महिला हिंसाविरुद्ध अर्घाखाँचीमा बेग्लै अठोट

महिला हिंसाविरुद्ध अर्घाखाँचीमा बेग्लै अठोट


Deepa jee
अन्तर्राष्ट्रिय लैङ्गिक हिंसाविरुद्धको १६ दिने सचेतना अभियान यतिबेला जारी छ । अभियान आरम्भको दिन अर्घाखाँचीमा विगतका वर्षभन्दा फरक ढङ्गले कार्यक्रम आयोजना गरियो । यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘घर शान्ति नै विश्व शान्तिको आधार’ र राष्ट्रिय नारा ‘पुनर्निर्माण, शिक्षा र समान व्यवहार’ लेखिएका ब्यानरहरूले सन्धिखर्क सदरमुकाम केही समय रमणीय देखियो ।

महिला हिंसाविरुद्धको १६ दिने सचेतना अभियान नेपालमा सन् १९९७ देखि मनाउन सुरु गरिएको हो । लैङ्गिक हिंसा भनिए पनि समाजमा महिला हिंसा ज्यादा देखिएकोले महिलाकेन्द्रित भएर कार्यक्रम सञ्चालन गरिएको सरोकारवालाहरूको कथन छ । महिला तथा बालबालिका कार्यालय अर्घाखाँचीमा महिला विकास अधिकृतको हैसियतमा हालै मात्र जिल्ला आउनुभएकी दीपा घिमिरेले नेपाली समाजमा पुरुषहरू पनि महिलाद्वारा अन्यायमा परेकाले समस्या कसरी समधान गर्ने भन्ने विषयमा सचेत महिलाले समेत चिन्तन गर्नुपर्ने बताउँदै गर्दा महिलापीडित पुरुषहरू फुरुङ्ग परेका थिए । सचेतना अभियानको १६ दिने अवधिभर सासू–बुहारी अन्तरक्रिया, दम्पतीहरूबीच हाजिरीजवाफ प्रतियोगिताजस्ता कार्यक्रम सबै तह र तप्काबाट आयोजना गरिए यससम्बन्धी समस्या स्वत: कमी भएर जाने उहाँको तर्क थियो । सोही कार्यक्रमका सहभागी स्थानीय विकास अधिकारी लक्ष्मी पाण्डेले पनि लैङ्गिक हिंसा समाजका लागि ठूलो पीडादायी समस्या भएको कारण यसको न्यूनीकरणका लागि जिल्ला विकास सदैव साथ रहने प्रतिबद्धता जनाउनुभयो ।

विभिन्न नाराअङ्कित ब्यानर बोकेर बजार परिक्रमापश्चात् कोणसभाबीच राखिएको ‘म महिला हिंसा गर्दिनँ र गरेको पनि सहन्न’ लेखिएको ब्यानरमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले हस्ताक्षर गर्नुभएको थियो । प्रजिअ पौडेलले कुनै पनि समस्याको समधानका लागि पहिला आफ्नो आचरणमा सुधार ल्याउनुपर्ने र लैङ्गिक हिंसाविरुद्धको अभियानलाई सफल बनाउन सम्पूर्ण नागरिक समाज, राष्ट्रसेवक तथा राजनीतिक दलहरू एक भएर लाग्नुपर्ने धारणा राख्नुभयो । बेलकुमारी परियारले सञ्चालन गर्नुभएको सो कार्यक्रममा महिला नेतृ छमकुमारी खनालले शिक्षाको कमीका कारण महिला हिंसा बढेको बताउनुभयो ।

– मुक्तिनाथ भुसाल