जनताले नाकाबन्दी गरिदिँदा ‘नेता’द्वारा तस्करी

जनताले नाकाबन्दी गरिदिँदा ‘नेता’द्वारा तस्करी


tector (1)

वीरगञ्ज/ जारी मधेश आन्दोलन लम्बिनुमा मधेशी नेताको खोल ओढेका केहि मधेशी एजेन्ट नै कारक रहेको थाहा हुन आएको छ । यसपटकको आन्दोलनको केन्द्रविन्दु रहेको वीरगंजमा केही स्वनामधारी नेताले मधेश आन्दोलनलाई पैसा कमाउने गतिलो माध्यम बनाएका छन् । नेताले नै आन्दोलनलाई कमाउने धन्दा बनाएको भन्ने सुन्दा अचम्म लागे पनि वास्तविकता यस्तै छ । संघीय समाजवादी फोरम नेपाल पर्साको अध्यक्ष रहेका प्रदिप यादवले आन्दोलनलाई आफ्नो दुनो सोझो गर्न हर प्रयास जारी राखेका छन् । यादवले आन्दोलनलाई भजाएर नगद कमाईरहँदा उनको पार्टीको केन्द्रिय नेतृत्व र पार्टी संलग्न संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले विरोध गर्न वा कारवाहिको दायरामा ल्याउन सकेको देखिँदैन ।

यादवले आन्दोलन भजाएको विषयमा राष्ट्रिय तथा स्थानीय सञ्चार माध्यमहरूमा लगातर रुपमा समाचारहरू सार्वजनीक भईरहँदा पनि संघीय समाजवादी फोरम नेपालका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले समेत केहि नबोल्नुले यादवको कारोबारमा मोर्चा र केन्द्रय नेताले पनि साथ दिईरहेका छन् कि भन्ने आशंका पैदा भएको छ । अर्कोतर्फ आन्दोलनमै रहेको संघीय समावेशी मधेशी गठबन्धनका नेताहरूले पनि यादवको कारण मधेशमा आन्दोलन बद्नाम भइरहेको भन्दै प्रमाणसहित बारम्बार पत्रकार सम्मेलन र सार्वजनिक मञ्चहरू मार्फत आरोप लगाउँदै आएका छन् । यादवले पैसा लिएर उद्योग धन्दा सञ्चालन गरेको आन्दोलनको नाममा भारी मात्रामा चन्दा उठाएर आफ्नो गोजी भरेको र प्रशासनसँग मिलेर मधेशका सपुतहरूको छातीमा गोली चलाएको विषय यस अगाडि नै आइसकेकै हो ।
यद्यपि अझै पनि यादवले आन्दोलनलाई भजाएर गोजी भर्ने कार्यलाई विराम दिएको पाइँदैन । मधेशी जनतालाई धोका दिएर जतिसुकै गोरख धन्दा चलाए पनि पार्टी र मोर्चाबाट कुनै कारवाही नहुँदा यादवको मनोपोली झनै बढेको उनीनिकटका मानिसहरू बताउँछन् ।

केहि दिनअघि मात्रै मोर्चामा संलग्न यादवका खास भनिएका युवा कार्यकर्ताहरूले नाकाबन्दी गरीएको विरगंज रक्सौल मितेरीपुलबाटै तेलको तस्करी गरेको समाचार प्रकाशित भएको थियो । यादवले भित्री रुपमा तस्करहरूसँग साँठगाँठ गरी आफ्ना युवा परिचालन गरेर पुलबाटै तेल तस्करी गराएको थाहा पाएपछि रोक्न पुगेको संघीय समावेशी मधेशी गठबन्धनका कार्यकर्ता र तेल तस्करविच झडपसमेत भएको थियो । त्यसक्रममा तस्करहरूले आफुहरूलाई प्रदिप यादवको समर्थन रहेकोले तिमिहरूले केहि गर्न सक्दैनौ भन्दै धम्क्याएको गठबन्धनको नेताहरूले बताएका छन् । एकातीर मधेशी जनताको अधिकार प्राप्तिको लडाई भन्दै सम्पुर्ण मुलुकलाई नै अप्ठ्यारोमा पारेर नाकाबन्दी गरीरहँदा आन्दोलनकै नेता भनीएका यादव जस्ताले गोरख धन्दा चलाइरहँदा स्थानिय प्रशासन चुप लागेर बस्नु पनि अनौठो देखिएको छ ।

नाकाबन्दी गरेर लाखौँको संख्यामा रहेका मधेशी जनसमुदाय मितेरी पुलमा गएर व्यक्तिगत वा पेशागत संगसंगठनको माध्यमले ऐक्यबद्धता जनाईरहेको बेला यादव भने मोटो रकम लिएर रक्सौलमा रहेका माल सामान नेपाल भित्र्याउन लागिपरेका छन् । १३ गते सोमबार विहान मात्र प्रहरीले यादवको साँठगाँठमा विना भन्सार नेपाल भित्र्याउन लागेको ५ वटा टेक्टर नियन्त्रणमा लिएको छ । यादवले आन्दोलनको बेला भन्सार समेत गर्नुपर्दैन म नेपाल छिराईदिन्छु भन्दै महोत्तरीको बर्दीबासमा रहेको उमेश आईरन ट्रेडर्ससँग मोटो रकम लिएर टेक्टर भित्र्याउने जिम्मा लिएको श्रोतले बताएको छ ।
PRADIP YADAV (1)
वीरगंज भन्सारबाट पश्चिमतर्फ दुई किलोमिटरको दुरीमा रहेको श्रीसीया छोटी भन्सारको बाटो भएर यादवले टेक्टर भित्र्याईरहेको बेला स्थानियले नियन्त्रणमा लिएका थिए । स्थानियले टेक्टर चलाएर ल्याउने ड्राईभरलाई कुटपिट गरेपछि त्यसैमध्यका एक दिनेश नाम गरेका ड्राईभरले आफुहरूलाई प्रदीप यादवले टेक्टर भित्र्याउन लगाएको बताएका थिए । यादवले ड्राईभरहरूलाई बाटोमा कुनै समस्या नहुने आश्वासन समेत दिएका थिए । यादवको आडमा विना भन्सार भित्र्याईएको टेक्टरलाई स्थानियले प्रहरीको जिम्मा लगाएका थिए । नियन्त्रणमा लिईएको टेक्टर भारतीय कम्पनी शक्तिमानको रहेको प्रहरीले जनाएको छ । चेकजाँचका क्रममा आवश्यक कागजात फेला नपरेकोले नियन्त्रणमा लिईएको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले बताउनुभयो । प्रहरीले एस ५० एफ एफ डि ४५९, एस ५० एफ एफ डि ४६१,एस ५० एफ एफ डि ४६०, एस ५० एफ एफ डि ४६२ र एस ५० एफ एफ डि ४५३ चेसीस नम्बर भएका ट्याक्टर नियन्त्रणमा लिएको छ । प्रहरीले पक्राउ परेका सवै टेक्टर आवश्यक कारवाहीको लागी सोमबारै राजश्व अनुसन्धान विभागको मध्यमाञ्चल क्षेत्रिय कार्यालय पथलैया बारामा बुझाएको छ ।