चीनबाट ल्याउन नसक्नेले भारतलाई किन चिढ्याउने ?

चीनबाट ल्याउन नसक्नेले भारतलाई किन चिढ्याउने ?


जगदिश नरसिंह

:: जगदीश्वरनरसिंह केसी (सांसद एवम् सभापति, नुवाकोट कांग्रेस) ::

० नेपालको पछिल्लो राजनीतिलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
– मुलुक यतिखेर गम्भीर सङ्कटग्रस्त अवस्थामा छ । यो सङ्कटको समाधान गर्ने दायित्व ठूला दलहरूको हो । सरकारमा नरहँदा पनि नेपाली कांग्रेस अझै जिम्मेवार ढङ्गले लाग्नुपर्छ । मधेस आन्दोलनका कारण मुलुकवासीले अत्यन्तै सङ्कटपूर्ण अवस्थामा आफ्नो जीविका चलाइरहनुभएको छ । अघोषित नाकाबन्दी हटाउन सरकारले जुन किसिमको कूटनीतिक प्रयास गर्नुपर्ने थियो त्यसमा सरकार पूरापूर अक्षम र असफल सावित भएको छ । एक देशबाट अर्को देशलाई गर्ने सम्मान र व्यवहार जसरी प्रगाढ हुनुपर्ने थियो हाम्रो सरकार त्यो ढङ्गले प्रस्तुत हुन सकेको छैन । अहिले सरकारमा भएका ६ जना उपप्रधानमन्त्रीमध्ये चारजना उपप्रधानमन्त्री भारत सरकारका खिलाफमा कुन शब्दकोशबाट झिकेर कस्तो गाली गर्न सकिन्छ भनेर समय खर्चिरहेका छन् । सरकारमा बस्नेहरूले गाली–गलौज गरेर होइन मर्यादित किसिमले समस्या समाधान गर्नुपर्ने थियो, त्यसो नगरेर एकले अर्कासँग प्रतिस्पर्धा गर्दै गाली–गलौजमा उत्रिएका कारण जनताको चुलोसम्म बल्न नसकेको अवस्था छ ।

० मुलुकलाई यो अवस्थामा पुर्‍याउनेहरू औंल्याउँनुपर्दा कसको बढी दोष देख्नुहुन्छ ?
– मुलुकका ठूला–ठूला सङ्कट समाधानको नेतृत्व कांग्रेसले गर्ने गरेको इतिहास सबैसामु छर्लङ्ग छ । संविधान निर्माण कार्यले पनि कांग्रेसको नेतृत्व नलिँदासम्म हुन सकेन । कम्युनिस्ट पार्टीबाट चारजना प्रधानमन्त्री हुँदासमेत अघिल्लो संविधानसभाले जनतालाई संविधान दिन सकेन । नेपाली कांग्रेसले दोस्रो संविधानसभाबाट जब नेतृत्व लियो त्यसपछि बल्ल संविधान निर्माण भयो । निर्माण भएको संविधान अपरिवर्तनीय संविधान होइन भन्ने थाहा हुँदाहुँदा पनि अड्को थाप्ने दलहरू र समस्या समाधानका लागि संविधान संशोधन गर्नुपर्छ भनेर कांग्रेस नेतृत्वको सरकारले सदनमा दर्ता गराएको संशोधन प्रस्तावको विरोध गर्नेहरू यो स्थिति ल्याउनमा बढी दोषी छन् भन्ने मेरो ठहर हो ।

० संविधान निर्माण हुँदाका दिनसम्म जनताका नजरमा वाहीवाही भएको कांग्रेस भद्र सहमति तोडेर प्रधानमन्त्रीमा उम्मेदवारी दिएपछि पदलोपुप र राष्ट्रघाती भयो भन्नेहरूलाई के भन्नुहुन्छ ?

– नेपालको इतिहासमा नेपाली कांग्रेसले जहिले पनि अभिभावकीय भूमिका निर्वाह गर्दै आएको कुरा कसैले छिपाउन खोजे पनि छिप्न सक्दैन । अभिभावकले छोरा, नाति, पनाती वा आफ्ना परिवारलाई गाली गर्दै हिँड्दैन । न त उसले समाज र छिमेकीलाई नै गर्छ । नेपाली जनताले पनि अहिले त्यो कुरा बुझिरहेका छन् । भारतलाई सन्तोसराप गरेर निकास हुँदोरहेनछ । प्रचण्ड र केसीले जसरी गैरजिम्मेवारी तरिकाले भारतलाई सत्तोसराप गरे उनीहरूले गरेको गलत कार्यको सजाय जनताले पाइरहेका छन् । भारतलाई गाली गरिरहँदा सरकारले अर्को विकल्प खोज्न सक्नुपथ्र्यो नि, होइन र ? इन्धनको कालोबजारीलाई प्रश्रय दिने काम कोबाट भइरहेको छ तपाईं आफँै भन्नुस् त ? हामी त सरकारमा नभएर पनि जनताको समस्याप्रति चिन्तित भएर मधेसी दलसँग निरन्तर सार्थक वार्ता गरिरहेका छौँ । समस्या समाधान गर्न एमाले–माओवादीले गरेको अपमानलाई पैतालाले च्यापेर लागिपर्ने कांग्रेस राष्ट्रघाती, देश र जनतालाई सङ्कटको भुमरीमा फसाएर राज गर्ने कम्युनिस्ट र राजावादीहरूचहिँ राष्ट्रवादी ?

० नाकाबन्दी त कांग्रेस सरकारमा रहँदै लागेको होइन र ?

– भारतको भित्री केही इच्छा र केही समयपछि घोषणा गर्न गरेको अनुरोधको हामी सबैले बेवास्ता गर्दै आफ्नो संविधान आफँै बनायौँ र घोषणा पनि गर्‍यौँ । यो ध्रुवसत्य कुरा हो । हाम्रो नेतृत्वमा भएको सरकारले नाकाबन्दीको समस्यालाई समाधान गर्न अग्रसर भइरहेका बेला कांग्रेसलाई निषेध गर्दै कम्युनिस्ट र राजावादीहरूको रातारात एकता भयो । चीनबाट दैनिक उपभोग्य वस्तु पनि ल्याउन नसक्ने भारतलाई सत्तोसराप गरेर सस्तो लोकप्रियता हासिल गर्ने सरकारभित्र बसेका प्रधानमन्त्री र सदस्यबीच प्रतिस्पर्धा छ त्यसले जनतालाई महँगीको चपेटामा पार्ने कामबाहेक अरू केही होइन । आयल निगमले ग्यास–तेल दिन सकेको छैन, तर कालाबजारियाहरूले प्रशस्त डिजेल ल्याइरहेका छन् भने केही मात्रामा ग्यास पनि ल्याएका छन् । यस्ता गलत क्रियाकलापको दोषी सरकार नभएर अरू को हुने ? सरकार जिम्मेवार ढङ्गले प्रस्तुत हुँदै सम्बन्धित पक्षसँग अविलम्ब वार्ता गर्नुपर्दछ ।

० यसको मतलब सरकार भारतसँग लत्रिनुपथ्र्यो भन्ने हो ?
– मेरो आसय त्यस्तो होइन । हामीले कसैसँग सहयोग लिनुपर्छ भन्ने मर्यादित र जिम्मेवार त हुनुपर्‍यो । विशाल भारतका अगाडि हामीले जोरी खोजेर होइन कूटनीतिक पहलबाट समाधानको बाटो खोजिनुपर्छ भन्ने हो । भारतका नाका सहज ढङ्गले नखुल्दासम्म जनताका समस्या सहज पूरा हुन सक्दैनन् भन्ने थाहा हुँदाहुँदै जसरी सरकार विद्यार्थी नेताझैँ गरी चर्को गाली–गलौजमा उत्रिएको छ प्रमुख समस्या त्यही हो भारत सरकारले हामीसम्म किन असहमति गरिरहेको छ, मधेसकेन्द्रित दलले किन गर्दै छन् । त्यो कुरा जिम्मेवार ढङ्गले वार्ताद्वारा खोजिनुपर्छ भन्न खोजिएको हो ।

० प्रधानमन्त्री ओली, माओवादी अध्यक्ष प्रचण्ड र सरकारमा भएका केही मन्त्रीले त राष्ट्रियताका लागि यो अन्तिम लडाइँ भनिरहेका छन्, तपाईंचाहि के भन्नुहुन्छ ?
– केपी ओलीका टुक्का, चित्रबहादुर केसीका कथा, कमल थापाका झुटा आदर्श र प्रचण्डका धम्कीले देश चल्दैन । टुक्का र कथा हाल्दैमा राष्ट्रियता बलियो हुने भन्ने कुरा हास्यास्पद हो । आफ्ना कार्यकर्तालाई कालाबजारिया गराउन छुट दिएर रमिता हेर्दैमा पनि राष्ट्रियता बलियो हुँदैन । राष्ट्रियताका कुरा भनेजस्तै हो । हामी प्रमाण साथ भन्छौँ । नेपालको प्रधानमन्त्री बीपी कोइराला रहनुहुँदा भारतको प्रधानमन्त्री पण्डित नेहरुले हाम्रो सुरक्षा क्षेत्र हिमाल हो भन्दा तत्कालीन प्रधानमन्त्री बीपीले त्यसको प्रतिवाद गर्नुभयो र भारत सरकारले वक्तव्य नै जारी गरेर आफ्नो भनाइलाई सुधार गरी फिर्ता लिएको थियो । बीपी कोइरालाले भारतसँग राष्ट्रियताको लडाइँ लड्दा अहिले आफूलाई राष्ट्रवादी भन्नेहरूको दल र स्वयम् उनीहरू आमाको गर्भमासमेत थिएनन् ।

० उसो भए भारतीय नाकाबन्दी प्रचण्ड–केपीको गैरजिम्मेवारी बोलीबाट भएको हो होइन त ?

– नेपालको सरकारमा सम्मिलित व्यक्ति जाँदा भारतले प्रस्टसँग भनेको छ– तिमीहरू आफ्नो समस्या सुल्झाऊ, बाटोको अवरोध हटाऊ हामी एक मिनेट रोक्दैनौँ भनेर । यो कुरा कमल थापाजीले सदनलाई जानकारीसमेत गराउनुभएको छ । मधेस समस्या र आन्दोलनरत दलसँग सार्थक वार्ता गरी जायज माग पूरा गर्नपट्टि सरकार लागिपर्ने हो भने समस्या समाधान हुन्छ । हामीले हाम्रो समस्या समाधान गरिसकेपछि पनि भारतले नाकाबन्दी लगायो भने त्यसपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरण गर्नुपर्छ । नेपालको भूमिमा औषधि रोक्ने, एक्बुलेन्स जलाउने जुन हर्कत भएका छन् त्यसलाई रोक्न सरकार जिम्मेवार भएर वार्ता गर्नुपर्छ ।

० विगतमा भारतबाट विभिन्न सुविधा लिएका व्यक्तिहरू नै अहिले चर्को भारतविरोधी भएका छन् भन्ने सुनिन्छ, के बुझ्नुभएको छ ?
– हेर्नुस्, नक्कली जोगीले बढ्ता खरानी घस्छ भनेझैँ सरकारमा अथवा बाहिर भएका केही व्यक्ति तपार्इंले भनेजस्तै हुन् कि भन्ने मलाई पनि लाग्छ । म ठ्याक्कै नाम लिन त सक्दिनँ, तर नेपाली सञ्चारजगत्ले त्यसरी भारतको रासन खाएर नेपाली आसन जमाएका छन् भन्ने पर्दाफास गरिदिन आग्रह गर्दछ ।

० मुलुकको राजनीतिमा यतिखेर कांग्रेसको भूमिका शून्यसरह भएको हो ?
– यो तपार्इंको आरोप मात्र हो । सरकार बरु मुलुकको समस्या समाधानका लागि शून्य भूमिकामा छ । कांग्रेस निरन्तर आन्दोलनरत दलहरूसँग एकपक्षीय र बहुपक्षीय वार्तामा सक्रिय रहेको छ । हाम्रो नेतृत्व अलि कमजोर छ, त्यो सत्य हो । नेतृत्व सशक्त र बलियो भएको भए यसलाई अझ व्यवस्थित ढङ्गले अगाडि बढेर समाधान हुन पनि सक्थ्यो होला । नेतृत्व फितलै भए पनि क्षमताअनुसार काम गरिरहेका छन्, भूमिकाशून्यचाहिँ होइन ।

० बिना हराएको मृगजस्तै भएको छ कांग्रेस, होइन त ?
– मियो दरिलो भयो भने सबै कुरा अगाडि बढेको हुन्थ्यो, हाम्रो मियो कमजोर भएकाले कताकता तपार्इंले भनेजस्तो भएको पनि छ ।

० त्यसो भए कांग्रेसलाई बलिया र सक्षम कार्यकर्ताको निरीह र अक्षम नेताको पार्टी भन्दा हुन्छ ?
– कार्यकर्ता बलिया छन्, नेता निरीह छन् त्यो स्वाभाविक हो । निर्णायक ठाउँमा तिनै नेता छन्, दुर्भाग्य यही भयो । उनीहरूभन्दा सक्षम नेता–कार्यकर्ता हुँदाहुँदै पनि उनीहरूले गरेको निर्णय पार्टीको निर्णय भन्दै मान्न बाध्य भइन्छ ।

० तपाईंहरूजस्ता युवा नेताहरू भोलि पदीय दायित्वबाट नेताले बढारिदिन्छन् भनेर समर्थन गरेर बस्नुहुन्छ, होइन त ?
– म नुवाकोटको तेस्रो कालको सभापति हुुँ । मलाई यो पद नेताहरूले नदिएर जिल्लाका भाइसाथीले दिएका हुन् । नेताले हामीलाई होइन, बरु आफू अप्ठ्यारोमा परेर पनि हामीले नेतालाई साथ दिएका छौँ । एकथरी नेतालाई सहयोग गर्दा अर्काथरी नेताको आँखाको तारो बनेर पनि सहयोग गर्दै आएका हौँ । नेताहरूले हामीलाई बढार्ने कुनै हैसियत राख्छन् जस्तो मलाई लाग्दैन ।

० प्रसङ्ग बदलौँ, कांग्रेसको महाधिवेशन मुखमै आइसक्यो । कार्यकर्ताले चाडका रूपमा लिएको महाधिवेशनलाई नेताले गाईजात्रा देखाउन थाले भनिन्छ नि, के हो ?
– यो महाधिवेशनले कांग्रेसलाई जीवन्तता दिँदै छ । चार वर्षभित्र सकिने महाधिवेशन अर्को एक वर्ष थप गर्दा पनि हुन सकेन । यो हुनु भनेको नेतृत्वको नालायकीपन हो । नेतृत्व अक्षम र नालायकी भएकै कारण महाधिवेशन समयमा हुन नसकेको हो । नयाँ संविधानले ६ महिना थप्ने व्यवस्था गरिदिएकोले हामी बल्ल तातेका छौँ, यदि त्यो व्यवस्था हुन नसकेको भए ऐतिहासिक पार्टी अवैधानिक हुन सक्थ्यो । यो हुनु नेताकै नालायकीपनका कारण हो । संविधानले सीमा नतोकेको भए नेतृत्वले अझै कुर्सीमा टाँसिरहने काम गथ्र्यो । अब महाधिवेशन कसैले रोक्न सक्दैन । यो महाधिवेशनले कार्यकर्ताको भावना बुझ्ने सक्षम नेतृत्वको चयन गर्नेछ ।

० नुवाकोटलगायतका जिल्लाको क्रियाशील सदस्यताको विवाद र नयाँ सदस्यलाई मतदान गर्ने अवसर दिनुहुँदैन भन्ने आवाज पनि उठेको छ नि, के हो ?
– नेपाली कांग्रेसलाई माया गरेर जसले आफ्नो ज्यानको पनि पर्वाह नगरी पार्टीलाई सहयोग गरे ती जुझारू कार्यकर्तालाई मतदानको अवसरबाट वञ्चित गरिनु भनेको हार मानसिकताको उपज हो । देशभरबाट आएका सबैको क्रियाशील सदस्यता खोस्ने दुस्प्रयास गर्छ भने हामी पार्टी सभापतिहरूले जस्तोसुकै मूल्य चुकाउन तयार छौँ, पेस भएका सदस्यलाई बाहिर राखेर कसले कुन जिल्लाको अधिवेशन गर्दो रहेछ हेरौँ न त †

० तपार्इंको जिल्लाको विवादका विषयमा प्रस्ट्याइदिनुस न् ?
– हाम्रो जिल्लाको सन्दर्भमा केन्द्रीय कार्यालयले प्रतिनिधि तोकेर केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र डा. प्रकाशशरण महतको उपस्थितिमा सबै गाउँ सभापति, क्षेत्रीय प्रतिनिधि, महाधिवेशन, महासमिति सदस्य, क्षेत्रीय समितिका पदाधिकारी सबैलाई जम्मा पारेर जिल्ला सम्मेलन गरेको थियो । जिल्ला सम्मेलनमा क्रियाशील सदस्यतासम्बन्धी विवाद छ भने ल्याउनुस् भनेपछि विदुर नगरपालिका वडा नं. ९ र थाङसिङ गाविसमा केही विवाद देखियो । डा. प्रकाशशरण महतको रोहवरमा विवाद मिलाउन एउटा कमिटी बनाएर त्यो कमिटीले ल्याएको प्रतिवेदनअनुसार क्रियाशीलको विवाद जिल्ला सम्मेलनले मिलाएको थियो । यसरी मिलाएको कुरालाई रामशरण महतजीलाई आफू कमजोर हुन्छु भन्ने लागेर क्षेत्र नं. २ को क्रियाशील सदस्यता विधि–विधानविपरीत सीधै केन्द्रमा बुझाइदिनुभयो । म विधि र विधानलाई टेकेर हिँड्ने मानिस हुँ । विधि–विधानविपरीत रामशरणजी त के केन्द्रीय सभापतिले गरे पनि म आफ्नो ढङ्गले लड्ने मानिस हुँ । अन्य क्षेत्रको प्रक्रियाअनुसार ल्याउन भन्ने केन्द्रले २ नं. क्षेत्रको नियमविपरीत व्यक्तिको मुख हेरेर सदस्यता बुझिदियो । त्यही कारणले नुवाकोटमा विवाद भएको हो । नेताले केन्द्रबाट उब्जाएको विवाद हो, तपाईं गाउँ–क्षेत्रमा गएर सोध्नुभयो भने केही विवाद छैन ।

० कांग्रेसको अबको नेतृत्व कस्तो हुनुपर्छ ?
– आमकार्यकर्ताको भावना बुझ्ने, नीति र नियमलाई अङ्गीकार गर्ने जुझारु नेतृत्व हुनुपर्छ ।

० सुशील कोइरालाको कार्यकालबारे भन्नुपर्दा के भन्नुहुन्छ ?
– पूरै असफल भन्छु । जसले समयमा महाधिवेशन गर्न सकेन, म्याद सम्पन्न भएपछि आफ्ना हनुमानलाई भर्ती गर्‍यो, भ्रातृ संस्थाका अधिवेशन गर्न सकेन, विभागहरूलाई पूर्णता दिन सकेन त्यस्तो नेतृत्वलाई अक्षम भन्न मलाई कुनै हिचकिच छैन । नेपाली कांग्रेसका जुझारु कार्यकर्ताले गर्दा पार्टी ठूलो दल बनेको हो, नेताका कारणले होइन । नेपालको कांग्रेस इतिहासमा सुशील दाइको जस्तो कमजोर नेतृत्व अहिलेसम्म देखिएको थिएन ।

० कांग्रेसलाई प्रजातान्त्रिक कार्यकर्ताको अधिनायकवादी नेतृत्वको पार्टीभन्दा हुन्छ ?
– हाम्रो पार्टीमा मात्र होइन, देखिएका सबै पार्टीका नेता तलका कार्यकर्तालाई दबाउने, हेप्ने र दासका रूपमा हेर्छन् ।