नाजाने कौन सी रात आखिरी होजाए
नाजाने कौन सी बात आखिरी होजाए
हालचाल पुछ्ते रहिए हमसे
नाजाने कौन सी सास आखिरी होजाए
प्राय: सायरीहरू प्रेमसँग सम्बन्धित हुन्छन्, सत्यसँग मेल खाए पनि नखाए पनि प्रगतिशील या जनवादी गीत, कविता वा सायरी भन्दा सुन्न रमाइलो लाग्छ पनि त्यस्तै नै । तर, जीवनको वास्तविकतासँग मेल खाने यो सायरी कुनै पनि बेला हामी जो कोहीमा लागू हुने प्रकारको छ । गत मंगलबार बिहान एक्कासि पत्रकार दिदी जसुदा प्रधानको निधन भएको कुरा सुन्दा एकछिन त विश्वासनै भएन, अँ हो ? लौन कसरी ? यस्तै शब्दहरू निस्किए मुखबाट । त्यसपछि तुरुन्तै सम्झिएँ, कुनैबेला साथीहरूमाझ यो सायरी सुनाउँदा उहाँले मलाई भन्नुभएको थियो- बैनी राम्रोचाहिँ कति राम्रो तर यस्तो सायरी भन्नुहुन्न क्या, अझै कति बाँच्नु छ, के-के गर्नु छ, त्यति सजिलै कहाँ मरिन्छ र ? तर उहाँले सजिलै यो संसार छोड्नु भो, विश्वास गर्नै गाह्रो हुने गरी हामी माझबाट उहाँ बिदा हुनुभयो । ती शब्दहरू अहिले पनि म सम्झिरहेकी छु, कति बाँच्नु छ, के के गर्नु छÒ वास्तवमा यस्तै भन्दै हामीमध्ये धेरैले जीवन गुजारिरहेका छौँ । पत्रकार जसुदा प्रधानका बारेमा अनेक सम्झनाहरू छन्, व्यवसाय र उमेर दुवैमा ‘सिनियर’ भएकाले हामी धेरैले उहाँलाई दिदी भन्ने गथ्र्यौं । मनमा कुरा राख्न नसक्ने, चित्त नबुझेको कुरा फ्याट्ट भन्ने, सकेसम्म अरूलाई नराम्रो नभन्ने सकारात्मक सोचका साथै आफ्नो सिद्धान्तमा अडिग हुनुहुन्थ्यो उहाँ । संवैधानिक राजतन्त्रकी प्रखर वकालतकर्ता उहाँले अन्य धेरै मानिसझैं गणतन्त्र आएपछि रातारात आफ्नो सिद्धान्त परिवर्तन गर्नुभएन । भेटहरूमा उहाँ भन्ने गर्नुहुन्थ्यो-‘बैनी, राजाले गद्दी छोड्नेबित्तिकै, राजतन्त्रको अन्त्य हुनेबित्तिकै यो मुलुक र्स्वर्गझैं हुन्छ भन्थे नेताहरू, खोइ त अहिले के भयो ? हेर्नुस् त झन्झन् बर्बाद भयो । कहिलेकाहीँ त मलाई नेपाली भनेर आफूलाई भन्न नपाइने हो कि जस्तो पनि लाग्छ ।’ मुलुकप्रति चिन्तित, सिद्धान्तनिष्ठ उहाँलाई राजतन्त्र कुनै न कुनै रूपले व्युँतने विश्वास पनि थियो ।
आफैंले पत्रिका चलाउनु निश्चय नै सजिलो छैन, उहाँको सम्पादनमा प्रकाशित संरचना साप्ताहिक आर्थिक कारणले बन्द भयो । जति समय चल्यो उहाँकै मिहिनेत, दौडधुप र नेतृत्वका कारणले चलेको थियो । पिपुल्स रिभ्युको समाचारदेखि विज्ञापन हँुदै बजार व्यवस्थापनसम्ममा जसुदादीको दौडधुप त्यत्तिकै थियो । व्यवसायसँगै व्यासायिक सङ्गठनहरूमा पनि उहाँको रुचि थियो । नेपाल पत्रकार महासङ्घमा महिलालाई चुनाव लड्न त्यति सजिलो छैन । सङ्ख्याकै कारणले हो या अरूनै केही, सधैं महिलाहरू पछि नै छन्, चुनावमा उठिहालुँ जस्तो खासै वातावरण र माहोल पनि हुँदैन । अहिले त त्यस्तो छ भने पहिले कस्तो थियो होला ? अनुमान गर्न सकिन्छ । तर, त्यस्तो बेलामा पनि उहाँ महासङ्घमा चुनाव लड्नु भो, विभिन्न गतिविधिहरूमा संलग्न हुनु भो । अरू धेरैलाई महासङ्घमा संलग्न गराउनु भो, एउटा सक्रिय पत्रकारका रूपमा सधैं आफूलाई उभ्याउनु भो । व्यावसायिक मानिसहरूसँगको भेटघाटमा व्यक्तिगत कुराहरू त्यति गरिँदैन, के छ, कसो छ ? घर-परिवार, नाता-कुटुम्ब यसप्रकारका व्यक्तिगत चासोका निम्ति समय र रुचि दुवै हुँदैन । तर, व्यावसायिक सम्बन्ध जब व्यक्तिगत हुँदै जान्छ यस्ता कुराहरूले पनि स्थान पाउँदै जान्छन् । एउटा भेटमा उहाँसँग ‘घर’को कुरा भयो, हामीले भन्यौँ, दिदी घर बनाउनुभएछ, बधाई छ, अब भोज ख्वाउनुपर्छ है । हो’नि अब मेरो घर भयो, एक दिन आउनुस् न है भन्दै उहाँले भन्नु भो- घर भएपछि निकै सुरक्षित अनुभव गरिँदो रहेछ, अरू त के र ? छोराछोरीलाई जहाँ पुगे पनि आउने एकै ठाउँ भयो । मैले भने- हो’नि दी घर भनेको त ठेगाना पनि हो नि । उहाँले रमा ?पत्रकार रमा सिंह) पट्टि हेर्नु भो र भन्नु भो- रमाले हामीसँग कुनै सल्लाह नगरी घर बेचेकोचाहिँ मलाई पटक्कै मन परेको छैन । मलाई सोधेको भए त म बेच्नै दिन्नथेँ । ए हो र ? मेरो प्रश्नपछि उहाँको भनाइ थियो- खै के बाध्यता पर्यो मलाई थाहा छैन तर त्यसरी घरै बेच्नचाहिँ हुँदैनथ्यो । उहाँलाई पछिसम्म पनि रमाले घर बेचेको कुरालाई लिएर ठूलो चिन्ता थियो । रमा अहिले अमेरिकामा छिन्, रमा गएदेखि जतिपटक मेरो उहाँसँग भेट भयो त्यतिपटक उहाँले रमा नभएकोमा आफूलाई न्यास्रो लागेको बताउनुभएको थियो । रमाप्रतिको उहाँको लगाव र आत्मीयता अत्यन्तै निकट र भावनात्मक थियो भन्ने कुरा मैले रमा अमेरिका गएपछि उहाँका कुराहरूको आधारमा थाहा पाएकी हुँ ।
पछिल्लो चरणमा बुधबार बिहान मोबाइलमा उहाँको नम्बर देखेपछि त्यो फोनको उद्देश्य म पहिल्यै थाहा पाउने भइसकेकी थिएँ । भन्ने गर्नुहुन्थ्यो- बैनी साह्रै राम्रो ‘आरि्टकल’ । उहाँको प्रशंसाले बिहान-बिहानै म दङ्ग पर्थे, फोन राख्नुअघि जहिले पनि एक दिन मेरो घर आउनुपर्छ है भन्न बिर्सनुभएन र मैले पनि हस् दी अर्को हप्ता आउँछु है भन्न छोडिनँ । म बस्ने ठाउँदेखि उहाँको घर हिँडेरै पुगिन्थ्यो तर जाने भन्दाभन्दै त्यस्तो संयोग नै मिलेन । अचम्म त के भने पत्रकार बैनी सम्झना बनले असार १९ गते शनिबार बिहान फोन गरेर दिदी आज जसुदादिदीकहाँ जाउँ है भनेकी थिइन्, आज होइन अर्को शनिबार जाउँ न भनेर मैले नै भने तर त्यो अर्को हप्ता आउनै पाएन, जब म उहाँको घर गएँ उहाँ त्यो घरमा त के यो संसारमै रहनुभएन । कतिपल्ट त उहाँले यही स्थानमा छापिएका मेरा लेखहरू अनुवाद गरेर पिपुल्स रिभ्युमा प्रकाशित गरिदिनुभएको छ । दरबार हत्याकाण्डको विषयमा माओवादी अध्यक्ष प्रचण्डको पछिल्लो अभिव्यक्तिलाई लिएर लेखिएको ‘दरबार हत्याकाण्ड : कुन कुरा पत्याउने ?’ शीर्षकको लेखलाई उहाँले अनुवाद गर्न लगाएर अङ्ग्रेजीमा छापिदिएपछि नसोचेका धेरै ठाउँबाट प्रतिक्रिया पाएकी थिएँ । पछि मेरो धन्यवादमा उहाँको भनाइ थियो, ‘सत्य कुराको जानकारी नेपाली नबुझ्नेहरूले पनि राख्नुपर्छ भनेर छापेको ।’ दरबार हत्याकाण्ड दीपेन्द्रबाटै भएको हो भन्ने उहाँको बुझाइ थियो ।
अहिले म सम्झिरहेकी छु, उहाँले जीवनभरको मिहिनेतले निर्माण गर्नुभएको त्यो घर जहाँ दुई वर्ष पनि बस्न पाउनुभएन । जीवन अझै धेरै बाँच्नु छ भनेर गरिएका कल्पना र बनाइएका योजनाहरू कहिल्यै पूरा नहुने गरी आफूसँगै अनन्तमा हराएका छन् । खुसी-खुसी बाँच्नुपर्ने जिन्दगीका धेरै वसन्तहरू आफूलाई व्यवस्थित गर्ने क्रमका दौडधुपमै बिते र जीवन जब व्यवस्थित हुँदै थियो यो संसारमा उहाँ रहनुभएन ।
प्रतिक्रिया