जनकपुर प्रकरण र अबको बाटो

जनकपुर प्रकरण र अबको बाटो


ghatana logo 1

विवाह पञ्चमीको अवसरमा पूजा गर्न जनकपुरस्थित जानकी मन्दिर पुग्नुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीमाथि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताद्वारा गरिएको आक्रमण प्रयास, दुव्र्यवहार एवम् अपमानजनक अभिव्यक्तिको चर्चा यतिबेला उत्कर्षमा छ । राष्ट्रपति भण्डारीको जानकी मन्दिर भ्रमणलाई बहाना बनाएर उहाँको वैयक्तिक स्वतन्त्रता वा आत्मसम्मानमाथि चोट पुर्‍याउने तथा अमर्यादित र विभेदकारी व्यवहार प्रदर्शनको जुन भद्दा रूप मोर्चासम्बद्ध या समर्थक व्यक्तिहरूबाट गरियो, कुनै पनि कोणबाट यो निन्दनीय रहेकोमा विवाद गर्नु नै निरर्थक छ । तथापि, मोर्चापक्षीय कतिपयले अस्वाभाविक तर्कका साथ उक्त अमानवीय व्यवहारको ढाकछोप गर्ने असफल प्रयत्न गरिरहेका छन् ।

राष्ट्रपति पदको जारी संस्थागत प्रक्रिया र अभ्याससँग सरोकार राख्ने राष्ट्रपति भण्डारीको जानकी मन्दिर यात्रालाई स्वाभाविक रूपमा लिएर स्वागत–सत्कार गरी राम–जानकी विवाह महोत्सवको धार्मिक–सांस्कृतिक पाटोलाई जीवन्त तुल्याउने प्रयास गर्नुको साटो मधेसी मोर्चाका कार्यकर्ताले पूर्वाग्रही भई उक्त दुर्भाग्यपूर्ण प्रकरण घटाएको हरेक सचेत नागरिकले महसुस गरेका छन् । सो घटनालाई फगत यतिबेलाको मधेस आन्दोलनसँग जोडेर तर्क–वितर्क गर्ने उपक्रम जो सुरु भएको छ, यसको परिणति भने मधेस आन्दोलनको परिधिमा मात्र सीमित रहन नसक्ने देखिन्छ । हिजो मधेसी मूलका राष्ट्रपतिलाई सोही मन्दिरमा स्वाभाविक र आत्मीय भावमा स्वीकार–स्वागत गर्ने नागरिक तप्का नै आज राष्ट्रपति पदकै खिल्ली उडाउने शैलीमा प्रस्तुत हुनुको निहितार्थ बेग्लै देखिन्छ ।

यतिबेला सरकारको नेतृत्व गरिरहेको दल वा सरकारप्रमुखप्रति मधेसी मोर्चाका नेता–कार्यकर्ता रुष्ट रहनु र सोही दलको पृष्ठभूमि बोक्नुभएको राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपति नै स्वीकार नगरेको भावमा व्यवहार गरिनु संयोग मात्र ठान्न पक्कै सकिन्न । पहाडी र मधेसी नागरिकले मान्ने हिन्दूधर्म फरक–फरक त अवश्य नै होइन, तर जानकी मन्दिर प्रकरणको अन्तस्करण चिहाउँदा यस्तै दुर्भाव पैदा गरी ‘मधेस’ र ‘पहाड’लाई ध्रुवीकृत तुल्याउने चेष्टा लुकेको महसुस हुन्छ । यो सोचनीय तथा अत्यन्त गम्भीर विषय हो । आफ्नो विगत राजनीतिक पृष्ठभूमि, सोच–सिद्धान्त र मान्यतालाई पदीय मर्यादाकै खातिर राष्ट्रपति भण्डारीले तिलाञ्जली दिएर जानकी मन्दिरमा कदम राखेको तथ्य तोडमरोड गर्नु आवश्यक छैन । कम्युनिस्ट दर्शनबाट प्रशिक्षित विद्यादेवी भण्डारीले ईश्वरको नाममा राष्ट्रपति पदको शपथ खानु र नेपालको संविधानले दिएको दायित्वअनुसार ‘राष्ट्रिय एकता’को प्रवद्र्धन गर्न इमानदारीसाथ लागिपर्नु उदाहरणीय पक्ष हो । अलिक गहिरिएर मनन गर्ने हो भने आफ्नो धर्म–संस्कृति, परम्परा वा मूल्य–मान्यताप्रति वफादार रहेका प्रत्येकका निम्ति यो सुखद् सन्दर्भ नै हो । यस पाटोलाई सरासर उपेक्षा गरी ‘मन्दिर बिटुलिएको’ ढोल पिटाएर गंगाजलद्वारा सफाइको ढोँग रच्नु तमाम नेपालीका लागि दु:खलाग्दो सन्दर्भ मात्र नभई समृद्ध तथा गर्विलो मिथिला संस्कृतिकै उपहास पनि हो ।

त्यसो त, जानकी मन्दिरमा भएको दु:खद् घटनासँग जोडिएका पात्रहरूले पवित्र मन्दिरभित्र कुकुर र छालाका जुत्ताजस्ता वर्जित कुराहरू प्रवेश गराइएकोले मन्दिर गंगाजलले धोइपखाली गर्नुपरेको तर्कका साथ कुनै व्यक्तिविशेषको आत्मसम्मानमाथि प्रहार गर्न नखोजेको भन्दै आफूलाई चोख्याउने प्रयत्न पनि गरेका छन् । तथापि, जनकपुर प्रकरणले अनेक प्रश्न भने जन्माइसकेको छ, जसको समुचित जवाफ खोज्नेतिर नलागे यसले झन्–झन् बेथिति–विसङ्गति र विरोधाभासहरू निम्त्याउने सम्भावना छ । विषयवस्तुलाई चर्काउनेतिर नलागी उत्पन्न असमझदारीलाई भ्रातृत्वभाव जगाउँदै सहजीकरण र समाधानको दिशातर्फ लैजानु हरेक तह र तप्काको दायित्व हो । यहीँनेर यो स्मरण गराउनु सान्दर्भिक होला कि लामो समयदेखि मधेस आन्दोलनले सिङ्गै मुलुक थिल्थिलो बन्न पुगेको छ । सङ्कटको यो अवस्थाबाट शीघ्र निस्कनु अपरिहार्य छ । यसका लागि के हिमाल, के पहाड, के तराई, हरेकको आ–आफ्नै योगदानको दरकार छ । सीमानाका बन्द अवस्थाले चुल्याएको अभाव, महँगी, कालोबजारीलगायतका विकृति–विसङ्गतिबाट मुक्त हुन सौहार्दपूर्ण साझा प्रयास हुनैपर्छ । नेपाल सरकारले लिएको पछिल्लो निर्णय र छिमेकी मित्रराष्ट्र भारतद्वारा उक्त निर्णयको स्वागत गरिएको सन्दर्भले पनि समस्त नेपालीजनमा नयाँ आशा जगाएको अनुभूति गरिँदै छ । यस्तोबेला कुनै घटनाविशेषलाई चर्काउनेभन्दा त्यसको निहितार्थ पहिल्याएर समाधानतर्फ अग्रसर हुनुमा नै सबैको हित छ ।