नेपाल राष्ट्र बैंकबाट मौद्रिक नीतिको अवमूल्यन

नेपाल राष्ट्र बैंकबाट मौद्रिक नीतिको अवमूल्यन


-सानुबाबा प्रसाई
राष्ट्र बैंकले २०६७ चैत्र १ गतेदेखि तोकिएका स्थानबाहेक अन्यन्त्र पूर्वराजाका तस्वीर अङ्कति नोट स्वीकार नगर्न निर्देशन दिएको छ । फाल्गुण मसान्तभित्रमा तोकिएका बैंकहरुमा रुपैयाँ साँट्न जाँदा बैंकहरुले राजाका तस्वीर अंकित रुपैयाँ साँट्न मानेनन् । २०६७ चैत्र १ गतेपछि पनि राष्ट्र बैंकमा वा बैंकले तोकेको ठाउँमा अनपढ, परिचयपत्र नभएका जनताले रुपैयाँ बोकेर साट्न जान कति सामर्थ्य होलान् ? राष्ट्र बैंक भनेको छ- पूर्वराजाका तस्वीर अङ्कति करीब १० अर्ब बराबरका नोट बजारमा छन् । बाणिज्य बैंकहरुले संकलन गरेका नोट चैत्र मसान्तपछि राष्ट्र बैंकमा बुझाउन नपाउने र मुलुकका १०४ स्थानमा मात्र यस्ता नोट साँट्न पाइने व्यवस्था बारेमा राष्ट्र बैंकले जानकारी दिएको छ । काठमाण्डौंको सुबिधाजनक स्थानमा बसेर यस्तो निर्णय गर्दा गाउँघरबाट अताल्लिएका जनताले नोट बोकेर साँट्न आउँदा डाँकाहरुबाट लुटिँदैनन् ? पैसाको लोभमा परेकाहरुले उनीहरुको सुरक्षाको लागि हत्या गर्न पनि सक्छन् । गरीब जनताले ढुङ्गा, रोडा कुटेर कमाएको र विदेशमा दरवान भएर कमाएर घरमा पठाएका रुपैयाँ वेवारिसे भएको अवस्था देशको लागि दुःखद होइन र ? हामीलाई थाहा छ- राष्ट्र संकटग्रस्त, अशान्ति र असुक्षित अवस्थामा गुज्रिरहेको छ जहाँ काठमाण्डौंका बैंकहरुबाट निकालिएको रुपैयाँ दिनदहाडै लुटिन्छन् भने के काठमाण्डौं भन्दा गाउँघर सुरक्षित छ ?

राष्ट्रको मौद्रिक प्रणालीको नियन्त्रण र संचालनको पूर्ण जिम्मेवारी राष्ट्र बैंकको हुन्छ । अर्थ व्यवस्थालाई सहिरुपले परिलाचन गर्न र सही व्यवस्थापनका लागि गभर्नरलगायत सबै दक्ष, अनुभवी कर्मचारीहरुको व्यवस्था भएको हुन्छ । केन्द्रीय बैंक भनेको देशको प्रमुख आर्थिक सल्लाहकारको रुपमा लिइन्छ । मौद्रिक नीतिलाई सही रुपमा परिचालन गर्नु भनेर नै राष्ट्र बैंकलाई एच्च व्यवस्थापनमा राखिएको हो । मुद्रा आपूर्ति प्रणालीमा नियन्त्रण गरेर देशमा मुद्रा प्रदाय तथा मुद्रास्फितिलाई नियन्त्रण राख्ने कार्यमा नेपाल राष्ट्र बैंकले संतुलन कायम राख्ने गर्नुपर्छ । राजाका तस्वीर अङ्कति रुपैयाँ विस्थापित गर्ने राष्ट्र बैंकको पूर्वाग्रही मौद्रिक नीतिले नेपाली जनतालाई आतंकित बनाएको छ । तर अहिले राष्ट्र बैंकले नदुखेको टाउको दुखाएर राजाका तस्वीर अङ्कति रुपैयाँ नचल्ने भनेर सोझा-साधा नेपाली जनतालाई दिग्भ्रमित बनाएको छ । राजाका फोटा अङ्कति मुद्रा विस्थापित गर्ने निर्णय नगरेर अबका दिनमा राजाका फोटा अङ्कति मुद्रा नछाप्ने निर्णय गरेका नै थियो, हालमा छापिएको पनि छैन । त्यसैले पुगेको नै थियो र झुत्रा नोट साँटिएको थियो । तर नेपाली जनताको जीवनस्तरको अध्ययन नै नगरी देशका कुना-कुनामा रहेका जनतालाई पूर्वाग्रही निर्णय गरेर राष्ट्र बैंकको सूचनाले जुन तड्पाउने काम गरेको छ त्यसबाट राष्ट्र बैंकले सही निर्णय गरेको भन्न सकिँदैन । थोत्रा, काम नलाग्ने, दुला परेका रुपैयाँहरु विस्थापित गर्न सक्नु राम्रो कुरा हो । तर राजाका तस्वीर अङ्कति नयाँ नोटहरु पनि चलनचल्तीमा नल्याउने घृष्टता गर्नु भनेको राष्ट्र बैंकको गलत नीति हो ।

मैले तेईस बर्ष बाणिज्य बैंकमा काम गरेर राष्ट्र बैंकप्रति जुन विश्वास र भरोसा मलाई जागेको थियो र त्यसरी नै विश्वासका साथ काम गरेथें । तर अहिले राष्ट्र बैंकले पूर्वाग्रही बन्दै राजनीतिक दाउपेचबाट ग्रसित भएको देख्दा राष्ट्र बैंकप्रतिको विश्वासमा कुठाराघात भएको छ । अहिले देशमा राजा त्रिभुवन, राजा ज्ञानेन्द्र-२००७, राजा महेन्द्र, राजा वीरेन्द्र र राजा ज्ञानेन्द्रका फोटा अङ्कति नेपाली मुद्रा अनिर्णयको बन्दी भएका छन् । कतिपय नेपाली जनताको चेतना शक्ति यस्तो छ कि अहिलेसम्म जे जति कमाइ गरेर प्राप्त भएका रुपैयाँहरु उनीहरु गार्धन वा बाकसमा राख्ने गर्छन् । उनीहरु रेडियो, टेलिभिजन, पत्रपत्रिका सुन्दैनन्, हेर्दैनन् र क्षमता पनि छैन र राख्दैनन् पनि । राजा त्रिभूवनदेखि राजा महेन्द्रका फोटा अङ्कति रुपैयाँ उनीहरुले सुरक्षित राखेको हुन्छ । यसरी रुपैयाँ नचल्ने समय आउँछ भन्ने कुरा उनीहरुमा सोंच पनि रहँदैन र रुपैया बिस्थापित गरेर सरकारले जनतालाई आतंकित पार्छ भन्ने सोचाइ पनि हुँदैन । यस परिस्थितिमा हुर्केका जनतासँग राष्ट्र बैंकको के जवाफ छ ?

ख्याल रहोस्- गाउँ-गाउँमा राजाका तस्वीर अङ्कति ५०० का नोटहरु २०० सयमा, १००० का नोटहरु ५०० मा साँटेर लिइरहेका छन् । दुःखको कुरा, यसबाट नाफाखोरहरुले राष्ट्र बैंकको सूचनालाई ब्यापार गरेर गरीव जनताबाट ठगेर कमाइरहेका छन् । यसरी राष्ट्र बैंकको सूचना सुनेर नोट साँट्नेहरु घरबारबिहीन भएर कहाँ नोट साँट्न पाइन्छ भनेर दौडिदा छन् । राष्ट्र बैंकले कहिले पनि राजनीतिक पद्धतिको समर्थन गरेर राष्ट्रको मौद्रिक नीतिलाई खलबल पुर्‍याउन हुन्नथ्यो । राजाका तस्वीर अंकित नोट नयाँ नछापेपछि आफै विस्थापित हुँदै जाने क्रम स्वतः थियो । यतिका दिनसम्म चलेको नै थियो । केही दिनसम्म चलन-चल्तीमा रहँदा के बिग्रिने थियो ? त्यसो भए राजाका नाम, फोटा अंकित खुइलिसकेका सिक्का किन चल्न दिइयो ? राजाका तस्वीर अंकित झुत्रा नोटहरु विस्थापित गर्नु भनेको बैंकको नीतिअनुसार हुनसक्छ तर राजाका तस्वीर अंकित नयाँ नोटहरुलाई विस्थापित गर्न खोजेर राष्ट्र बैंकको ठूलो गल्ती गरेकोछ । राष्ट्रको आर्थिक मेरुदण्डको रुपमा रहेको केन्द्रीय बैंकले राष्ट्र र नेपाली जनताको जवाफदेहिता लिन नसक्नु विश्व मौद्रिक व्यवस्थामा नै हास्यास्पद हुनु हो । यसबाट राष्ट्र बैंकले कमिसनखोर र माफियाहरुको हितमा हचुवा निर्णय गरेर मौद्रिक बिपत्ती निम्त्याएको छ, भन्न सकिन्छ ।

हो, परिवर्तन विश्वका हरेक राष्ट्रमा भइरहन्छ । तर सत्ता परिवर्तन हुनासाथ मौद्रिक प्रणालिमा नै हेरफेर गरिन्छ भने त्यस देशको सार्वभौममिकता र सार्वभौम जनतालाई तड्पाउन खोजेको ठहर्दैन र ? यो त कुनै सरकारको कर्तव्यभित्र नै पर्दैन । राष्ट्र बैंकले राजाका फोटा अङ्कति रुपैयाँ विस्थापित गरेको खबरलाई नेपालका कुनै अर्थशास्त्रीहरुले एक शब्द पनि बोल्न सकेका छैनन् । अर्थशास्त्रीहरुले जागिर खाने, राजनीतिक सत्ताको चाकरी गरेर आर्जन गर्ने मात्र होइन । देशभित्र के कस्तो आर्थिक मौद्रिक व्यवस्था छ त्यसको विश्लेषण गर्नु पनि उनीहरुको कर्तव्य हो । स्मरण रहोस्- मुद्रामा परिवर्तन ल्याउँदा राष्ट्रको आर्थिक नीतिमा नै आघात पर्ने भएकाले बेलायतीकी महारानीको तस्बीर अङ्कति मुद्रा केनेडा, अष्ट्रेलिया जस्ता मुलुकहरुमा बिस्थापित गर्न सकेका छैनन् । नेपालमा चाहिं यसरी हतारमा प्रतिशोधपूर्ण हिसाबले राजाका तस्वीर अङ्कति रुपैयाँ बिस्थापित गर्नु सोचनीय कुरा भएको छ । यस्तो गलत निर्णयलाई राष्ट्र बैंकले यथाशीघ्र पुनर्विचार गर्न हाम्रो अनुरोध छ ।
Author can be reached at :[email protected]