जापानको परमाणु प्लान्टमा दोश्रो विस्फोट

जापानको परमाणु प्लान्टमा दोश्रो विस्फोट


भूकम्पप्रभावित जापानको फुकुसिमा दाइची परमाणु ऊर्जा प्लान्टमा आज बिहान अर्को विस्फोट भएको छ। विस्फोटबाट ३ जना घाइते भएको र ७ जना बेपत्ता रहेको एपीले जनाएको छ।

सरकारका प्रवक्ताले हाइड्रोजनका कारण विस्फोट भएको र त्यसबाट पर्खाल भत्किए पनि विकिरण फैलने गरी मुख्य स्थान विस्फोट नभएको बताएका छन्। यो विस्फोटबाट रेडियोएक्टिभिटी धेरै चुहिने संभावना धेरै कम रहेकोमा सरकारले आश्वस्त पारेको छ। यद्यपि विस्तृत विवरण आउन बाँकी छ।

सो प्लान्टको ३ नम्बरको रियाक्टरमा आज बिहान विस्फोट भएको हो। परमाणु प्लान्ट नजिकै बस्ने हजारौँ बासिन्दालाई उद्धारकर्मीहरुले सुरक्षित स्थानमा सारिसकेका छन्। यसअघि भएको विस्फोटबाट निस्किएको विकिरणको प्रभाव परेका कम्तिमा २२ जनालाई उपचार गरिएको छ।

यसैबीच क्योदो समाचार एजेन्सीले मियागी राज्यका दुई ठाउँमा झण्डै २ हजार शव भेटिएको समाचार दिएको छ। ओजिकावा प्रायद्विपमा एक हजार मिनामिसानकिरुमा अर्को एक हजार शव भेटिएको क्योदोले लेखेको छ।