१२औँ सागमा छनोट भएका खेल र खेलाडी

१२औँ सागमा छनोट भएका खेल र खेलाडी


sag

बक्सिङ :
भारतमा हुने १२औँ दक्षिण एसियाली खेलकुद (साग) का लागि बक्सिङ खेलाडीको छनोट पूरा भएको छ । विभिन्न १० स्पर्धामा खेलाडी छनोट भएका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको चारदिने प्रतियोगितामा ५१ पुरुषले सात स्पर्धा तथा १७ महिलाले तीन स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । हरेक स्पर्धामा पहिलो भएका खेलाडी छनोट भएको बक्सिङ मुख्य प्रशिक्षक प्रचण्ड शर्माले जनाएका छन् ।
नेपाल बक्सिङ सङ्घद्वारा आयोजित प्रतियोगिताको महिला ४८–५१ केजीमा नेपाल आर्मी क्लब ‘ए’ की मीनु गुरुङ, ५७–६० केजीमा एपीएफ ‘ए’ की सरस्वती रानामगर, ६९–७५ केजीमा एपीएफ क्लब ‘बी’ की सङ्गीता सुनार पहिलो स्थान हात पार्दै १२औँ सागका लागि छनोट भएका थिए । त्यस्तै, पुरुष ४९ केजीमा आर्मी ‘ए’ का तेजबहादुर देउवा, ५२ केजीमा आर्मी ‘ए’ का प्रेम चौधरी, ५६ केजीमा प्रहरी ‘ए’ का दिनेश श्रेष्ठ, त्यस्तै पुरुष ६० केजीमा दानबहादुर दर्लामी, ६४ केजीमा आर्मी ‘ए’ का दीपक श्रेष्ठ, ६९ केजीको फाइनलमा एपीएफ ‘ए’ का विकास लामा, ७५ केजीमा आर्मी ‘ए’ का दीपेश लामा छनोट भएका छन् ।

पुरुष, महिला ह्यान्डबल :

भारतमा हुने १२औँ दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने नेपाली पुरुष र महिला ह्यान्डबल टोलीको अन्तिम छनोट भएको छ । पुरुषतर्फ नेपाल आर्मी क्लबका सर्वाधिक आठ खेलाडी परेका छन् । त्यस्तै सशस्त्र प्रहरी बलको एपीएफ क्लब र कास्कीबाट समान ३–३ खेलाडी टोलीमा पर्न सफल भएका छन् । छनोट भएका आर्मीका खेलाडीमा अमर श्रेष्ठ, विशाल बस्नेत, जक्ताबहादुर श्रेष्ठ, कृष्णबहादुर चौधरी, मदन चुनारा, सुवर्ण मादिहाङ, सुनील खत्री तथा श्रीबहादुर सिन्जाली रहेका छन् । टोलीमा पर्न सफल अन्य खेलाडीमा एपीएफका विमल भाट, इन्द्रनारायण चौधरी र मनोज ठुगुन्ना तथा कास्कीका प्रेमबहादुर गुरुङ, शरण थापा र भासु गुरुङ छन् ।

त्यस्तै महिलातर्फ छनोट भएका खेलाडीमा एपीएफ क्लबका अंकिता चौधरी र बन्दना राई, नेपाली सेनाका विष्णु बोगटी र देवकुमारी बास्कोटा, उदयपुरका जिना राई, कविता राई र निशा राई, एपीएफका पेमा शेर्पा र प्रभा थापा, उदयपुरकी रञ्जना राई, सेनाकी रामकुमारी चौधरी, एपीएफकी साधाना बम, सेनाकी शान्तिकला राई तथा एपीएफकी उमा राई रहेका छन् । सागमा ह्यान्डबलले बंगलादेशमा भएको ११औँ संस्करणदेखि प्रवेश पाएको हो । त्यसबेला पुरुषतर्फ मात्र प्रतिस्पर्धा भएको थियो । त्यतिबेला नेपाली पुरुष टोली चौथो भएको थियो । महिला ह्यान्डबल यसपटक थपिएको हो ।


भारोत्तोलन :

भारतमा हुने १२औँ दक्षिण एसियाली खेलकुद (साग) का लागि खेलाडी छनोट गर्न आयोजित भारोत्तोलन प्रतियोगतामा नेपाली सेनाका दिनेश श्रेष्ठले नयाँ राष्ट्रिय कीर्तिमान बनाउँदै छनोट भएका छन् । सातदोबाटोमा भएको प्रतियोगिताको पुरुष ९४ केजीमा दिनेशले स्न्याचमा एक सय १६ केजी भार वहन गर्दै आफैँले थाइल्यान्डमा गत सेप्टेम्बरमा भएको एसियाली च्याम्पियनसिपमा बनाएको एक सय १५ केजीको कीर्तिमानमा सुधार गरेका हुन् । सागमा सहभागी हुने अन्य सात पुरुष खेलाडीको पनि टुङ्गो लागेको छ । ५६ केजीमा बाँकेका प्रकाश केसी, ६२ केजीमा नेपाल प्रहरीका विक्रम थापा, ६९ केजीमा प्रहरीका अनिल मल्ल, ७७ केजीमा आर्मीका सुरेन्द्र श्रेष्ठ, ८५ केजीमा आर्मीका भैरवसिंह थापा, १०५ केजीमुनि आर्मीका गगनसिंह ओली तथा १०५ केजीमाथि आर्मीका पुकार गुरुङ छनोट भए ।

त्यस्तै महिलातर्फ विभिन्न सात तौल समूहमा सात खेलाडीको छनोट गरिएको छनोट समितिका संयोजक तिलक राउतले जनाएका छन् । ४८ केजीमा नेपाली सेनाकी मनीषा राना, ५३ केजीमा नेपाल प्रहरी क्लबकी देवी चौधरी, ५८ केजीमा सेनाकी कमला श्रेष्ठ, ६३ केजीमा प्रहरीकी जुनुमाया छन्त्याल, ६९ केजीमा सेनाकी मनिता श्रेष्ठ, ७५ केजीमा प्रहरीकी लक्ष्मी वन तथा ७५ केजीमाथि प्रहरीकी तारादेवी पुन रहेका छन् ।