दीपाको रहश्यमयी मृत्यु

दीपाको रहश्यमयी मृत्यु


काठमाडौं । गत साउन महिनामा झापा भद्रपुरका दिपेश साहसँग अन्तरजातीय विवाह गरेकी बिर्तामोड बुट्टाबारीकी दीपा नामले चिनिने कमला राजवंशीलाई शनिबार ओछ्यानमै मृत अवस्थामा प्रहरीले फेला पारेको छ । भद्रपुर–५ मा अन्तरजातीय बिहे भएको पाँच महिना नबित्दै दीपाको रहस्यमय मृत्यु भएको हो । दीपाले झुन्डिएर आत्महत्या गरेको भन्दै मृतकका सासू–ससुराले प्रहरीमा खबर गरेका थिए । प्रहरी घटनास्थल पुग्दा दीपाको शव ओछ्यानमा सुताएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
suicide-
तर, मृतकका माइती पक्षले दीपाको हत्या भएको दाबी गरेको छ । दीपालाई मृत अवस्थामा भेटिएको खबर पाएको थाहा पाएपछि माइतबाट मृतकका बुबाआमा आएका थिए । दीपाका सासू–ससुरालाई पक्राउ नगरेसम्म मृतकको शव परीक्षण गर्न नदिने अडान गरेपछि अनुसन्धानका लागि भन्दै प्रहरीले सासू–ससुरालाई नियन्त्रणमा लिएको छ । दीपाका श्रीमान् दिपेश साह भने शनिबार बिहानैदेखि सम्पर्कविहीन रहेका थिए । बाबुआमालाई प्रहरी नियन्त्रणमा लिएपछि दीपाका श्रीमान् दिपेशले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए ।

घटनास्थलमा झुन्डिएको कुनै प्रमाण नभेटिनु, ज्वाइँ फरार हुनु, कोठामा झुन्डिने ठाउँ नदेखिनुजस्ता घटनाले पनि दीपाको आत्महत्या नभई हत्या नै भएको माइती पक्षको दाबी छ भने प्रहरी कार्यालय झापाका डिएसपी भीमबहादुर दाहालले चाहिँ घटनास्थलबाट मृतकले लेखेको ‘सुसाइट नोट’ भेटिएको जनाएका छन् । सुसाइट नोटमा लेखिएको अक्षर दीपाको हो वा होइन भनी अक्षरको ल्याबटेस्ट गरिने उनले बताए ।