सुबिसुधाको रहस्यमय भोगाइका सम्बन्धमा

सुबिसुधाको रहस्यमय भोगाइका सम्बन्धमा


– प्रा.गोपीकृष्ण शर्मा,
‘अग्नियुद्ध’ कथासङ्ग्रहको अन्तरक्रिया हुँदै थियो । मेरा स्नेही बन्धु केशव आचार्यले घरमा आएर उक्त कार्यक्रममा सामेल हुन आग्रह गरे । वि.सं. २०६३ साल फाल्गुन १८ गते शुक्रवारका दिन उक्त कृतिको अन्तरक्रियाको कार्यक्रम पुल्चोक, स्थानीय विकास मन्त्रालयको सभाकक्षमा रहेछ । सुबिसुधा आचार्यले लेखेकी ‘अग्नियुद्ध’ कथासङ्ग्रहबारे मैले पनि बोल्नुपर्ने भयो । हामी कार्यक्रममा भेला भयौं । उक्त कथासङ्ग्रहबारे कथाकार माया ठकुरीबाट समीक्षात्मक टिप्पणी भएको थियो । मैले पनि उक्त कृतिका सकारात्मक पक्षहरूको चर्चा गरेँ र प्रस्तुतिमा थप सुधारका लागि सल्लाह दिएँ । यसरी सुबिसुधा आचार्य र उनका रचनासँग प्रथम परिचित हुने मौका पाएको हुँ ।

सुबिसुधाको जन्म केवलपुर-५, धादिङमा भएको हो । पाल्पा, पिपलडाँडा गाविसका समाजसेवी तथा लेखक केशव आचार्यसँग विवाहित भएपछि उनी सुबिसुधा आचार्य भएकी हुन् र यही नामबाट उनका कृतिहरू प्रकाशित हुँदै गरेका छन् । सुबिसुधा आचार्य साहित्यका विविध विधामा कलम चलाउने साहित्यिक प्रतिभा हुन् । कवि, गीतकार, गजलकार र कथाकारका रूपमा उनी देखा परेकी छन् । सुबिसुधा आचार्यका अहिलेसम्म प्रकाशित कृतिहरू हुन्- सुधाका सिर्जनाहरू भाग-१ (गीत, गजल र कविताको सङ्गालो), तारा झरेका रातहरू (मुक्तकसङ्ग्रह), भावनाका छालहरूमा (आधुनिक गीतसङ्ग्रह), सुतीक्ष्णा (ताङ्कासङ्ग्रह), सुरम्य-सुधा (मुक्तकसङ्ग्रह), अब शहीद बोल्छ (गजलसङ्ग्रह), सुर-तरङ्गिणी (गजलसङ्ग्रह), अग्नियुद्ध (कथासङ्ग्रह) यिनका अहिलेसम्म विभिन्न विधाका पुस्तकहरू प्रकाशित भैसकेका छन् भने दर्जनौ आधुनिक गीतहरू रेकर्ड पनि भएका छन् । यिनले रत्नराधिका, अन्तरिक्ष, सुधासागर, मेट्रो अनलाइन दैनिक आदि पत्रपत्रिकाको सम्पादन पनि गरेकी छन् साथै धरहरा टाइम्स्, नेपाल न्यूज, मेट्रो टुडे, फेमस आदि साप्ताहिक पत्रपत्रिकाहरूमा विभिन्न साहित्यिक स्तम्भ पनि लेख्दै आएकी छन् ।

सुबिसुधाले १०।११ वर्षको विद्यार्थी अवस्थादेखि नै नेपाली साहित्यमा कलम चलाउन थालेकी हुन् । उनले पत्रपत्रिकाहरूलाई दिएको अन्तर्वार्तामा भने अनुसार उनको पहिलो प्रथम प्रकाशित रचना ‘आमाको सम्झना’ हो जुन वि.सं. २०४९ सालमा प्रकाशित भएको थियो । यसपछि उनका गीत, गजल र कविताहरू विभिन्न पत्रिकाहरूमा प्रकाशित हुँदै रहेका छन् । उनले पछिल्ला दिनहरूमा पनि आफ्नो सिर्जनात्मक लेखनलाई निरन्तरता दिँदै रहिन् । साहित्य-साधनामा दुई दशक पुग्दा नपुग्दै यति धेरै पुस्तकाकार कृतिहरू देखा पर्नु भनेको सुबिसुधाको लेखन-निरन्तरताको प्रमाण हो । दिव्यदर्शन साप्ताहिक, काठमाडौंमा २०६३ साल जेठ १३ गते शनिवारको दिन प्रकाशित अन्तर्वार्ताका क्रममा युवा साहित्यकार सुबिसुधा आचार्यले भनेकी छन् -“मेरो सानैदेखि साहित्य सिर्जना गर्ने एउटा नशा थियो, जुन कापीका पानाभित्र कैदी बन्थे । जब मनमा एक किसिमको अदृश्य घाउ दुख्न थाल्यो, तब कापीमा नउतारेसम्म घाउ दुखिरहन्थ्यो । तर कापीमा उतारेपछि पाकेको पिलोको घाउ निचोरेपछिको जस्तो मनमा शान्ति हुन्थ्यो । विवाह भएपछि सधैँ लेख्नुपर्छ र लेखेका रचनालाई संरक्षण गर्नुपर्छ भन्ने प्रेरणा जीवनसाथीबाट नै पाएकी हुँ ।” यतिखेर जीवनसाथी केशव आचार्यलाई पनि धन्यवाद दिन मन लाग्छ, जसले आफ्नी जीवन सँगिनीलाई साहित्य सिर्जनामा अरू बढी संलग्न हुन निरन्तर प्रेरणा प्रदान गर्दै रहेका छन् । लेखनमा मात्र होइन प्रकाशनद्वारा सार्वजनिक बनाउन पनि साहित्यानुरागी श्रीमान् केशव आचार्यको निकै ठूलो योगदान रहेको चाल पाएको छु । उनको साहित्यप्रेमको हृदयतः प्रशंसा पनि गर्दछु ।

सुबिसुधा आचार्य साहित्य-सिर्जनामा हरहमेसा खट्ने ऊर्जा भएकी नारी हस्ताक्षर हुन् । साहित्यिक लेखनमा डुव्ने लेखकहरू खाली बस्न सक्दैनन्, केही न केही लेखिरहेका हुन्छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाले दश दिनमा ‘सुलोचना’ महाकाव्य र एक रातमा ‘कुञ्जिनी’ खण्डकाव्यको रचना गर्नु यस्तै लेखन-निरन्तरताको उदाहरण हो । अन्तर्मुखी साहित्यकारमा यो प्रवृत्ति बढी पाइन्छ । यस क्रममा साहित्यकार विजय मल्लको लेखनधर्मिताबारे स्वयंले व्यक्त गरेको अभिव्यक्ति यहाँ उल्लेख गर्नु प्रासङ्गिक देखिन्छ । विजय मल्लले ‘परिषद पत्र’ (वर्ष २,अङ्क २ जुलाई ई. १९८६, असम) सँगको साक्षात्कार-स्तम्भमा भनेका थिए- “म अन्तर्मुखी पनि छु । आफूभित्रका कल्पित पात्रहरूसित वार्तालाप गर्ने धुनमा म धेरैजसो बाहिरका सजीव पात्रहरूलाई बिर्सन्छु । मभित्र गुम्सिएका पात्रहरू मसित खेल्छन्, बोल्छन्, हिंड्छन् । यस्तोमा म घर, परिवार, दाजुभाइ, छोराछोरी सबै बिर्सन्छु ।” वास्तवमा समर्पित साहित्यकर्मीको अचेतनले साहित्यकारलाई लेखनका निम्ति निरन्तर हुटहुटी लगाएको हुन्छ । मनमा गुम्सिएका भाव, विचार र आख्यानलाई कलमबाट नउतार्दासम्म अथवा मुखले व्यक्त नगर्दासम्म शान्ति र चैन मिल्दैन । यस्तै स्थिति सुबिसुधा आचार्यको पनि लेखनमा भएको हुनुपर्छ । उनका कतिपय कृतिहरू यस्तै अवस्थाका सिर्जना भएको आभास हुन्छ । कविता र गीतबाट लेखन आरम्भ गर्ने सुबिसुधाले कथालाई पनि आफ्नो साधना-क्षेत्र बनाएकी छन् । उनले हाइकु, ताङ्का, गजल र मुक्तकको पनि रचना गरेकी छन् । साहित्यिक पत्रकारितामा र दर्जनौं साहित्यिक संस्थाहरूमा पनि यिनको संलग्नता देखिन्छ । औपचारिक शिक्षातर्फ स्नातक तह पूरा गरेकी सुबिसुधाले शिक्षण र पत्रकारितालाई आफ्नो सेवा क्षेत्र सम्झन्छिन् भने उनी औषधि व्यवसायी पनि हुन् । उनलाई केही संस्थाहरूवाट सम्मान-पत्र तथा पुरस्कारहरू समेत प्राप्त भएका छन् । यसवाट सुबिसुधा आचार्यले एक जागरूक नारी साहित्यकारका रूपमा आफ्नो स्थान कायम गरिसकेको पुष्टि हुन्छ ।

‘रहस्यमय भोगाइ’ कथा सङ्ग्रहमा जम्मा अठार कथाहरू सङ्कलित छन् । यी कथाहरू गरिमा, मिर्मिरे, दायित्व, मनोभाव, जनमत, शिवपुरी सन्देश, प्रहरी, रत्नराधिका आदि पत्रपत्रिकामा प्रकाशित भइसकेका छन् । यस सङ्ग्रहमा सङ्कलित कथाहरू हुन्- (१) बेवारिसे डायरी, (२) बसको यात्रा, (३) रहस्यमय भोगाइ, (४) विस्वासघात, (५) उसको चिठी, (६) आरूबखडाको फूल, (७) लक्की, (८) जलेको कपिलवस्तु र लुटिएकी म, (९) नाजुक मन, (१०) म हत्यारा हैन, (११) प्यासी चम्पाकली, (१२) नजुरेको साइनो, (१३) अस्पष्ट समाचार, (१४) छायासँग एकरात, (१५) कलिलो मनका यादहरूमा, (१६) मलाई अपाङ्ग बनाए, (१७) कल्ली र (१८) मृत्युलाई पर्खंदा ।

यहाँ सङ्कलित सबै कथाहरू हाम्रो नेपाली समाजका भोगाइहरूसँग सम्बन्धित छन् र यथार्थपरक पनि छन् । कथा कथन गर्ने शैली कतै रैखिक छ भने कतै चक्रीय । कथावस्तुलाई नयाँ-नयाँ परिवेश दिने प्रवृत्ति पनि छ । धेरै जसो ‘म’ पात्रका रूपमा नारीले नै आफ्नो कुरा भनेकी हुन्छे । कतै काहीँ ‘म’ पात्रको रूपमा कथयिता भएर पुरूष पात्र पनि आएको हुन्छ । कथायात्रामा मानव चरित्र, संवेदनशीलता र कौतूहल साथसाथै आएका हुन्छन् । सामाजिक यथार्थको प्रस्तुति गर्नु कथाको लक्ष्य हो भने कतैकाहिँ सुधारका सन्देश पनि अन्तर्निहित भएका छन् । हरेक कथाले पाठक वा श्रोताको मनमा एउटा रोचक प्रभाव पार्छ र यही रोचकताले कथालाई अझ आस्वाद्य पनि बनाएको हुन्छ । ‘अग्नियुद्ध’ कथासङ्ग्रहका सापेक्षतामा यी कथाहरू कथ्य र प्रस्तुतिका दृष्टिले परिष्कृत पनि बन्न पुगेका छन् ।

‘बेवारिसे डायरी’ कथाले जनयुद्धका समयमा एउटा छापामारले आफू विद्रोही समूहमा लागेको पृष्ठभूमिलाई डायरीका माध्यमबाट प्रस्तुत गरेको छ । ‘म’ पात्र आभा श्रीमानको काम सघाउन मेडिकलमा जान्छे । त्यहाँ बिरामी जाँच्ने, औषधि दिने र स्वास्थ्य सम्बन्धी सल्लाह दिदैमा समय बितेको हुन्छ । त्यहाँ सोकेशमाथि एउटा डायरी रहेको छ । कुनै पेसेन्टले बिर्सेर बेवारिसे डायरीका रूपमा देखिन्छ । आभाले तत्काल हेरि्दन । घरमा लगेर फुर्सदमा डायरी पल्टाउँछे, शुरूमै परिवर्तन नेपाल लेखिएको छ । ठेगाना खाली छ । सम्पर्क फोन नं. पनि छैन, आभाले डायरी भित्र हेर्न थाल्छे । भित्रको विषय पढ्दै गर्छे, साठी सालको कुनै एकदिन एक युवक आफै कार हाँकेर गाउँबाट शहरतर्फ गइरहेको हुन्छ । ‘म’ पात्र युवकले बाटामा भेटिएकी, रात परेकाले अलपत्र परेकी केटीलाई उसकै माग अनुसार कारमा लिफ्ट दिन्छ । दुवै गफ गर्दै अगाडि बढ्छन् । वैशाखको महिना त्यो दिन आमाको मुख हेर्ने औंसी परेको छ । त्यसैले त्यस युवकले आमाको मुख हेर्न बाहिर जान लागेको हो कि भनेर केटीसँग प्रश्न गर्छ । तर त्यस केटीले प्रसङ्ग बदल्दै नेपाल आमालाई निरङ्कुशताबाट छुटकारा दिलाउन सङ्घर्ष गर्नुपर्ने तर्क राख्छे । आफ्नी आमाको मात्र पेट भर्ने होइन कि करोडौं आमाको मुक्तिको बाटोमा आफूहरू होमिएको जवाफ दिन्छे । केटीमा क्रान्तिकारी बिचारको छनक स्पष्ट देखिन्छ । रातको एघार बजे शहरको बस्ती शुरू भएतिर केटीले कार रोक्न लगाउँछे र गह्रौ झोला लिएर बाहिर निस्कन्छे । युवक कार रोकेर पर्खिबसेको हुन्छ । माझबजार अब नजिकै आएको हुन्छ । युवकले कारभित्रको बत्ती बालेर क्यासेट खोल्न मात्र लागेको हुन्छ बेजोडले चट्याङ्ग परेझैँ ठूलो विस्फोटको आवाज आउँछ । युवक अत्तिन थाल्छ, माझबजारमा ठूलो खलबल छ । प्रहरी चौकीबाट आगो ओकल्दै बन्दुक पड्किरहेका छन् । मान्छेहरूको भागाभाग, मारामार, काटाकाट र रूवाबासी । केही छिनमै प्रहरीहरू टर्च बाल्दै कारछेउ आउँछन् । गाडीभित्र अगाडि सीटको तल एउटा पेस्तोल र छापामारको परिचय भेटिन्छ । छापामार केटीको नाम हिमाली रहेछ । पुलिसहरूले कार हाँक्ने युवकलाई पनि आतङ्ककारी भनी समातेर रातभर त्यसमाथि लात्ती, मुक्का, घुस्सा र लठ्ठीको प्रहार गर्छन् । यथार्थ बताउँदा पनि पुलिसहरूले पत्याएनन् । आतङ्ककारी पक्रिएको खवर फैलिन्छ माझबजारमा । प्रहरीको गोली लागि सत्र जनाको मृत्यु, एक जना प्रहरीहिरासतमा र दुईजना प्रहरी सामान्य घाइते भन्ने समाचार बन्छ । युवक पन्ध्र दिन थुनिन्छ । त्यसपछि बाबु-आमाले छुटाएर लग्छन् । युवकको महङ्गो नर्सिङ् होममा छ महिनासम्म उपचार हुन्छ । बाहिरी चोट निको हुँदै गए पनि भित्री चोट अझ बल्झिरहन्छ । बिस्तारै उसमा परिवर्तन आउँछ । बिना अपराध आफूलार्इर्र्दिएको सजाय बिरूद्ध लड्ने तीब्र इच्छा जाग्छ र नर्सिङ होमबाट भागेर युवक जनयुद्धमा सामेल हुन्छ । उसले आफ्नो नाम परिवर्तन नेपाल राख्छ । क्रान्तिको बाटो हिँड्दा कैयौ दिन उसले भोकै बस्नुपरेको हुन्छ । शुरूमा बम पड्कँदा कान थुन्ने त्यस युवकले कैँयौ बम पड्काएर दुश्मनका इलाका पनि ध्वस्त पारेको थियो । उक्त डायरीमा परिवर्तन नेपालका यिनै कुराहरू थिए । डायरीको अन्तिम भाग पढ्न बाँकी नै थियो । पछि त्यो डायरी भेटिएन । यसरी बेवारिसे डायरी पूरै पढ्न नपाएकोमा आभालाई पनि खल्लो अनुभव हुन्छ । यसप्रकार एउटा डायरीका माध्यमबाट नेपालको दशबर्षे जनयुद्ध र त्यसमा सामेल हुनेहरूको कथा-व्यथालाई यस कथाले प्रस्तुत गरेको छ।

‘बसको यात्रा’ कथामा बसभित्र सँगै सीटमा बसेका युवा-युवतीको छेडखान र प्रेम-वितृष्णा देखाइएको छ । पाल्पाबाट काठमाडौंको लागि बस छुट्न थालेको हुन्छ । युवती बसे लगत्तै सँगै सीटमा अपरिचित युवक बस्न आउँछ । त्यो युवक पछाडि खाली सीटमा बसोस् र यहाँ कुनै केटी नै होस् भन्ने युवतीको चाहना हुन्छ । उसले श्रीमानको सिट भनेर तर्काउन पनि चाहन्छे । तर युवक जिद्दी गरेर त्यहीँ नै बस्छ । झयाल बन्द गर्ने, बसले धक्का पुर्‍याउने जस्ता कुरा हुन्छन् । बाहिर फेर पहेँलपुर धानका खेत देखिन्छन् । युवती आफ्नै अतीतमा भुलेकी हुन्छे । ऊ बीस-बाइस वर्षकी नारी हो । उसको बिहे भइसकेको छ । एउटी छोरी पनि छ । श्रीमानले सिकाएर स्कुटर चलाउन जानेकी हुन्छे । त्यसैबाट उसले छोरीलाई स्कूलमा पुर्‍याउने गरेकी छ । युवकको आवाजले युवतीको पूर्व स्मृति टुट्छ । युवकले गजल सुनाउन चाहन्छ । अदृश्य साथीले फोनमा सुनाएको त्यो गजल अर्कै नामबाट पत्रिकामा छापिएको देखाउँछ र काठमाण्डौ गएर उक्त अदृश्य साथीलाई भेट्ने कुरा गर्छ । आफू ओखलढुङ्गाको र नाम चाहिँ राम हो भनेर परिचय पनि दिन्छ । अदृश्य साथीको नाम सीमा भन्छ र फोन गर्दा बोल्ने केटीको आवाजसँग यो आवाज ठ्याक्कै मिलेर पनि यही सीटमा बस्न आएको बताउँछ । अब युवती झस्कन्छे । युवकले फोन गर्दा रङ्ग नम्बर परेको र आफू नै सीमा बनेर त्यस युवकसँग कुरा गर्ने गरेको दुई वर्ष पुरानो कुरा सम्झन्छे । युवती त्यो रहस्य बताउन चाहन्ने र खुलस्त हुँदिन । त्यसपछि आत्मीयता भने बढ्छ । युवकले दिएको आइसक्रिम खान्छे र दुवैले बाटामा सँगै नास्ता गर्छन् । युवकचाहिँ त्यही सीमालाई भेटेर बिहे भए पनि आफ्नी गराउने हठ गर्छ । युवतीले अर्को बिहे गर्ने सल्लाह दिँदा पनि मान्दैन । दुवै कलङ्की आएर छुट्टिन्छन् । युवकले युवतीलाई टाढासम्म हेरेको हेर्‍यै हुन्छ । यसरी बसयात्राको परिवेश सिर्जना गरेर एकल प्रेमको रोचक प्रस्तुति यस कथामा भएको छ ।

‘रहस्यमय भोगाइ’ शीर्षक कथामा सपना र विपनाको सम्मिश्रण गराइएको छ । एउटी किशोरीको सपनामा छायाँसँग सम्पर्क हुन्छ । पहाडी खोलामा पुगेकी किशोरी परीसँग छायाँले साउती गर्छ । त्यो छायाँ युवक हुन्छ र स्वर्गतुल्य कोठामा पुर्‍याएर शारीरिक सम्पर्क गर्छ । यो सपना देख्दैमा परी ब्युँझन्छे र एउटा कालो सर्प खाटबाटै ओर्लन्छ । यो सपना र कालो र्सपमा कथाकारले केही स्वैरकल्पना र केही यथार्थको रहस्य प्रस्तुत गरेकी छन् । यो उनको कथाकारिताको विशेषता पनि हो । परी गर्भवती हुन्छे । बाबु-आमा चिन्तित हुन्छन् र लुकाइराखेर पछि जन्मेको बच्चालाई फ्याँक्ने निश्चयमा पुग्छन् । साइन्सकी विद्यार्थी परीलाई पनि प्रिग्नेन्सी भएकोमा आश्चर्य लाग्छ । समय पुगेर बच्चा जन्मन्छ, उज्यालो छर्दै छायाँ आउँछ र नवजात शिशु लिएर जान्छ । यसै बखत त्यस कोठाबाट सानो र ठूलो गरी दुई सर्पहरू निस्केर जान्छन् । कथानक यत्ति हो । विभिन्न परिवेश सिर्जना गरेर कथालाई कौतूहलपूर्ण बनाउने काम यहाँ भएको छ । यस कथामा सर्प यौनको प्रतीक हो र उसले सपनामा देखेको छायाँ त्यही सर्प हो, किशोरीले चालै नपाई यौन सम्पर्क गर्ने कुनै युवकका रूपमा पनि सर्पको प्रतीकात्मकता दिन खोजिएको भन्ने अर्थ प्रक्षेपण पनि दिन सकिने स्थिति यहाँ देखिन्छ ।

‘विश्वासघात’ कथामा ‘म’ पात्र एउटा होटेलमा प्रवेश गर्छ । उसले चिया माग्छ । प्रतीक्षा गरिएकी केटी सिम्रिका आउन नभ्याउने जनाई मोबाइलमा फोन गर्छे, ‘म’ पात्रको ध्यान रक्सी खाँदै गरेको जँड्याहातिर खिचिन्छ । उसले एकोहोरो नारी जातिलाई सरापिरहेको हुन्छ । होटेलको केटो पनि फोहोरी र घीनलाग्दो देखिन्छ । जँड्याहाले थपी-थपी रक्सी धोक्छ । पैसा तिर्दैन । कोरियाबाट डेढ करोड कमाएको बताउँदै होटलको पैसा पछि तिर्ने भनेर निस्कन्छ । ‘म’ पात्रले उसको रक्सी खाएको पैसा पनि तिरिदिन्छ । केही दिनपछि मोटरसाइकल स्र्टार्ट गरेर ‘म’ पात्र कोपुन्डोलतर्फ लाग्छ । पुतलीसडक पुग्दा त्यहाँ जँड्याहा मानिस रगतपिच्छे भएर पल्टेको छ। उसलाई एउटी नारीले गाडीले हानेर लडाएको हो भन्ने आवाज आउँछ । जँड्याहाकी बहिनी आइपुग्छे । मृतक दाजुलाई अँगालो मार्छे । अनि भन्छे- दाजुले कोरियाबाट भाउजूको नाममा प्रशस्त पैसा पठाउनुभयो, घर बन्यो र केटाकेटी पढ्दै रहे । यस्तैमा भाउजूको अर्कै केटासँग प्रेम बस्यो, घर पनि उसैको नाममा भयो । दाजु कोरियाबाट फर्केपछि भाउजू त्यही केटासँग गइन्, दाजुको सम्पत्ति सबै लिएर । त्यसैले दाजु बौलाहा बनेर आइमाई सबैलाई सराप्दै रक्स्याहा बनेका हुन् । आज तिनै भाउजूलाई गाडीमा देखेर जगल्ट्याउन खोज्दा उनैले गाडी चलाएर दाजुलाई मारिन् । ‘म’ पात्रलाई यस्तो विश्वासघात पनि नारीले गर्दा रहेछन् भन्ने लाग्यो । उता प्रहरीले ती आइमाई र सँगै उभिएको लोग्ने मान्छेलाई लग्यो भने लासलाई शववाहनले उठायो । यस कथामा एउटी नारीले यौन आवेगमा सल्किएर एउटा पुरूषको जीवन ध्वस्त पारेको देखाइएको छ। यस कथाले नेपाली युवाहरूको रोजगारीको लागि समुद्रपार विदेश जाने प्रवृत्ति, काठमाडौंको बढदो सवारी चाप, दुर्घटनाको स्थिति जस्ता सामाजिक पक्षलाई पनि अन्तर्वस्तुका रूपमा प्रस्तुत गरिएको छ ।

‘उसको चिठी’ कथा पत्रात्मक शैलीमा रचिएको अनुरागपूर्ण कथा हो । बिहेको लागि दिदीलाई हेर्न जाँदा दुई-तीन दिनको बसाइमा दिदीभन्दा बहिनी मन परेको र दिदी प्रतिमाले नपढेको पनि हुनाले बाबु-आमाले अरू नै खोज्नु पर्ने निष्कर्ष निकालेको पृष्ठभूमिमा कथाको तर्जुमा गरिएको छ । केटी हेरेको दुई महिना पछि यस्तै व्यहोरा लेखेर केटा सुबिनले बहिनी प्रज्ञाचाहिँलाई चिठी पनि पठाएको थियो । तर त्यसको उत्तर उसले पाएको थिएन । प्रज्ञालाई मन पराएकोले सुबिनले अन्यत्र बिहे पनि गरेन । उता त्यो चिठी दिदी प्रतिमालाई घातक अस्त्रको रूपमा परिणत भयो र प्रतिमाले आत्महत्या गरी । घर-परिवार तहसनहस भयो । यो कुरा सुबिन स्वयम् त्यहाँ पुगेर थाहा पाएको थियो । यसपछि दुई वर्ष बिते । सुबिनलाई छटपटी भयो, रक्सी पिएर त्यो घाउ पुर्ने कोशिस गर्दै रह्यो । ऊ दीर्घरोगी भयो । अत्यधिक मदिरा सेवनले किड्नी फेल भयो र साथमा एच.आई.भी. एड्सको लक्षण पनि देखियो । सुबिन अस्पतालमा बाँकी दिन बिताउँदै हुन्छ । उसका बाबु-आमाले विदेश लगेर भए पनि औषधि उपचार गर्ने सोचेका हुन्छन् । उसले के कारणले यस्तो रोग लाग्यो भन्ने सुनाएको छैन र डाक्टरसँग पनि नभन्नु भनेर अनुरोध गरेको छ। यस स्थितिमा बाबु-आमालाई जानकारी दिनु भन्ने व्यहोराको सुबिनले प्रज्ञालाई चिठी लेखेको हुन्छ । उसको चिठी पढेपछि प्रज्ञालाई बिजुलीको करेन्ट लागे जस्तै हुन्छ, आँखाबाट दुःखका आँशु झर्छन् । भान्छामा तरकारी डढ्छ, प्रज्ञा एकोहोरो हेरेको हेर्‍यै अवाक् बन्छे । चिठी लेख्दै गर्दा गीतिकथामा जस्तै बीच-बीचमा गीतिमय कविताहरूले आहत आत्माका संवेदनाहरू पनि व्यक्त गरिरहेका हुन्छन् । यसरी हुलाकी राजमान काकाले ल्याएको उसको चिठीको परिवेशमा एकल प्रेमको असफल तथा दुःखद कथालाई यहाँ रोचक ढङ्गले प्रस्तुत गरिएको छ ।

‘आरूबखडाको फूल’ कथामा नाताले दाजु पर्ने एक कृतघ्न व्यक्ति धनेको खराब करतुत र उसले पछिल्ला दिनहरूमा भोग्नुपरेका दुर्दशालाई व्यक्त गरिएको छ । दाजु पर्ने धने बिरामी छ भनेर असनभित्र दुर्गन्धित गल्लीमा बहिनी शर्मिला जान्छे । बढी रक्सी खाएर किड्नी खराब भएको दाजु धने खाटमा पल्टिरहेको छ । भाउजूचाहिँ रक्सी लागेर एकातिर पल्टेकी हुन्छे । एउटा कुनामा बिजातीय बाबुबाट जन्मेको छाँटकी लाटी छोरी छे र सान गरेर पैसा माग्छे । पहाडमा जन्मेका दुई भाइ छोरा र छोरी देखिदैनन् । कोठा गनाउने खालको छ । कोपरा भरि पिसाव, रगत र दिशा लागेका कपडा, फुटे-टुटेका भाँडा, नाकै फुट्ने गरी दुर्गन्धी हरक छ । शर्मिला रूमालले नाक छोप्छे, धनेलाई हेर्दै । ऊ सिकिस्त छ । पैसा माग्दै गरेकी सानी छोरीलाई दश रूपियाँको नोट दिन्छे । भाउजूले शर्मिला आएको चाल पाउँछे र भन्छे- अस्पतालले बिदा दिएर बिरामीलाई ल्याएको भनेर । यस्तैमा जेठो छोरा दिलिप आइपुग्छ । भदा दिलिपलाई बुवाको औषधि गर्न पर्ने भन्दा पैसा नभएको बाध्यता बताउँछ । पैसाको जोहो आफूले गर्ने बताएर ‘म’ पात्र शर्मिलाले भदालाई टेक्सी बोलाउन अह्राउँछे । बाहिर गएर आफ्नो तीन तोलाको तिलहरी बेचेर साठी हजार ल्याउँछे । यसैबखत उसलाई अतीतको सम्झना हुन्छ । सानैमा धनेलाई भाइटीका लगाइदिएको, उसको काखमा हुर्के खेलेको सम्झना हुन्छ । पछि आमा बित्दा एक्ली छोरी शर्मिलाको बाबुको सम्पत्ति सबै हत्याउने सुरले धनेले दूधमा विष मिलाएर खान दिएको, दूध पोखिएर बिरालाले त्यो दुध खाँदा बिरालो नै मरेको, आफूले खान नपरेको सम्झना हुन्छ । आमा बितेपछि आमाको गहना चोरेर धने दाजुले लगेको र पछि भाउजू पर्नेले तिनै गहना लगाउने गरेको पनि सम्झना हुन्छ । यस्ता कृतघ्न दाजुको पनि उपकार गर्ने उदारता शर्मिलामा देखिन्छ । टेक्सी आउँछ । वीर अस्पतालमा सिकारू भोलिका डाक्टरले जाँच्छन् । यस्तैमा धनेको मृत्यु हुन्छ र पशुपति आर्यघाटमा दाहसंस्कार हुन्छ । यसरी क्षणिक जीवनलाई प्रतीकात्मक अर्थमा आरूबखडाको फूल भनेर स्पष्ट्याउने काम यहाँ कथाको माध्यमबाट भएको छ ।

‘लक्की’ कथामा ‘म’ पात्र अभिले गाउँले केटी छाडेर शहरिया मोडलिङ गर्ल बिहे गरी दुःख पाउनुपरेको अवस्थालाई चित्रण गरिएको छ । अभि सुब्बाको जागिरमा शहरमै बस्छ । उसले आमाको सल्लाह मान्दैन र गाउँका केटी मन पराउँदैन । शहरमा आएर रूपकी धनी मोडेलिङ गर्ने केटी लक्कीसँग बिहे गरेको छ । फिल्ममा सुटिङ्ग कार्यक्रममा गइरहने लक्कीको बानी छ । राम्रो भवन र कार पनि लक्कीकै आम्दानीले भएका छन् । अभिको सुव्बा स्तरको जागिरले के हुन्छ र ? बिहे गरेपछि पाँच वर्षसम्म सन्तान भएका छैनन् । छिमेकी र साथीहरूले प्रश्न गर्छन् । अभि पनि सन्तान चाहन्छ । यता लक्कीकै कारणले असी वर्षकी बूढी आमालाई शहर ल्याउन सकेको छैन । सुटिङले फुर्सद नमिल्ने र घरको भातभान्छामा खट्ने कुनै मानिस नभएकाले अभिले आफ्नै बहिनी राधालाई ल्याएर नोकर्नीलाई जस्तै काम गराएको छ । सुख सुविधा छ अभिलाई, तर मानसिक शान्ति छैन । यस्तैमा पाँच वर्ष पछि लक्की गर्भवती हुन्छे । त्यो गर्भ राख्न चाहन्न ऊ । एबोर्सन गरेर सुटिङका लागि छरिती बन्न चाहन्छे । अभिलाई यो कुरा मन पर्दैन । उसले धेरै सम्झाउँछ, अन्तमा लक्कीलाई सुझाव सहितको पत्र पनि लेख्छ । उता लक्की भने आफ्नो निर्णय बदल्न चाहन्न । दुबैमा वैमनस्य हुन्छ । ऊ घरबाट निस्कन्छे । पन्ध्र दिनसम्म कतै पत्ता हुँदैन । पछि डकुमेन्ट अभि शर्माको हात पर्छ त्यसमा दुई थान पेपर छन् । एउटा लक्कीको एबोर्सन गराउँदाको अस्पतालको प्रेस्किप्सन र अर्कोचाहिँ सम्बन्ध विच्छेदको । अभि मणि हराएको र्सपझैँ हुन्छ ।

‘जलेको कपिलवस्तु र लुटिएकी म’ शीर्षक कथा सत्य घटनामा आधारित कथा हो । २०६४ साल भदौ उनन्तीस गते कपिलवस्तुमा मधेसी मोर्चाका कार्यकर्ता अब्दुल खाँको हत्या अज्ञात समूहबाट हुन्छ । यसको लगतै भदौ ३० गते आतङ्ककारी जत्थाबाट कपिलवस्तु जलाइन्छ । बस्तीमा आगजनी हुन्छ । मान्छेहरू मारिन्छन् । चन्द्रौटा बजार पनि आगोले ध्वस्त हुन्छ । बस, दुकानहरू जल्छन् । दुकानका सामान फ्याकिन्छन्, चोरिन्छन्, आगोमा जल्छन् । यही नै सत्य घटना हो जलेको कपिलवस्तुको । यसै पृष्ठभूमिमा एउटा आहत र दुष्टहरूद्वारा उखुबारीमा बलात्कृत केटी ‘म’ पात्र आफ्नै मारिएको भाइको लासमा टेक्दै, गाडीको पछाडि दुबै हातमा डोरीले बाँधेर घिसारिएको रक्ताम्य मुहार भएका आफ्नै बाबाको दुर्दशा देख्दै भागेकी हुन्छे । उसलाई निर्वस्त्र तुल्याएर दुष्टहरूले सर्पतुल्य गरी डस्छन् । होस हुँदैन । उसको अस्पताल पुगेपछि होस खुल्छ र ऊ आफ्नो प्रिय साथी जीवनलाई घटनाको नालीबेली लाएर चिठी लेख्छे । भन्छे-“तिमीलाई भनेर साँचेको मन मात्र चोखो छ अहिले मसँग, पापी असुरहरूले जुठ्याए तन, साँच्न सकिन सकुशल मैले त्रि्रो लागि यो यौवन ।” त्यसैले ऊ आफूलाई भोजमा खाएर फ्याँकेको जुठो टपरी सम्झन्छे । यस स्थितिमा प्रेमी जीवनलाई अन्यत्र कतै बिहे गर्न सल्लाह दिन्छे र कपिलवस्तुको अग्निकुण्डमा एउटी सतीदेवीको पतन भएको सम्झन अनुरोध गर्छे । पुनर्जन्म भएमा अर्को जुनिमा भेटेर सँगै बाँच्ने अनि चोखो यौवन सुम्पने प्रण गर्छे । यसरी २०६४ असोज २ गते जीवनका नाममा लेखी पठाएको पत्रसँगै कथा पनि अन्त हुन्छ ।

‘नाजुक मन’ कथामा विदेशयात्रामा भेट भएकी पूर्व क्लासमेट शिल्पाको विलासी जीवन र आफ्नो असफल वैवाहिक जीवनका पृष्ठभूमिमा कमलको नाजुक मन अत्तालिएको छ । ‘म’ पात्र कमल एक महिनाको अफिसियल काममा लन्डन पुगेको हुन्छ । एकदिन ऊ थेम्स नदी माथि बनेको गोल्डेन जुब्ली ब्रिज पार गर्दै जुब्ली गार्डेन पुग्छ । ब्रिटिस एयरवेज लन्डन आइबाट सिङ्गो लन्डन शहरको दृश्य अवलोकन गर्ने उसको चाहना हुन्छ । टिकट लिएर ऊ अवलोकन कक्षमा पुग्छ । उसलाई नेपालको रोटे पिङको सम्झना हुन्छ । माथि पुगेर एक चक्कर लगाउँदा शहरका अग्ला भवन सेन्टर प्वाइन्ट, वाटर लु ब्रिज आदिका दृश्यहरू झल्मलाउँछन् । त्यहीँ एउटी नेपाली केटीमा उसको आँखा पुग्छ । त्यहाँबाट उत्रेर कमल जुब्ली गार्डेन पुग्छ र त्यहीँ बस्दै गरेकी शिल्पासँग अप्ठेरो मान्दै कुराकानी हुन थाल्छ । शिल्पाले चिन्छे, पुरानो क्लास्मेट कमल भनेर । पढ्दाखेरिका रमाइला कुरा हुन्छन् । कमलले पनि लन्डन आइपुग्दा लन्डन आइ हेरौँ भनेर आएको बताउँछ । शिल्पाको रूपरङ्ग बानीबेहोरा सबै परिवर्तन भएको देख्छ र कमललाई भित्रभित्रै ईष्र्या लाग्छ । शिल्पा पाँच वर्ष देखि लन्डनमा बस्दै छे र क्विन्स ल्याण्ड कलेजको लाइब्रेरीमा काम गर्छे, उसले सोध्छे कमललाई ‘बिहे गर्नुभयो ?’ भनेर । यस प्रश्नले कमलको मनमा ठूलो झड्का लाग्छ । ऊ मनमनै भन्छ – विवाह भएको तीन वर्ष बित्यो तर श्रीमतीसँगको सहवास कस्तो हुन्छ अनुभव छैन भनेर । कुरा के भने बिहेको तेस्रो दिन सुहागरात मनाउने क्रममा केटी नपुंसक भएको थाहा हुन्छ । यो रहस्य उसले आमा-बुबासँग पनि भन्न सकेको छैन । यस्तो स्थितिमा आफ्नो पुरानो क्लासमेटसँगको भेट र आकर्षणले कमल आश्वस्त भएको अनुभव गर्छ । शिल्पाको आग्रहमा दुवै शिल्पाको रूमतर्फ लाग्छन् । कोठा निकै सजाइएको छ । शिल्पाले कफी बनाएर खान दिन्छे । यस्तैमा कमलका आँखा भित्तामा टाँगिएको तस्विरमा ठोकिन्छन् । त्यहाँ एउटा युवकको अँगालोमा तीन-चार वर्षको बच्चा काखमा लिएर शिल्पा मुस्कुराएकी हुन्छे । अनि तस्वीर देखाउँदै शिल्पाले त्यो युवक आफ्नो श्रीमान् र बच्चाचाहिँ छोरो सौरव भनी जवाफ दिन्छे । यस भनाइले कमल बाण लागेको हरिणझैँ छटपटाउन थाल्छ । उसलाई केही राम्रो लाग्दैन । लन्डन शहर उसैमाथि कोल्टे परेर पल्टिए जस्तो भान हुन्छ । उसको नाजुक मन सीसा जस्तै टुक्रा-टुक्रा हुन्छ । कफी खाएकोमा धन्यवाद पनि नदिइकन कमल बाहिरिन्छ । यसरी नपुंसकसँग बिहे गरेको चोट सँगै क्लासमेट शिल्पाको सुखद दाम्पत्य जीवन देखेर कमलको मन विचलित भएको तथ्यलाई यहाँ प्रस्तुत गरिएको छ ।

‘म हत्यारा हैन’ कथामा हत्याको अभियोगमा जेल परेको व्यक्तिले सफाइ दिइरहँदा पनि जेलबाट छुट्कारा पाउन नसकेको पीडा व्यक्त गरिएको छ । नुवाकोटमा प्रा.वि. शिक्षक रहेको ठाकुरप्रसाद घिमिरे द्वन्द्वले आहत भएपछि सुन्धाराको छेउमा जुत्ता पालिस गरेर गुजारा गरेको हुन्छ । उसले आफ्नो अतीत सम्झँदै रहन्छ । २०५९ असोजमा उसको छोरालाई जनमुक्ति सेनाले लगेका थिए, मर्‍यो कि बाँचेको छ थाहै छैन । एक वर्षपछि आतङ्ककारीसँग उठबस गर्ने जासुसी भनेर सेनाले उसलाई लखेटेका थिए । २०६१ वैशाखमा घरबारी बैङ्कमा धितो राखेर असी हजार ऋण लिई मेन पावरमार्फत् ठाकुरेले छोरीलाई कतारका लागि उडाएको थियो । पछि छोरीसँग सम्पर्क हुन पनि छाड्यो । २०६२ वैशाखमा एयरपोर्टबाट पुलिस उसलाई नै खोज्दै आएको थियो । एयरपोर्टपुगेर उसले मरणासन्न छोरी हात पार्‍यो । पासपोर्ट देखे पछि मात्र उसले छोरी भनेर चिन्न सकेको थियो । यथार्थमा के भएको रहेछ भने एकता मेनपावरको मालिक हरिहर चापागाईंले ठाकुरेकी छोरीलाई विदेशमा बिक्री गरेको रहेछ । विदेशमै वेश्यावृत्तिमा लगाएको र नमान्दा पिटाइ खाएर अर्धमृत भई नेपाल फर्काइएको रहेछ । यसरी छोरो मुक्तिसेनामा गएर बेपत्ता भएको र बाँकी रहेकी छोरी पनि मृत्युको दिन गन्दै रहे जस्ती देखेर ठाकुरेलाई छटपटी भएको थियो । डाक्टरको भनाइ अनुसार- धेरै जनाले बलात्कार गरेर छोरीको मानसिक अवस्था खलबलिएको थियो । मानसिक अस्पताल लगिएकी छोरीलाई निको हुन सकेको छैन । यही पृष्ठभूमिमा ठाकुरे पनि आफ्नी छोरीको जीवन बरवाद गरिदिने मेनपावरसाहु हरिहरको हत्या गर्ने आवेशमा हुन्छ । ठाकुरे हरिहरको हत्या गर्ने उद्देश्यले पर्खालबाट झयाल हुँदै हरिहरको कोठामा पस्छ । त्यहाँ उसले हरिहरको हत्या अरूबाट नै त्यसैबखत भएको देख्छ । हरिहरचाहिँ कन्चटबाट रगत बगेको अवस्थामा गलैंचामा घोप्टेको थियो । उसले कालो पोसाकका र मुखमा कालै कपडा बाँधेका दुई जना पर्खालबाट हाम फालेर बाहिरफेर भागेको पनि देखेको हुन्छ । ठाकुरेको हातमा चुपी हुन्छ, बन्दुक हुँदैन । त्यसैबेला बाहिर निस्केर भाग्न खोज्दा घरका मान्छेले समातेर उसलाई प्रहरीसामु सुम्पेका थिए । यसरी यथार्थमा ठाकुरे हत्यारा होइन । मेनपावर साहु हरिहरको हत्या गरेको अभियोगमा ऊ हनुमान ढोका जेलमा परेको छ । ‘म हत्यारा हैन’ भनेर चिच्याइरहन्छ । डी.एस.पी.ले पानीले छ्यापेर केरकार गर्दा आफूले हरिहरको हत्या गरेर छोरीको जीवन ध्वस्त गरेको बदला लिने उद्देश्य राखे पनि अरूबाट नै हत्या भएको विवरण उसले दिएको छ । यता डी.एस.पी.लाई भने ठाकुरेलाई यतिसम्म बयान गराउन सकेकोमा सन्तोष लाग्छ । यथार्थ जेसुकै भएपनि ठाकुरे चुपीसहित पक्राउ परेको छ र लगभग ऊ अपराधी साबित रहने अवस्थामा छ । तै पनि ठाकुरे ‘म हत्यारा हैन’ भनेर चिच्याइरहन्छ । यस कथामा जनयुद्धको पीडा, जनमुक्ति सेना र सरकारी सेनाको चेपुवामा परेर मारिएका अबोध जनताको दुर्दशा दुवै सेनाबाट गाउँको जनता पीडित र आहत भएको नेपालको भर्खरै बितेको स्थिति जस्ता यथार्थ पक्ष उद्घाटित भएका छन् । यसका साथै परिबन्दले गर्दा साधु पनि चोर हुनुपर्ने र निर्दोष पनि अपराधी बन्नु पर्ने अदालती प्रक्रियाप्रतिसमेत आक्रोश व्यक्त गरिएको छ ।

‘प्यासी चम्पाकली’ भन्ने कथामा सन्तानको चाहनाले अर्कैको शिशुलाई आफैले जन्माएको बहाना गर्ने दम्पतीको सामाजिक अवहेलना देखाइएको छ । चम्पाकली छोराकी प्यासी हुन्छे । उसको लोग्ने साइँलोले पनि सन्तानको चाहना गरेको हुन्छ । उनीहरूले अस्पताल गएर आफ्नो अवस्थालाई जँचाउने काम पनि गरेका हुन् । यति गरे पनि चम्पाकलीलाई पन्ध्र वर्षसम्म सन्तान हुँदैन । यस्तैमा चम्पाले छोरो जन्माएको हल्ला फैलिन्छ । पोक्ची दमिनीले त दोजिया भएको थाहा थिएन, कसरी छोरा जन्म्यो भन्ने हल्ला गर्छे, जे होस्, चम्पाको लोग्ने-स्वास्नीले छोरा जन्मेको भनेर न्वारान गर्न पण्डितलाई बोलाउँछन्, खुशीयालीको भोज खान गाउँलेलाई पनि निम्तो गरिएको हुन्छ । पण्डितले डेढ महिनाको जस्तो बालक भनी टिप्पणी गर्छन् । बच्चाको नाम छत्रबहादुर जुर्छ । चम्पाकी आमाले नातिलाई चाँदीको बाला लगाइदिन्छिन् । महिलाहरूमा जन्मेको बच्चाबारे खासखुस चलेको हुन्छ । यसैबखत जिङरिङ्ग कपाल भएकी, मैला कपडा लगाएकी फोहोरी आइमाई त्यहीँ देखा पर्छे, चम्पाकलीलाई चिटचिट पसिना आउँछ । एक दुई जनाले त्यो फोहोरी आइमाईलाई लखेट्न चाहन्छन् । चम्पाकलीले उसलाई खाना दिन अह्राउँछे । सुन्तलीले उसको सामु भातको टपरी राखिदिन्छे । फोहोरी आइमाईले भातको टपरी होम गरेतिर हुत्याउँछे । आफ्नो चोलो खोलेर स्तन बाहिर निकाल्छे । दुध चुहिरहेको हुन्छ । उसले पालैपालो बच्चालाई र स्तनलाई हेर्छे । बघिनीले बच्चा झम्टेझैँ ऊ बालक भएतिर बढ्छे । चम्पाकलीको भाइले रोक्न खोज्दा रगतै आउने गरी हातमा टोकिदिन्छे । सबैका सामुबाट उसले बच्चालाई टपक्क टिप्छे र धित मर्ने गरी दुध चुसाउँछे । यस्तैमा अत्तालिएकी चम्पाकली केही बोल्न आँ गर्दै रहँदा बेहोस हुन्छे । यसरी अरूको बच्चालाई आफ्नै बनाउने असफन प्रयासले धुन्धुकारी जन्मको कथालाई सम्झाउँछ ।

‘नजुरेको साइनो’ कथामा डेरावाला केटा छत्रले घरबेटी अधबैसे र लोग्ने विदेशिएको अवस्थाकी नारीसँग विवाहसम्बन्ध जोड्न लाग्दा छ वर्षपछि आएको पुरानो लोग्नेका कारणले सो विवाहसम्बन्ध नजुरेको वर्णन गरिएको छ । दीपताराले नचाहँदा पनि बाबु-आमाको करकापले सौरभसँग बिहे भएको थियो । ऊ लोग्नेसँगको सहवासमा पनि आफू बलात्कृत भएको सम्झन्छे । उसको पेटमा गर्भ रहँदै गर्दा लोग्ने सौरभ विदेशिन्छ र उतै खैरेनीसँग बिहे गर्छ । उसले ‘म यतै घरजम गरेँ तिमीले मनखुशी गर्नू’ भन्ने चिठी पनि पठाएको हुन्छ । दीपताराको छोरो जन्मन्छ दीपक । एक्लो जीवनमा निसासिएर दीपताराले विष खाएकी हुन्छे । केही समयदेखि डेरामा बस्दै आएको छत्रले उसलार्इर्र्अस्पताल पुर्‍याएर उपचार गर्छ । दुवैको आउ-जाउ बढ्दै रहन्छ । सानो बच्चा दीपकलाई लिएर उनीहरू पोखरा, पाल्पा, आदि ठाउँमा घुम्न पनि गएका हुन्छन् । अब दीपकले छत्रलाई अङ्कल भनेर माया गर्न थालेको देखिन्छ । यता खैरिनीसँग बसेको सौरभ नफर्कने भन्ने पक्का हुन्छ उनीहरूलाई । दीपतारा र छत्रका बीच प्रेम वासना झाङ्गिँदै जान्छ । सानेपा घरबाट उनीहरू सामान किन्न काठमाडौ मल आउँछन् । महङ्गा कपडा किन्छन् । न्युरोड गएर गहना किन्छन्, घरमा फर्केर राती खुशीयालीमा वाइन खान्छन् भोलिपल्ट दुवैले बिहे गर्ने तयारी भएको छ । सौरभ गएको पनि सात वर्ष हुन लागेको र मेल, फोन समेत आउन बन्द भएकाले उनीहरू नयाँ सम्बन्ध गाँस्ने विषयमा ढुक्क छन् । यस्तैमा गेटको घन्टी बज्छ । रात निकै छिप्पिसकेको छ । काम गर्ने केटो गएर ढोका खोल्छ । सुटकेश घिसार्दै सौरभ पस्छ र भन्छ- “माफ गर दीपा, त्यो कुइरिनीले मलाई धोका दिई । विवाह हैन छ वर्षको सम्झौता मात्र गरेकी रैछ, अहिले आएर डिभोर्स गरी । म एक्लै भएँ दीपा, मलाई माफ गर ।” यति भन्दै सौरभले दीपतारालाई अंगालोमा बेर्छ । छत्रको हातबाट वाइनको बोतल भुइँमा खस्छ । यसरी नजुरेको साइनो गाँस्न खोज्दा सबै भताभुङ्ग हुन्छ । यसप्रकार अमेरिका नफर्कने गरी फर्केको सौरभले छत्रको सपना चकनाचुर भएको देखाएर यस कथाले सोंचेर मात्र पाइला चाल्नुपर्ने सन्देश दिएको छ।

‘अस्पष्ट समाचार’ कथामा नेपालका सडकहरूमा हुने बन्द, हडताल, चक्काजाम, आगजनी आदिको घटनाका पृष्ठमूमिमा एउटी नारीले आफ्नो श्रीमान् हडतालमा परी पुलिस थानामा रहेको भन्ने अस्पष्ट समाचारलाई विषय बनाइएको छ । आफ्नो लोग्ने रमेश बस लिन मोरङ गएको एक हप्ता भएको छ, फर्केको छैन । छोरो ठेउके भिडीयो गेम खेल्न आमासँग बीस रूपियाँ माग्छ । यस्तै पिरलोमा परेकी आमालाई ग्याँसको अभाव र लोडसेडिङले पनि अप्ठेरो पारेको छ । यता गुच्चा लिएर निस्केको ठेउके एकछिन हराएर उत्तिकै पीर परेको छ । यता छोरो रिसाएकै दिनदेखि ज्वरोले थलिएको छ भने उता बाउको केही खबर छैन । तराई मधिसे मुक्ति मोर्चा र टाइगर्स समूहले गरेको भिन्दा-भिन्दै बन्दमा सुनसरी, मोरङ, विराटनगर, बारा लगायतका ठाउँमा गाडीहरू जलाउने र तोडफोन गर्ने समाचार आइरहेका छन् । यस्तैमा फोन आउँछ । त्यही बस कम्पनीको स्टाफले रमेश दाजुको बस मोरङमा ठोक्किएको भन्ने सुनेकाले के हो भनेर सोधिएको हुन्छ । यस्तै अस्पष्ट समाचारले आमाचाँहि अत्तालिन्छे, त्यही बस कम्पनीको मिस्त्री कहाँ पुग्छे । मिस्त्रीले भन्दै जान्छ -“दाइले गाडी कुदाउँदा मोरङको जिल्ला प्रहरी कार्यालयमा ठोक्किएछ । पुलिसको कब्जामा भएर दाइ बाँच्नु भयो । नत्र फोरमका कार्यकताले जिउँदै गाडीमा जलाइ दिन्थे ।” यो सुनेर उसलाई भाउन्न हुन्छ । ऊ लोग्नेलाई केही हुने हो कि भनेर अत्तालिन्छे । यस कथामा अस्पष्ट समाचारको माध्यममा देशमा चलिरहेको बन्द, हडताल र तोडफोडको दुःखद चित्र प्रस्तुत गरिएको छ । त्यसैबखत उसको लोग्ने आएर सुखद मिलन भएको दर्शाउँदै र मिस्त्रीको खवर अपुष्ट भएको प्रमाणित हुन्छ । यसरी बीच-बीचमा आएको अस्पष्ट खबरले मान्छेको जीवन नै हलचलमा पर्छ भन्ने तथ्यलाई पनि यस कथाले देखाएको छ ।

‘छायाँसँग एकरात’ कथा भूत-प्रेतको अस्तित्व र त्यसको प्रभावमा प्रचलित जनश्रुति तथा घटनाहरूलाई सम्झाउने प्रणय कथा हो । मरेपछि अगति परेका, राम्रोसँग काजक्रिया नपुगेका आत्माहरू यहीँ नै वरपर घुम्छन् र भूत-प्रेतका रूपमा मानिससँगै बस-उठ गर्छन् भन्ने परम्परा र विश्वास पनि समाजमा देखिन्छ । छायाँसँग एकरात कथामा पनि हेडसरको छोरो उमङ्गले खहरे भीरको फेदीमा केही बेर निदाउँदा एकवर्ष पहिले त्यहीँ नै आत्महत्या गरेकी छायाँदेवीसँग घुमेको र एकरात बिताएको घटनालाई यथार्थ भोगेको घटनाकै रूपमा बयान गरिएको छ । उमङ्ग एक दिन तमोर नदीको किनारमा कतै यात्रा गरिरहेको हुन्छ । तमोर नदी लठ्ठीको भरमा तर्दै गर्दा केही तलतिर ‘बचाऊ, बचाऊ’ भन्ने आवाज सुनिन्छ । घोर रात, चकमन्न अँध्यारो कुन केटी होला यसरी चिच्याउने ? उमङ्गलाई खुलदुली हुन्छ । ऊ केटी भए छेउ पुग्छ । उसले ‘म गाविस सचिव अमरनाथकी कान्छी छोरी हुँ छायाँदेवी’ भनेर परिचय दिन्छे र तपाईं हेडसरको कान्छो छोरा उमङ्ग हुनुहुन्छ भन्छे । शहर पुगेर फर्कंदा अबेर भएको र राती भएकोले साथ चाहेको जनाउँछे । उनीहरू तमोरको किनाराबाट उकालो चढ्न थाल्छन् । छायाँको मनमोहक रूप-रङ्ग र मुस्कुराहटले उमङ्ग दङ्ग पर्छ, त्यसै-त्यसै मोहित हुन्छ । ठाडो उकालो रातको बेला दुवै थकित हुन्छन् । छायाँलाई भोक लाग्यो भन्दा पनि उमङ्गले केही खाने कुरा दिन सकेको छैन । यस्तैमा छायाँले पल्लो डाँडामा मेरो साथीको घर छ, त्यहीँ गएर आराम गरौं भन्छे । दुवै त्यतैतर्फ लाग्छन् । भीरमा कसरी घर भनेर उमङ्ग अनौठो मान्छ । यस्तैमा उनीहरू भीरमा स्थित भव्य महलमा पुग्छन् । भित्र बैठक पनि निकै सजाइएको हुन्छ । अरू कोही पनि त्यहाँ देखिदैनन् । छायाँले डाइनिङ टेबुलमा नाना परिकारका खाना ल्याएर सजाउँछे । दुवै बसेर खान्छन् । अन्तमा बियर पनि सँगै खान्छन् । दुवै टाँसिएर एउटै पलङमा सुतेर रात बिताउँछन् । यसरी उमङ्गको एकरात छायाँसँग बितेको हुन्छ । यस्तो स्थिति भोग्दै गरेको बेलामा कसैले घचघचाएर बोलाएको आवाजसँगै उमङ्ग ब्युँझन्छ । ऊ खहरे भीरको फेदीमा खोलाको ढाँडमा सुतेको हुन्छ । उमङ्ग आँखा मिच्दै उठ्छ । हिजो नदीमा भेटेकी महिला, भव्य महल र चौरासी व्यञ्जन केही हुँदैनन् । ऊ गाविस सचिव अमरनाथकी छोरी छायाँ बारे पत्ता लगाउन हिंड्छ । उसको साथी हेमसँग भेट हुन्छ । हेमबाट थाहा हुन्छ “छायाँको शहरकै केटासँग प्रेम भएको तर अमरनाथले भने पल्लो गाउँका श्रीनाथ काकाको छोरासँग विवाहको कुरा छिनेको हुनाले एकवर्ष पूर्व नै खहरेको भीरबाट खसेर मरी ।” यस कुराले र भर्खरै त्यसैसँग कुराकानी र बसउठ गरेको घटनाले उमङ्ग त्रसित हुन्छ । विश्वास र अविश्वासको दोसाँधमा उसको अवस्था विचलित हुन्छ । यसरी भूत-प्रेतको कथालाई यथार्थतुल्य धरातलमा यहाँ प्रस्तुत गरिएको छ ।

“कलिलो मनका यादहरूमा” शीर्षक कथा अतीतको बेदनापूर्ण सम्झनाले अतालिएकी नारीको मातृवात्सल्य झल्काउने संवेदनशील कथा हो । चौध वर्षअगाडि थापाथलीको प्रसुतिगृहमा एउटी कन्याको जन्म हुन्छ । प्रसुतिगृहमा नै आमाछोरी तीन चार घण्टासँगै रहन्छन् । यता सानीमालाई भने कहिले बच्चालाई काख लिऊँ भन्ने तीब्र लालसा हुन्छ । आमा-छोरी सकुशल बाहिर आउँछन् सानीमाले छोरी स्मृतिलाई माया र वात्सल्य भावले काख लिन्छे । घरमा आएपछि पनि सानीमा हरेक हप्ता स्मृतिसँग बस्न र स्मृतिलाई खेलाउन दिदीको घरमा आउने गरेकी छ । समय यसरी नै बित्छन् । यस्तैमा २०५० साल साउन महिनामा आमा बुबाको कुराकानीबाट स्मृतिको मृत्यु भएको जानकारी सानीमालाई हुन्छ । स्मृति दुई वर्षकी हुँदा भाइ जन्मेकोले उता आमाचाहिँलाई भने भुल्ने बाटो हुन्छ । तर सानीमालाई भने स्मृतिको अभाव सधै खड्किरहन्छ । अहिले त्यो भाइ पनि बाह्र वर्षको भइसकेको छ । तर एक्ली सानीमा भने उही बच्ची स्मृतिकै यादमा हराइरहेकी हुन्छे । आमाले चाहिँ लगभग बिर्सिसकेकी हुन्छे । यहाँ शिशु प्रति जन्माउने आमाको भन्दा स्नेह-वात्सल्य सानीमाको बढी देखाएर कतैकाँही यस्तो स्थितिसमेत देखिन सक्छ भन्ने सङ्केत गरिएको छ । शुरूमै माया गर्दै हुर्काइएकी सानी छोरी स्मृतिको दुई वर्षकै अवस्थामा मृत्यु हुनु र त्यस पछिका बाह्र तेह्र वर्षसम्म पनि सानीमालाई त्यस बच्चीको वात्सल्यले सताइरहनुमा केही न केही रहस्य अवश्य लुकेको छ । कथाकारले त्यो पत्ता लगाउने जिम्मा पाठकमाथि नै छोडेको प्रतीत हुन्छ ।

‘मलाई अपाङ्ग बनाए’ कथाले मगन्ते अपाङ्गको दयनीय जीवनलाई मार्मिकताका साथ प्रस्तुत गरेको छ। मङ्सिर महिना, प्यूठानबाट एक जोडी श्रीमान्-श्रीमती शतबीउ छर्नका लागि बसबाट काठमाडौं आउँछन् । बालाचर्तुदशीको अघिल्लो दिन पशुपति कैलासमा राती बत्ती बाल्ने भक्तालुहरूको भीड हुन्छ । चोरीको जगजगी, जाडो याम र कम लुगा ल्याएकाले पनि प्यूठानबाट आएका श्रीमान-श्रीमतीले काँपेर नै रात बिताउनुपर्ने हुन्छ । राती बत्ती बालेर घुम्दै गर्दा एउटा अपाङ्गले म पात्र श्रीमतीको साडीको फेर समात्छ र चिच्याउँछ-“ए शालिनी, शालिनी ….।” देख्दै घीनलाग्दो अपाङ्गलाई पन्छाएर उनीहरू अगाडि बढछन् । एक छेउमा ओत लिन्छन् त्यसैबखत दुई युवतीहरू केटाले जिस्क्याउने र सताउने गरेको भन्दै दौडेर उनीहरूछेउ आश्रय लिन आइपुग्छन् । श्रीमतीचाहीँलाई पशुपतिमा रातीमा बत्ती बाल्दा सबै कुराबाट चनाखो बन्नुपर्छ भनेर आमाले सचेत गराएको सम्झना हुन्छ । पछि त्यही अपाङ्ग र शालिनीबीच चिनजान हुन्छ । अपाङ्गले परिचय दिन्छ म शालिनीकै बालसखा हुँ, सँगै खेल्ने र घुम्ने भनेर । अपाङ्गले गलामा लगाएको साइबाबाको लकेट देखाउँदै त्यो चाहिँ उनै शालिनीले दिएको भनी सम्झाउँछ । श्रीमती शालिनीले पनी चिन्छे र पुराना कुरा सम्झन्छे तर अहिले ऊ दुवै खुट्टा काटिएको, घस्रेर हिंड्ने बिरूप अपाङ्ग बनेको छ । उसको भनाइ अनुसार ऊ स्वयम् डाक्टर सिद्धार्थको छोरा प्रलय हो । शहर पसेको दोस्रो वर्ष बिद्यालयबाट घर फर्कदै गर्दा उसको अपहरण भयो । अपहरणकारीहरूले उसलाई अँध्यारो कोठामा लगेर हात खुट्टा डोरीले बाँधिदिएर केही दिन भोकै राखे, खानसम्म दिएनन् त्यसपछि के गरे उसलाई थाहा भएन । प्रलय होसमा आउँदा दुवै खुट्टा काटिएका थिए । मुहारलाई पनि तेजाब छर्केर कुरूप पारिएको थियो । त्यसपछि उनीहरूले इन्डियाका विभिन्न मठ-मन्दिरमा मगन्ते बनाएर राख्थे र अपाङ्ग प्रलयले दिनभर मागेको पैसा कब्जामा लिई उनीहरूले नै भाग लगाएर लिने गरेका थिए । यो बालाचर्तुदशीमा उनीहरूले अपाङ्गलाई पशुपतिमा ल्याएर माग्न लगाएका थिए । पछि इन्डियामा फर्काइने निश्चितै थियो । अपाङ्ग प्रलयले माग्ने क्रममा मनकामनामा आफ्ना मातापितालाई पनि भेटेको तर उनीहरूलाई पीर हुन्छ भनेर आफ्नो परिचय नदिएको पनि बताउँछ । ती श्रीमान-श्रीमती समक्ष गाउँमा पुगेर पनि मेरो अवस्थामा कतै नभन्न अनुरोध गर्छ र अपाङ्ग रून थाल्छ । शतबीज छरेपछि ती तीर्थालुहरू गौशाला हुदै बसपार्क पुग्छन् र बसमा चढ्छन् । त्यहाँ रेडियोले एकनास अपहरणकै खवर भनिरहेको हुन्छ ।

‘कल्ली’ कथाले नेपाली समाजमा विवाहका लागि पहिले-पहिले चाँदीको कल्ली कति महत्वपूर्ण मानिन्थ्यो तर अहिले इतिहास बन्दै गएको छ भन्ने तथ्यलाई पूर्व स्मृति शैलीमा प्रस्तुत गरेको छ । दराजको सिसाभित्र दुधे चाँदीबाट बनेको काँढे मोटो कल्ली एकजोर सजाएर राखिएको छ। एउटी अधबैसे म पात्र नारीले त्यही कल्ली हेरेर आफ्नो पुर्खौली इतिहास सम्झँदै रहेकी हुन्छे । १९७१ सालमा सात मोहरमा किनिएको एक जोर कल्ली २००१ सालमा विवाहित हुँदा आमाले पहिरेकी थिईन् । अरू ब्यक्तिको विवाहमा पनि दुलही भित्राउन ती कल्ली लगिएको थियो । मुस्किलले मागेर आमाले फिर्ता लिनुपरेको थियो । यस बीच सात सालको परिवर्तन, सत्रसालको पञ्चायती व्यवस्था र ४६ सालको बहुदलीय व्यवस्था हुँदै बैसठ्ठी सालमा राजा ज्ञानेन्द्रले शक्ति हत्याउँदासम्म नेपालमा निकै परिवर्तन भइसकेको हुन्छ तर छोरीको लागि त्यो कल्ली सम्झनाको प्रतीक भएर रहेको छ । आफू छोरा भएर जन्मन नसकेकोमा आमालाई हुने चिन्ता पनि कल्लीले नै बोकेको छ। आमाको मृत्युपछि पन्ध्र वर्षसम्म काठको सन्दुकमा कोराको टालोले बेरेर थन्क्याइएको कल्ली अहिले धेरैपछि मात्र इतिहास भएर दराजमा सजाइएको छ । धुनीबेसीको सखर बोकेर कालीमाटी पुर्‍याई पाएको ज्याला सात मोहोरमा दुई मोहोर थप गरेर कालीमाटी हाकुचाको सुन पसलबाट लगभग ९० वर्ष पहिले किनिएको त्यो कल्लीले करीव एकसय वर्षको इतिहास बोकिरहेको छ। यसरी कल्लीको पृष्ठभूमिमा निम्न मध्यमवर्गीय जीवनको कष्टकर यात्रालाई यस कथाले प्रस्तुत गरेको छ।

‘मृत्युलाई पर्खँदा’ भन्ने कथाले एकजना पक्षाघातले पीडित अन्धा बृद्धको दुःखका दिन बिताउँदै मृत्युलाई पर्खनुपरेको व्यथा प्रस्तुत गरेको छ । असी वर्ष भइसकेका र एक तर्फका हात-खुट्टा नचल्ने वृद्धका दुवै आँखा बन्द भएका छन् । आँखाको ज्योति गुमेको छ । श्रीमती छैनन् र बुहारीले ससुराको स्याहार-सुसार गर्नु परेको छ। म पात्र वृद्धले मृत्युले नै बाण चलाएर हात-खुट्टा नचल्ने भएको सम्झेका हुन्छन् । शिकारी मृत्युकै प्रहारले आँखाको ज्योति गुमेको भन्ने उनको विश्वास छ । आफ्नो बिरामी अशक्त अवस्था बारे बुढाले भन्दै रहन्छन् -“ओछ्यानबाट आफूखुशी उठ्न सक्नु छैन, ओल्लो पल्लो कोल्टो फेर्न सक्नु छैन, खाली अरूको आस, कोही आउला, उठाउला । छोरा आएर उठाइदिन्छ । एकछिन बसेपछि गोडा र कम्मर कटकट खाएर सुत्न बितिहाल्छ । फेरि कतिखेर बुहारी आउली र सुताइदेली, ढोकातिर आँखा तान्यो बस । बल्ल-बल्ल घरको काम सकेर बुहारी आउँछे र भात खुवाउँछे ।” उनलाई दिशा-पिसाव गर्न पनि अरूले कोपरा थापिदिनु पर्छ । तन्ना-डसना फेर्न पर्‍यो भने पनि त्यत्तिकै आपत । ती बृद्धलाई आफ्ना पुराना कुराको सम्झना हुन्छ । तन्नेरी अवस्थामा काइँली, कान्छीसँग कुम जोडेर घुमेको, खैजडी बजाएर भजनमा फनफनी घुमेको, पञ्चैबाजामा उफ्री-उफ्री नाचेको सबै अहिले सपना भएको छ। आफू सानै छँदा ओछ्यान परेका हजुरबुबाको कुरूवा धेरै बस्न नसकेको सम्झना पनि हुन्छ । अहिले आफ्ना नाति-नातिना कोठाको ढोकासम्म पनि आउँदैनन् । यसरी थला परेर वृद्धले दिन गन्दै मृत्युलाई पर्खेका हुन्छन् । त्यसैले उनी भन्छन्- “जीवनमा सबैभन्दा कष्टकर समय मृत्युलाई पर्खदा हुँदो रैछ ।” उनका दृष्टिमा बाबु-आमा बित्दा, श्रीमतीको दाहसंस्कार गर्दा, घरबारी पहिरोले पुरिँदा, छोरीलाई डोली चढाउँदा, जवान छोरालाई खोलाले बगाउँदा र साहुले गोठको भैंसी फुकाउँदा जति गाह्रो र अप्ठ्यारो सकस हुन्छ त्योभन्दा बढी सकस मृत्युलाई पर्खदा हुँदो रहेछ । त्यसैले उनको बुढो शरीरमा एक मुठी प्राण हिरिक्क-हिरिक्क गर्दै मृत्यु पर्खेर अल्झिरहेको छ । र त्यो मृत्युको पर्खाइमा रोगी वृद्धलाई महान् कष्टकर भएको छ । यसरी रोगाएर ओछ्यान परेका बृद्धहरूको बेदनालाई यहाँ निकै मार्मिक रूपमा व्यक्त गरिएको छ । एउटा रोगी व्यक्तिको परिवेशमा जीवनका बाल, युवा र वृद्ध अवस्थाको परिवेश चित्रण गर्ने कथाशिल्पलाई यस कथाले व्यक्त गरेको छ।

सुबिसुधा आचार्यका कथाहरू विषय र प्रस्तुतिका दृष्टिले विविध प्रकृतिका छन् । बिषयगत रूपमा यी कथाहरूले अँगालेका कतिपय विषयहरू हुन्- एकल प्रेम, अनमोल विवाह, दशवर्षो जनयुद्ध, नव आधुनिक प्रेमिकासँग विहे गर्नाको पीडा, कपिलवस्तुको आगलागी काण्ड, बिदेशिएको श्रीमान्लाई धोका दिएर अर्कैसँग बिहे गर्ने यौन आवेग, आफूलाई हेर्न आएको वरले बहिनीलाई रोजी दिँदा हुने दिदीको बेदना, जँड्याहा लोग्नेले गर्दा हुने पारिवारिक दुर्दशा, बिना कसुर थुनिनु पर्दाको पीडा, नपुँसकसँग बिहे हुनाको परिणाम, सन्तान नुहुनुको छटपटी, भूत-प्रेतसँगको सम्पर्क, अपाङ्गता रोगाएर बाँच्नु परेको पीडा आदि । कथ्यका रूपमा आएका विविध पक्षलाई परिबेशबिधान, आख्यानीकरण, चारित्रिक अभिव्यक्ति जस्ता कोणहरूबाट कथाकार सुबिसुधाले रोचकता प्रदान गरेकी छन् । सामान्य कथालाई कार्यकारण भाव प्रस्तुत गर्दै कथानकमा रूपान्तरित गर्ने कौशल सुबिसुधालाई प्राप्त छ र यही कारणले कथाहरू रोचक बनेका छन् । कथाकथनका आ-आफ्ना शैली हुन्छन् । कतै कथाबस्तुलाई कतै चरित्रलाई र कतै परिवेशलाई महत्व दिएर नेपाली कथाहरू रचिएका छन् । सुबिसुधा आचार्यका कथामा परिवेशको प्रधानता पाइन्छ । विश्वासघात कथालाई हेरौं । विषय सामान्य छ, परदेशिएको लोग्नेले पठाएको सम्पत्तिमा पत्नीले बिलासी जीवन बिताउँदै अर्को पुरूषसँगको सहवास र यसरी गरिएको विश्वासघात । तर यही तथ्यमा संबेदनशील पक्षहरूलाई छुँदै कथाकारले रोचक परिवेश सिर्जना गरेकी छन् र कथा आस्वाद्य बनेको छ। कतैकाहि घटनात्तरको विन्यासमा हतार गरिएकोले स्वाभाविकतामा आघात पुगेको प्रतीत हुन्छ । स्थूल कथानक भएको कथामा यो स्थिति रहन्छ । क्षीण कथावस्तुमा आधारित कथाहरूले भने घटनागत स्वाभाविकताको निर्वाह गरेका छन् । यहाँ आएका चरित्रहरू आफैमा पूर्ण छन् र पुष्ट पनि छन् । कथाकारले परिवेशको अङ्कनबाट नै चरित्रमा दीप्ति पैदा गराएकी छन् । द्धन्द्वका आधारमा केही कथामा हल्का द्वन्द्व वा संघर्ष देखिए पनि द्धन्दविधानका दृष्टिले कथाका निमार्ण गर्ने चेष्ट पाइदैन । सुबिसुधाका धेरै जसो कथाहरू स्थूल र सूक्ष्म कथानकको दोसाँधमा सिरि्जएका छन् । कथातन्तु त्यति लामो छैन र क्षीणतम कथानकको प्रकृति पनि पाइँदैन ।

यी कथामा बोलचालको सहज सम्प्रेष्य भाषाको प्रयोग भएको छ । ठाउ-ठाउँ उखान-टुक्काको प्रयोगले भाषामा चमक थपिएको छ। उपमा र दृष्टान दिने शैली आफ्नै प्रकारको छ । नयाँ खालका उपमाको प्रयोग भएको छ । केही छोटा हरफहरू -उनी गुलाफ फक्रिएझैँ हाँसिन् । (नाजुक मन), पोक्चीको उक्साइमा नेपाली कागज पानीले भिजेर फुलेझैँ हुन्छे चम्पाकली । (प्यासी चम्पाकली), बाटाभरी मनका कुरा कसौंडीमा भात छड्किएझैँ छडकन्छ। (विश्वासघात), अन्धकार उम्रेको चपरी पल्टाउन एउटा मैनबत्ती सल्काउँछु । झयालबाट चियाउँदा रात तीर्थ पुगेर आउने हिन्दु नारी जस्तै मुडुलो देखिन्छ । उसको कालो जगल्टा खरबारीमा खर काटेझैँ सिलित्त खौरेको छ मैनबत्तीको प्रकाशले । (रहस्यमय भोगाइ) आदि ।

सरल, स्पष्ट र स्वाभाविक संवादको संयोजन छ । मृत्युलाई पर्खँदा, कल्ली आदि केही कथाहरू भने घटनाको शृङ्खालित बिन्यास भए पनि निबन्धात्मक प्रकृतिका छन् । तिनमा घटनाको भन्दा विवरणको चाप बढी छ । अधिकांश कथाहरूमा कथाका तत्वहरू समाहित हुन्छन् आदर्शका अपेक्षा यथार्थ र वस्तुतथ्यको उद्घाटन गर्ने चासो कथाकार सुबिसुधामा पाइन्छ ।

सुबिसुधा आचार्य आख्यानमा नयाँ शैली लिएर देखापरेकी नारी कथाकार हुन् । यिनमा घटना टिपेर अनुकूल परिवेशले सिँगार्ने खुबी छ । त्यही प्रवृत्तिले गर्दा सुबिसुधा नेपाली साहित्यमा कथाकारका रूपमा चर्चामा आएकी छन् । यिनको कलम तिखो छ र समाजका विकृति र विसङ्गति प्रति प्रहार गर्न सक्षम पनि छ । कथालेखन अगाडि बढ्दै जाओस् । आउँदा दिनमा अरू अब्बल कथाहरू जन्मदै जाऊन्, मेरो हार्दिक शुभेच्छा ।
-ज्ञानेश्वर, काठमाडौं