अनेसासको प्रथम मासिक साहित्यिक जमघट

अनेसासको प्रथम मासिक साहित्यिक जमघट


लण्डन । अनेसास, बेलायतको साहित्यिक जमघट कार्यक्रम हरेक महिनाको पहिलो सप्ताह गरिने निर्णयअनुरुप गत शनिबार-मार्च ५ तारिकका दिन, थेम्स एकाडेमीको सभाहलमा पहिलो साहित्यिक कार्यक्रम सम्पन्न भयो। उक्त जमघटमा सन्ध्या नायिका कथाकार श्रीमती जयालक्ष्मी राईले आफ्ना प्रकाशोन्मुख कथा संग्रह ‘लण्डनका तरंगहरु’ का चारवटा कथाहरु पढेर सुनाईन् । कथाकारबाट पढिएका कथाहरुका विभिन्न पक्षमा विभिन्न श्रोताहरुबाट सोधिएका प्रश्नहरुको जवाफ कथाकारले नै ब्याख्या गर्दै दिएकिथिईन् ।
समालोचक डा. रुपक श्रेष्ठले ‘बेकर स्ट्रिटका दुलाई आँखा’ र ‘रुप’ को समीक्षा गर्दै उक्त कथाहरु प्रवासीहरुको लण्डन जीवनको भोगाइहरुलाई यथार्थ धरातलमा राखेर लेखिएकोले कथाहरुले सर्बिकताबादलाई आत्मसात गर्छन् भने समय र शक्तिको टकरावको बीचमा प्रष्फुटन भएको सौन्दर्यतालाई कथाकारले कथामा जीबन्त उतार्न सफल छन् भने त्यस्तैगरी ‘रुप’ कथामा कथाकार राई नारी मनोबिज्ञानलाई रुक्साना पात्रमार्फत चित्रण गर्न पूर्ण सक्षम छन् भने । डा. श्रेष्ठले कथाकार राईको प्रकाशोन्मुख कथासंग्रह पूर्णतः डायस्पोराका बिषयबस्तुमाथि आधारित भएकोले उक्त संग्रह नेपालमा रहेका पाठकहरुलाई नयाँ प्रस्तुति हुनेछ भने डायस्पोरामा रहेका नेपालीहरुलाई आफैले देखे-भोगेको कथाबस्तु हुनाले अझ मन छुन सक्षम छ, समग्रमा कथाहरु हरेक दृष्टिकोणबाट उत्कृष्ट छन् भन्दै कथाकार र प्रकाशोन्मुख कृतिलाई शुभकामना दिए ।
त्यस्तैगरी अर्का समालोचक गोपीकृष्ण प्रसाईंले ‘प्लेनकी केटी र टेक्ला’ तथा ‘क्रिसमस डे’ कथाहरुमाथि समीक्षा गरे। प्रसाईंले ‘प्लेनकी केटी र टेक्ला’ भिन्न प्रबासमा रहेका तर एकै परिवेशका दुई महिलाहरुको भोगाइ र सोंचाइहरु, एउटा नारीको दुखाइमा दुखेको अर्को नारीको मनोभावलाई जीबन्त उतारिएको छ भने ‘क्रिसमस-डे’ एउटी नारीभित्र रहेको भाबुकता, माया, ममत्व र मातृत्वले ओतप्रोत भएको नारी प्रधान कथाहरु हुन् यसैले कथाकार जयालक्ष्मी राई आफुलाई नारीवादी कथाकारको रुपमा उभ्याउन सफल रहेकी छिन् भने । यस्तो गहन बिषयबस्तुहरु समेटिएका कथाहरु प्रबासबाट नेपाली साहित्यलाई उपहार दिने कथाकारको कथाकारीतामा उत्तरोत्तर प्रगति होस् र प्रकाशोन्मुख संग्रह छिटै दुनियाँले पढ्ने सौभाग्य पाउन भने ।
उक्त कार्यक्रममा बरिष्ठ कबि ईश्वर मानन्धर, तथा लारा, गोपी प्रसाईं, डा। रुपक श्रेष्ठ, डी आर अधिकारी तथा रुबी श्रेष्ठले आ-आफ्ना कबिता, गीत, गजल र लेख वाचन गरेकाथिए । कार्यक्रममा स्व। साहित्यकार डायमण्ड शमशेर राणा तथा पूर्ब प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको निधनप्रति शोक ब्यक्त गर्दै १ मिनेट मौन धारण गरिएको थियो भने स्वर्गीय व्यक्तित्वहरुको बारेमा संक्षिप्त चर्चा बरिष्ठ कबि ईश्वर मानन्धर र डी आर अधिकारीले गरेकाथिए । दिनको तीन बजे शुरु भएको कार्यक्रम साँझ ७ बजे सकिएको थियो ।-रुपक