विजयकुमारलाई मदन पुरस्कार अङ्गुरबाबालाई जगदम्बाश्री

विजयकुमारलाई मदन पुरस्कार अङ्गुरबाबालाई जगदम्बाश्री


मदन पुरस्कार गुठीले ‘खुसी’ पुस्तकका लागि चर्चित पत्रकार एवम् लेखक विजयकुमार पाण्डेलाई मदन पुरस्कारबाट पुरस्कृत गरेको छ । यस्तै शिक्षा क्षेत्रमा योगदान पुर्‍याउनुभएका अङ्गुरबाबा जोशीलाई सो गुठीले जगदम्बाश्री पुरस्कारबाट सम्मान गरेको छ । स्वर्गीय जनरल मदनशमशेरको सम्झनामा वि.सं. २०१२ देखि मदन पुरस्कार र रानी जगदम्बाको स्मृतिमा जगदम्बाश्री पुरस्कार ०४५ सालदेखि प्रदान गरिँदै आएको छ । सो पुरस्कारको राशि दुई–दुई लाख रहेको छ । पुरस्कार ग्रहण गर्दै जोशीले आफूले प्राप्त गर्ने गरेको कुनै पनि सम्मान रकमलाई समाजसेवामा खर्च गर्दै आइरहेको खुलासा गर्दै अहिले प्राप्त पुरस्कार रकम दुई लाखमध्ये एक लाख नेपालको इतिहासमा पहिलोपटक स्थापना भएको गार्गी कन्या गुरुकूल र अर्को एक लाख अन्य समाजसेवामा खर्च गर्ने जानकारी दिनुभयो भने अर्का सम्मानित व्यक्तित्व पाण्डेले पुरस्कार प्राप्त गर्ने उद्देश्यले आफूले पुस्तक नलेखेको भए पनि पुस्तकले धेरैलाई प्रेरणा दिएकाबारे थाहा पाउँदा अत्यन्त खुसी लागेको बताउनुभयो ।
23 Vijaya
यसैबीच एनेकपा (माओवादी)ले सञ्चालन गरेको जनयुद्धको विश्लेषण गरी विष्णु भण्डारीद्वारा लेखिएको ‘पहेँलो घाम’ नामक उपन्यास बजारमा आएको छ । सो पुस्तकमा १० वर्ष जनयुद्धका क्रममा माओवादी योद्धाले भोग्नुपरेको यथार्थ तस्बिर उतारिएको छ । शिवा नामक महिला छापामारलाई नायिका बनाई तयार गरिएको उपन्यासमा महिला कमजोर छैनन् र उनीहरूले ऐतिहासिक क्रान्ति पनि हाँक्न सक्छन् भन्ने चर्चा गर्न खोजिएको छ । सो युद्धपछि १८ वर्ष उमेरका माओवादी योद्धा रञ्जु तामाङ अयोग्य छापामार घोषित भएकी थिइन् भने उनका श्रीमान् योग्य भएकाले राज्यबाट रु. पाँच लाख प्राप्त गरेका थिए । राज्यबाट प्राप्त रकम लिई टेम्पो व्यवसाय गरेका तामाङदम्पतीको व्यवसाय असफल भएपछि श्रीमान् रोजगारीका लागि मलेसिया गएका र त्यहाँ उनको निधन भएको थियो । त्यस्तै, रामेछापका माओवादी छापामार सुष्माको टाउको र ढाडमा अझै गोलीको छर्रा रहेको छ भने सागर लिम्बू, कृष्णप्रसाद दङ्गाल र राजु पोखरेलको जीवन कष्टकर रहनुका साथै अर्का एक माओवादी योद्धाले विवाह गरेको ४० दिनमा जनयुद्धका क्रममा श्रीमान् गुमाएको कथा उपन्यासमा उल्लेख छ ।