जापानको परमाणु ऊर्जा प्लान्टमा विस्फोट

जापानको परमाणु ऊर्जा प्लान्टमा विस्फोट


हिजो शुक्रबार जापानमा आएको महाभूकम्पले फुकुसिमामा रहेको एउटा परमाणु ऊर्जा प्लान्टमा चिस्याउने संयन्त्र असफल भएपछि आज भयानक विस्फोट भएको छ। २० किलोमिटर वरपरका बासिन्दाहरुलाई विस्फोट भएपछि त्यहाँबाट सुरक्षित स्थलतर्फ सार्न निर्देशन दिइएको छ। सो प्लान्टबाट धुँवाको ठूलो मुस्लो उठेको देखिएको छ। यसअघि १० किलोमिटर क्षेत्रफलका बासिन्दालाई मात्र सार्न निर्देशन दिइएको थियो।

यसैबीच जापानी सरकारका उच्च अधिकारीले परमाणु ऊर्जा प्लान्टमा भएको विस्फोटबाट बाहिर विकिरण चुहिएको पुष्टि गरेका छन्। यसबाट हुनसक्ने क्षतिको बारेमा केही बताइएको छैन। जापानको एनएचके टेलिभिजनले विकिरणबाट बच्न अपनाउनु पर्ने सुरक्षा व्यवस्थासम्बन्धी सामाग्री प्रसार गरिरहेको बीबीसीले जनाएको छ।

त्यहाँ कार्यरत कयौँ कामदारहरु घाइते भएको बताइए पनि क्षतिको यकिन विवरण आउन सकेको छैन। जापानी अधिकारीहरुले प्लान्टको एउटा रियाक्टरबाट रेडियोएक्टिभ सामाग्री बाहिर भेटिएपछि त्यहाँका सबै थोक पग्लन सक्ने चिन्ता व्यक्त गरेका छन्।

शुक्रबारको ८.९ रेक्टर स्केलको भूकम्प र त्यसपछिको सुनामीबाट जापानभरमा एक हजार जनाको ज्यान गएको एनएचकेले बताएको छ।

जापानी प्रधानमन्त्री नाओटो कानले फुकुसिमा १ र २ ऊर्जा प्लान्टमा संकटकालको घोषणा गरेका छन्। त्यहाँका इञ्जिनियरहरु स्टेसनको एउटा रियाक्टरका सबैथोक पग्लेको छ कि छैन थाहा पाउन कोशिश गरिरहेका छन्। – श्रोत: नागरिकन्यूज