तीन नेता, तीन चरित्र, दुईको गन्तव्य, एक दाउ

तीन नेता, तीन चरित्र, दुईको गन्तव्य, एक दाउ


-देवप्रकाश त्रिपाठी
सामान्यतया राजनीतिलाई सङ्कटमोचनको प्रभावकारी एवम् निर्णायक अस्त्र मानिन्छ, तर नेपालको सन्दर्भमा भने प्रचलित विश्वासविपरीत समस्याहरूको मूल स्रोत नै राजनीति बन्न पुगेको महसुस गर्न थालिएको छ । माओवादीले राजनीतिमा त्यस्ता केही अवधारणाहरूको जबर्जस्ती प्रवेश गरायो, जसका कारण मुलुक सम्हालिन मुस्किल परिरहेको छ । राजनीतिक गन्तव्य प्राप्त गर्न हतियार उठाउनु र हिंसात्मक क्रियाकलाप गर्नु, जाति, क्षेत्र, भाषा, धर्म आदिका नाममा मानिसलाई बिथोल्नु र समाजलाई अस्तव्यस्त हुनेगरी गिजोल्नु तथा पछाडि परेका मानिसलाई आफ्नो अधिकार खोज्न सचेत गराउँदा अनुशासन र कर्तव्यको पाटो भुल्नु-भुलाउनुलाई माओवादी राजनीतिको मूल विशेषता मान्न सकिन्छ । विगत केही वर्षदेखि माओवादीले जे गर्दै आएको छ, त्यसलाई उसले प्रगतिशील, अग्रगामी र क्रान्तिकारी परिवर्तन भन्ने दाबी गरेको छ । भड्किएको समाजलाई सम्हाल्नुको सट्टा काङ्ग्रेस र एमालेलगायतका दलहरूले पनि माओवादीकै अभियानमा कुनै न कुनै रूपले योगदान पुर्‍याए । विशेषगरी गिरिजाप्रसाद कोइरालाले माओवादीका हरकदममा टेवा पुर्‍याउनुभयो र राष्ट्रपति चयन प्रकरणसम्म उहाँले आँखा चिम्लेर सहयोग गरिरहनुभएको हो । गिरिजाप्रसादको निधनपश्चात् नेपाली काङ्ग्रेसको सर्वोच्च नेतृत्व सुशील कोइरालाको हातमा आएपछि भने नेपाली राजनीतिमा लोकतन्त्रवादी एवम् अधिनायकवादी शक्तिबीच धु्रवीकरणको सम्भावना सुस्पष्ट हुन थालेको छ । गिरिजाप्रसादको देहावसानपश्चात् देशका प्रमुख तीन पार्टी ?काङ्ग्रेस, एमाले र माओवादी) का प्रमुख तीन नेताहरू ?सुशील कोइराला, प्रचण्ड र झलनाथ खनाल) को भूमिका, चरित्र एवम् तिनको शैली र योगदानका बारेमा पनि जनस्तरमा छलफल तथा टीका-टिप्पणी सुरु भएका छन् ।
नेता नं. एक : नेपाली काङ्ग्रेसका मुख्य नेता सुशील कोइराला उमेर, अनुभव, सङ्घर्ष, सिम्लिपसिटी, इमानदारी, विचारमा स्पष्टता र दृढता एवम् परिपक्वता र विश्वसनियताका दृष्टिले सबैभन्दा अगाडि मानिनुहुन्छ । बीपी कोइरालाका सच्चा अनुयायी, उदार प्रजातान्त्रिक प्रणालीका कट्टर हिमायती सुशील कोइरालाका निम्ति पार्टी, प्रजातन्त्र, देश र जनताबाहेक अन्य कुनै पनि कुराहरू प्राथमिकतामा परेनन् । निष्ठाको राजनीतिमा समर्पित उहाँका निम्ति लाभका पद र अन्य अवसरहरू कहिल्यै महत्वपूर्ण रहेनन् । गिरिजाप्रसाद कोइराला र उहाँका खास-खास सहकर्मीमाथि भ्रष्टाचारको आरोप लाग्यो, तर गिरिजाप्रसादका सर्वाधिक निकटका भनी चिनिनुहुने सुशील कोइराला बेदाग रहनुभयो, उहाँको आचरणले सबैलाई नतमस्तक तुल्याएको छ । कुनै समय सुशील कोइरालामार्फत गिरिजाप्रसाद कोइरालासँग भेट गर्नुपर्ने हैसियतका शेरबहादुर देउवा तीन-तीनपटक प्रधानमन्त्री बन्नुभयो र आज विलासी जीवनमा सबैलाई पछार्न सक्ने सामर्थ्य देउवाले बनाउनुभएको छ । तर, कोइरालाका नाममा सधैं ‘ढुङ्गामुढा’को सामना गर्दै आउनुहुने सुशीलचाहिँ गिरिजाप्रसादको निधन हुँदा आफ्ना दु:खी भाञ्जाका घरमा ‘शरणार्थी’ हुनुहुन्थ्यो । चाहेका भए २० वर्षसम्म निरन्तर सत्तामा रहन सक्ने पहुँच र हैसियत सुशीलको थियो, देउवाभन्दा पहिले नै प्रधानमन्त्री बन्ने अवसर पनि उहाँलाई प्राप्त हुन सक्थ्यो र लालची भइदिएका भए विलासी जीवन प्रतिस्पर्धामा पनि सायद सुशीलले सबैलाई माथ गर्न सक्नुहुन्थ्यो । तर, सुशील सबैभन्दा भिन्न रहनुभयो र राजनीतिमा आफ्नो विशिष्टता कायम गर्न उहाँ सफल हुनुभएको छ । नेपाली काङ्ग्रेसका मार्गदर्शक नेता बीपी कोइरालाका सच्चा अनुयायी त सुशील हुनुहुन्छ नै, विचारमा स्पष्टता, सिद्धान्तनिष्ट, लोभ र लाभरहित प्रवृत्ति तथा व्यवहार, साधारण जीवनशैली, प्रतिबद्ध प्रजातन्त्रवादी, शान्तिप्रिय, निष्ठावान, इमानदार एवम् समर्पित र स्वच्छ छवि सुशील कोइरालाका मूल विशेषताहरू हुन् ।
उहाँ कुशल वक्ता होइन र आफ्नो दायरा फराकिलो तुल्याउन उहाँका निम्ति उदारतापूर्ण सोच वाञ्छनीय मानिन्छ । आफूलाई फराकिलो तुल्याउने सफलता पनि कोइरालाले प्राप्त गर्नुभयो भने नेपाली प्रजातान्त्रिक आन्दोलनमा बीपी कोइरालापछिका नेताको इतिहास रच्न उहाँ सफल हुनुहुने विश्वास गर्न सकिन्छ । दशकौंदेखि गिरिजाप्रसाद कोइरालाको सेपमा परेर जमराकरण हुनुभएका सुशील कोइरालाले काङ्ग्रेसको मुख्य नेताको जिम्मेवारी सम्हाल्नुभएपछि प्रजातान्त्रिक आन्दोलनले एउटा आशलाग्दो दिशा र गति प्राप्त गरेको महसुस गर्न थालिएको छ । व्यक्तिका महत्वाकाङ्क्षा तथा अन्य कमी-कमजोरीमा खेल्दै आफ्नो राजनीतिक गन्तव्य सोझयाउन माहिर मानिएका माओवादीहरू यतिबेला सर्वाधिक अप्ठेरो सुशीलबाट नै महसुस गर्दै छन् । लोभ देखाएर पनि नहुने लाभ देखाएर पनि नहुने, महत्वाकाङ्क्षा जगाउँदा पनि नजाग्ने भएपछि सुशील कोइरालाको नैतिक पहाडका अघिल्तिर माओवादीहरू लल्याकलुलुक हुने स्थिति बनेको छ । प्रजातन्त्रवादका पक्षमा दृढतापूर्वक उभिएर सुशील कोइरालाले अतिवादी एवम् अधिनायकवादीहरूलाई ललकार्नुभएको छ । गिरिजाप्रसाद कोइरालाको समयमा रुग्ण बनेको प्रजातन्त्रवाद र प्रजातान्त्रिक आन्दोलनमा हरियाली भर्ने सामर्थ्य उहाँले भर्नुभएको छ । सुशीलले प्रजातन्त्र, जनता, देश, पार्टी र शान्तिका पक्षमा दर्बिलो अडान प्रस्तुत गरिरहँदा गिरिजाप्रसाद कोइरालाबाट भएका कमी-कमजोरीहरू स्पष्ट हुँदै गएका छन् । सायद अब गिरिजाप्रसादबाट भएका गल्ती-कमजोरीहरू सच्याउने जिम्मेवारी पनि सुशील कोइरालाकै काँधमा आइपुगेको छ ।
नेता नं. दुई : प्रजातान्त्रिक आन्दोलन र प्रजातन्त्रको विकल्प दिने उद्घोषसहित मैदानमा देखापर्नुभएका साहसी नेता प्रचण्ड हुनुहुन्छ । आफ्नो हुलिया र भावनाप्रधान अभिव्यक्ति तथा कार्यशैलीका कारण नयाँ पुस्ताबीच प्रिय बन्न सफल प्रचण्ड नकारात्मक आन्दोलन र नकारात्मक प्रवृत्तिको प्रतिनिधि अगुवा पात्र हुनुहुन्छ । खुला हृदयका झैं देखिन सक्ने अत्यन्त कठोर तथा चतुर राजनीतिकर्मी प्रचण्ड पनि आफ्नो गन्तव्यमा स्पष्ट देखिनुहुन्छ । जीवनशैली राजा-महाराजाको जस्तो भए पनि गरिब तथा सर्वहाराको वास्तविक नेता भएको कला प्रस्तुत गर्न प्रचण्ड सफल रहिआउनुभएको छ । चतुर मात्र होइन, प्रचण्ड अतुलनीय रूपमा आत्मविश्वासी हुनुहुन्छ, त्यसैले उहाँमा आफूले जे पनि गर्न सक्छु भन्ने भान अविच्छिन्न ढङ्गले रहेको देखिन्छ । यही कारणले देशको अगुवाइ गर्न अरू कसैलाई उहाँ योग्य देख्नुहुन्न । आफ्नो साध्य प्राप्त गर्न प्रचण्ड जस्तासुकै साधन प्रयोग गर्न हिचकिचाउनुहुन्न र ‘क्रान्तिका निम्ति’ दिनमै चौबीसपटक वचन बदल्नुपर्छ भने पनि उहाँ त्यसका निम्ति तम्तयार रहनुभएको ठानिन्छ । एउटा परिपक्व मानिसमा हुनुपर्ने गाम्भर्ीय प्रचण्डसँग अझै दूरीमा छ । एक असल कम्युनिस्टमा अनिवार्य रूपले हुनैपर्ने ‘सिम्प्िलसिटी’को पनि उहाँमा सख्त अभाव महसुस गरिन्छ । प्रचण्ड साधन पनि आफैंलाई ठान्नुहुन्छ र साध्य पनि आफैं । आफू ‘माइनस’ क्रान्ति असम्भव ठान्नुहुने उहाँ नेपाली राजनीतिलाई कुनै समय गिरिजाप्रसाद कोइरालाले झैं आफ्नै वरिपरि घुमाइरहन चाहनुहुन्छ भन्ने प्रमाण उहाँका कार्यशैली र सोचले जुटाइरहेको महसुस धेरै गरेका छन् । जनक्रान्ति अर्थात् जनवादी क्रान्तिका नाममा आफ्नै एकछत्र शासन प्रचण्डको अभीष्ट हो । पछिल्लो चरणमा उत्पन्न गतिरोधले केही विचलित तुल्याएको भए पनि उहाँ आफ्नो गन्तव्य प्राप्तिको दिशामा दृढ हुनुहुन्छ । गिरिजाप्रसाद कोइराला जीवित रहँदाजत्तिकै सजिलो नभए पनि एक न एक दिन कुनै न कुनै रूपले ‘शत्रुहरूलाई’ ढडिया ?बाँध बनाएर पानीलाई एकोहोर्‍याउँदै माछा पक्रन प्रयोग गरिने बाँस निर्मित भाँडो)मा पार्न सकिने प्रचण्डको विश्वास अझै डगमगाएको ठानिँदैन । सपना देखाउने, युवाहरूमा साहस भर्ने र चेतनाविहीन मानिसलाई भड्काउने अभ्यासमा प्रचण्ड नेपालको इतिहासमै प्रथम हुनुभएको छ । आफ्नो व्यक्तिगत इच्छा र चाहनालाई पनि पार्टी र क्रान्तिको चाहनाझैं बनाएर प्रस्तुत गर्न सक्ने कलाका कारण धेरै नेपाली अलमलिएका छन् र प्रचण्डलाई वास्तविक नेताका रूपमा स्वीकार गर्दैै छन् । नयाँ-नयाँ खुराक ?कुराको मात्र) प्रस्तुत गर्ने क्षमताका कारण उहाँ अरूहरूले सोचेझैं चाँडै नै अस्ताउने नेताको कोटिमा पर्नुहुन्न भन्ने निष्कर्ष निकाल्न सकिन्छ । अर्को एउटा सत्य यो हो कि यही रूपका प्रचण्ड नेपाली राजनीतिमा क्रियाशील रहिरहने हो भने उहाँको क्रियाशीलताको अवधिभर नेपालले शान्ति, स्थिरता, उन्नति र अमनचैन प्राप्त गर्न मुस्किल छ । आफू पनि शान्त र स्थिर रहन नसक्ने अरूलाई पनि शान्तिसँग रहन नदिने स्वभाव-चरित्र प्रचण्डमा रहेको छ ।
नेता नं. तीन : झलनाथ खनाल नेपाली राजनीतिका रमाइलो पात्र मानिनुहुन्छ । कुनै पनि विषयमा स्पष्ट कुरा नगर्ने, स्पष्ट जस्तै लागिहाले पनि त्यसअनुरूपको व्यवहार गर्न नसक्ने तथा नचाहने, मीठो शैली र स्वरमा तीतो र अवाञ्छित कुरा पनि प्रस्तुत गर्न सक्ने, घुमेको या जेरी जस्तै जेलिएको शैलीमा कुरा गर्ने झलनाथ ‘हाफ कम्युनिस्ट र हाफ प्रजातन्त्रवादी’ मानिनुहुन्छ । आफ्नो बुद्धिमा अलिक बढी नै विश्वास गर्ने खनालका कारण नेकपा एमालेको नेतृत्वमा रहेको सरकार विस्थापित भएको छ । माओवादीका हातबाट कार्यकर्ता मर्न नदिन झलनाथले गर्नुभएको अभ्यासका क्रममा एमालेका कैयन कार्यकर्ताले ज्यान गुमाएका छन् या अङ्गभङ्ग भएर बाँच्न विवश छन् । तथापि खनालमा माओवादीप्रति एकप्रकारको संवेदनशीलता देखिन्छ । काङ्ग्रेस र माओवादीले दुई विपरीत धु्रव सिर्जना गरिरहेको परिप्रेक्ष्यमा एमालेलाई दुवैको बीचमा राख्ने ‘फर्मुला’ झलनाथले प्रयोग गरिरहनुभएको छ । काङ्ग्रेसभन्दा माओवादीलाई नजिकको मित्रशक्ति ठान्नुहुने झलनाथ खनाल माओवादीसँग नजिकिँदा देश नबने पनि आफू प्रधानमन्त्री हुन पाइने विश्वासपूर्ण भ्रममा रहिआउनुभएको छ । आईजीपी चयन प्रकरणमा व्यापारीबाट एक करोड बुझिलिएको भन्नेबाहेक अन्य ठूला भ्रष्टाचारकाण्डसँग उहाँको नाम नजोडिएको भए पनि केही जलविद्युत् आयोजनाहरूमा खनालको लगानी रहेको विषयमा भने धेरै मानिसहरू अनभिज्ञ छन् । ‘दुश्मन शक्ति’ हरूसँग आम्नेसाम्ने या मुक्कामुक्कीको भन्दा बुद्धिको लडाइँ लड्नुपर्छ भन्ने ‘दर्शन’ का पक्षपाती खनालको भूमिकाप्रति नेपालको प्रजातान्त्रिक आन्दोलन र काङ्ग्रेस पार्टी सकारात्मक देखिँदैनन् र नदेखिनु स्वाभाविक पनि छ । तर, खनालले तुलनात्मक रूपमा समीप ठान्नुभएका माओवादीहरू पनि खनालका प्रति सकारात्मक देखिँदैनन् । तथापि निश्चित कालखण्डमा प्रधानमन्त्री बनाएर या नबनाएर कुनै समय गिरिजाप्रसाद कोइराला या झापाका कृष्ण सिटौलाहरूलाई उपयोग गरेझैं झलनाथलाई माओवादीले भरमार उपयोग गर्न सक्ने सम्भावनालाई भने अस्वीकार गर्न सकिँदैन । पार्टी अध्यक्षका रूपमा झलनाथ खनालसँग जीवनमा एकपटक प्रधानमन्त्री बन्नेबाहेक अन्य कुनै राजनीतिक गन्तव्य जीवित रहेको विश्वास गरिँदैन । राजनीतिमा सुस्पष्ट लिङ्गपविहीन भूमिकामा प्रभावकारी मानिनुभएका खनालका कारण कहिले माओवादी त कहिले काङ्ग्रेस र कहिलेकाहीँ उहाँको आफ्नै नेता तथा कार्यकर्ताले समेत धोखा पाइरहेको पृष्ठभूमिमा झलनाथबाट देश, प्रजातन्त्र र एमाले पार्टीले अन्तिम धोखा पाउन बाँकी रहेको ठानिन्छ र प्रतीक्षा पनि त्यसैको भइरहेको देखिन्छ । माओवादीको बहकाउमा लागेर आफ्नै पार्टी नेतृत्वको सरकारलाई विस्थापित गर्न खनालले निर्वाह गर्नुभएको भूमिकालाई पनि एमाले पार्टी र प्रजातान्त्रिक आन्दोलनमाथिको धोखाका रूपमा लिइएको छ । आफ्नै शैली र सोच सच्याउन सक्नुभएन भने उहाँले एमाले मात्र होइन आफू स्वयम्को राजनीतिक भविष्य पनि चरम् सङ्कटमा पार्ने सङ्केत दिइसक्नुभएको छ ।
यसरी तीन प्रमुख पार्टीका प्रमुख नेताहरूमध्ये सुशील कोइराला प्रजातन्त्र र प्रजातान्त्रिक आन्दोलन सुदृढीकरणमा, प्रचण्ड अधिनायकवाद ?सर्वहाराको !) स्थापना र सुदृढीकरणमा सुस्पष्ट ढङ्गले क्रियाशील हुनुभएको छ । तर, बिचरा झलनाथ खनाल भने अरूको गन्तव्य अभियानमा छिड्के हानेर ‘अण्डा पार्ने’ बौद्धिक लडाइँ लड्दै हुनुहुन्छ । देशको राजनीति यस्तै रहिरहने हो भने शान्तिपूर्ण सुखी जीवनलाई गन्तव्य बनाउन चाहने नेपाली जनताको आकाङ्क्षा कहिले पूरा हुन सक्ला ? सायद झलनाथ खनालहरू बेखबर छन्, त्यसैले भूमिका पनि अन्योल, अनिश्चिय र अस्थिरता बढाउनेतर्फ नै केन्द्रित देखिएको छ ।