विकास भएको पनि थिएन । सत्र महिनाको नाकाबन्दीको बेलामा पनि भोग्न त के कुरा कल्पना पनि नगरेको खराब अवस्थामा नेपाल यति छिट्टै कसरी पुग्यो, त्यो पनि विचार गरिनुपर्दछ । सबै नेपालीले ‘नाकाबन्दी छ’ भन्दैमा समस्या कसरी हल हुन्छ, त्यो बुझाउन सकेको खण्डमा केही राजनीतिकर्मी, केही यो अवस्थामा कमाइ भएकाहरूबाहेक सबैले एकमुख भएर नाकाबन्दीको सुर अलाप्नेछन् ।
कुरो नेपालीको मात्र होइन, गैरजिम्मेवार वक्तव्य दिनमा केही भारतीय नेता पनि झन् बढी उग्र देखिएका छन् । हालै क्रिकेट खेलाडीबाट भारतीय सांसद भएका कीर्ति आजादले सार्वजनिक रूपमा नेपालबाट १५ जिल्ला फिर्ता मागेको खबर सञ्चारमाध्यममा आएका छन् । यस्तो कुरा गर्नुभन्दा पहिला आजको भारत देश कसरी बन्यो र सरदार वल्लभभाई पटेललाई किन राष्ट्रनिर्माता मानिन्छ र उनकै दलले किन सरदार पटेलको विशाल सालिक बनाउने निर्णय गर्यो आदि कुराको अध्ययन गरेका भए शायद यस्तो कुरा गर्ने थिएनन् होला । यस्ता कुराले आधुनिक भारतमा सुषुप्त भएका अनेकौँ असन्तुष्टिलाई मलजल गर्न पनि सक्छ ।
मोदीको फार्बिसगञ्ज कार्यक्रमको बेला बृहत् मधेसी नागरिक समाज विराटनगरले एक अनुरोधपत्र दिएको थियो । हिन्दीमा भएको सो पत्रको केही हिस्साको अनुवाद यहाँ प्रासङ्गिक नै होला । ‘मधेसीलाई दबाउन–भगाउन गैरमधेसीलाई यस भागमा पहाडबाट पहाडीलाई षड्यन्त्रको रूपमा बसाइएको छ ।’ यो कुनै राष्ट्रको त्यसका नागरिकको मुलुकभर आवतजावत गर्न पाउने प्राकृतिक अधिकारमाथिको प्रहार हो । यदि यो कुरालाई आधार बनाएर वक्तव्य दिने हो भने मोदीले अहिले किन निम्नस्तरको गाली सर्वसाधारण नेपालीबाट पाउँदै छन् भन्ने बुझ्न कठिन हुँदैन । जुन मोदीले नेपालमा अरू कुनै विदेशीले नपाएको सम्मान पाएका थिए उनलाई अप्रिय बनाउन उनकै दलका यस्तै नेताहरूको पनि योगदान छ भन्नैपर्छ ।
आधुनिक नेपाल बनेको तीन शताब्दी पुग्न लागेको छ, तर आधुनिक भारत बनेको पौने शताब्दी मात्र । केही वर्ष पहिलेसम्म सबै नेपाली एक–अर्काको सुखदु:खको साथी भएर दु:ख, गरिबी, अभाव आदिसँग पौँठेजोरी खेल्दै आएका हुन् । सबैको आत्मामा आज पनि नेपालीपन ज्युँदो नै छ । हो, भारतसँग त रोटीबेटीको साइनो होला, तर सबैखाले नेपालीको मुटुको एउटै ढुकढुकी छ । यसलाई छुट्याउने हरेक प्रयत्न लाठोले पानी छुट्याएसरह हो । लाठीको मार रहुन्जेल छुट्टिएभैँm देखिन्छ, त्यसपछि फेरि एकै हुन्छ ।
नेपाल–भारत दुवैका सचेत वर्गले बुझ्नुपर्ने कुरा के हो भने हाल भारतमा एक युगान्तकारी परिवर्तन भएको छ । समाजवाद आधारित र वामझुकाव भएका दलहरूको गठबन्धन यूपीएको वर्चश्व भारतीय संसद्मा समाप्तप्राय: भएको छ । त्यसको स्थानमा आएको एनडीए गठबन्धन पुँजीवादआधारित र दक्षिण झुकाव भएको छ । तर, यो परिवर्तनले पूर्णता पाइसकेको छैन । जुनस्तरको हार यूपीएको भएको छ त्यसको परिपूर्तिको निमित्त उसले कुनै पनि कसर बाँकी छोडेको छैन ।
नेपालमा भएको अघोषित नाकाबन्दीको सीधा फाइदा बिहार विधानसभामा उसले पाइसकेको छ । कतै नेपाली बुद्धिजीवीहरू उनीहरूको आन्तरिक द्वन्द्वको यज्ञमा समिधा त हुँदै छैनन् ? भारतमा नाकाबन्दीको विरोधमा आवाज उठाउनेहरू यही गठबन्धनका छन् । विगतमा नेपालका मूलधारका भनिएका दलहरूका नेताहरूको घनिष्ट व्यक्तिगत सम्बन्ध पनि यिनै नेताहरूसँग देखिएको थियो । यो मिलेमतो होइन भन्न सकिन्छ । तर, यो रोचक संयोग भने हो । जहाँसम्म नेपाल र नेपालीको कुरा छ सबै पक्षसँग सशङ्कित हुनैपर्दछ ।
मुलुकको भलो हेरेर मित्रवत् पनि हुनु नै पर्दछ । मोटो र सानो दुई मान्छे सँगै हुँदा अन्जानमै धक्का लाग्यो भने पनि हानि त सानोलाई नै पुग्छ । त्यसैले सानो हमेसा चनाखो हुनैपर्छ । आकार–प्रकार र तीनतिरको सँधियार भएको नाताले पनि नेपाल चनाखो रहनु नै पर्दछ । राष्ट्रनिर्माताको दिव्योपदेशमा दर्शाइएको ‘नेपाल दुई ढुङ्गाबीचको तरुल हो’ भन्ने भुल्नुहुँदैन । त्यहीअनुसार आवेश वा आक्रोशले भन्दा बुद्धिमत्तापूर्ण तरिकाले आफ्नो स्वतन्त्रता र स्वाभिमानको रक्षा गर्नु नै उपयुक्त हुन्छ ।
प्रतिक्रिया