जानकी मन्दिर घटनाको छानबिन सुरु

जानकी मन्दिर घटनाको छानबिन सुरु


जनकपुरको जानकी मन्दिरमा
काठमाडौं । जनकपुरको जानकी मन्दिरमा गत बुधबार विवाह पञ्चमीको दिन भएको आक्रमण तथा तोडफोड घटनाको छानबिन गर्न गठित छानबिन समितिले शनिबारदेखि आफ्नो काम सुरु गरेको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका धनुषा संयोजक शेषनारायण यादवको संयोजकत्वमा रहेको सो समितिले शनिबार नै जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवलाई भेटी सो घटनाबारे जानकारी लिएको छ । समितिमा तमलोपा धनुषाका संयोजक परेश्वर साह, सद्भावनाका संयोजक सञ्जय सिंह, तमसपाका संयोजक रुपनारायण मण्डल, मुस्लिम गठबन्धनका मोहम्मद इसरायल अहम्मद, पत्रकार राजेश कर्ण, युवा सङ्घर्ष समितिका धर्मेन्द्र साह, मासका सरोज मिश्र तथा लवकुमार झा छन् । समितिले सात दिनभित्र घटनाबारे छानविन गरी प्रतिवेदन सार्वजनिक गर्नेछ ।

गत बुधबार विवाह पञ्चमीको दिन राष्ट्रपति विद्यादेवी भण्डारी जानकी मन्दिरमा पूजा अर्चना गरिसकेपछि आक्रमणकारीले आक्रमण गरेका थिए । प्रदर्शनकारीहरूले राष्ट्रपति भण्डारीलाई अपशब्द प्रयोग गरी मानमद्र्धनको प्रयास समेत गरेका थिए ।

यसैबीच जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले शनिबार पत्रकार सम्मेलन गरी विगत लामो समयदेखि धार्मिक आस्थाको रुपमा रहेको जानकी मन्दिरमाथि केही तत्वले आक्रमणको प्रयास गर्दै आइरहेको र सोही क्रममा विवाह पञ्चमीको दिन समेत आक्रमण गरेको बताएका छन् । उनले आक्रमणकारीको पहिचान भइसकेको र उनीहरूको नाम चाँडै सार्वजनिक गर्ने बताउँदै जानकी प्रहरी चौकी नजिकबाट समेत भगवानको डोलामा ढुङ्गा हानेकाले डोलाको बुज्र भत्किएको जानकारी दिए ।