मन्त्री पुनले केन्यामा भेटे चिनियाँ कृषि उपमन्त्री

मन्त्री पुनले केन्यामा भेटे चिनियाँ कृषि उपमन्त्री


punKtm-China (1)
काठमाडौं । विश्व व्यापार सङ्ठनको दशौँ मन्त्रीस्तरीय सम्मेलनका क्रममा यतिबेला केन्या यात्रामा रहेका वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनले सोही कार्यक्रममा सहभागी हुन पुगेका चीनका कृषि उपमन्त्री क्यू डोङ्ग्युसँग भेट गरेका छन् । मन्त्री पुन र चिनीया मन्त्रीबीच दुई देशबीचको व्यापार सहजीकरणका विषयमा छलफल भएको बुझिएको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएअनुसार मन्त्रीद्वयबीच दुई मुलुकबीच व्यापार तथा पारवहन सम्बन्ध थप विस्तार गर्ने, कृषिजन्य उत्पादनलाई सहज रूपमा चीन तथा चीनको स्वशासित प्रदेश तिब्बतमा निर्यात गर्न सहज वातावरण बनाउनेलगायत पारस्परिक हितका विषयमा विषयमा छलफल भएको हो । सो अवसरमा मन्त्री पुनले दुई मुलुकबीच व्यापार प्रवद्र्धन गर्न तातोपानीलगायत सबै प्रमुख नाकालाई सञ्चालनमा ल्याउन आग्रहगरेका थिए । पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तुको आपूर्तिमा भोग्नु परिरहेको समस्यालाई दृष्टिगत गरी चीनबाट व्यापारिक तवरमा पेट्रोलियम पदार्थलगायत आवश्यक वस्तुको आपूर्ति सहज बनाउन द्विपक्षीय पहल गर्ने विषयमा समेत छलफल भएको बताइन्छ ।

सो अवसरमा चिनियाँ कृषि उपमन्त्री क्यूले नेपाल चीनको नजिकको असल छिमेकी भएको कुरालाई दोहो¥याउँदै दुई देशबीचको सम्बन्धलाई सदैव प्राथमिकतामा राखी आवश्यक सहयोग गर्न चीन सरकार तयार रहेको बताएका थिए । उनले द्विपक्षीय सम्बन्धलाई थप विस्तार गर्न, नेपालसँगका थप नाका खोल्न, विद्यमान नाकाको स्तरोन्नति गर्न तथा नेपालसँगको आयात–निर्यात व्यापारलाई थप सहज बनाउन चीन सरकारको तर्फबाट आवश्यक सहयोग विस्तार गर्ने कुरामा आफ्नोतर्फबाट सक्दो पहल गर्ने विश्वास दिलाए ।