इरानका राष्ट्रपति सवार हेलिकप्टर बेपत्ता, खोजी जारी

इरानका राष्ट्रपति सवार हेलिकप्टर बेपत्ता, खोजी जारी


इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब मौसमबीच दुर्घटनामा परेको छ । राष्ट्रपतिको खोजी जारी रहेको र उनको अवस्थाबारे कुनै खबर प्राप्त नभएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

‘राष्ट्रपति सवार हेलिकप्टर पूर्वी अजरबैजानको पश्चिमी प्रान्त जोफा क्षेत्रमा दुर्घटना भएको छ’, सरकारी टेलिभिजनले भनेको छ ।

खोज र उद्धार टोली दुर्गम पहाडी क्षेत्रमा गएको थियो, मुलुकको सरकारी सञ्चारमाध्यमले बताएको छ । हेलिकप्टरमा विदेशमन्त्री होसेन अमीर-अब्दुल्लाहियान पनि सवार थिए ।

‘खराब मौसम र बाक्लो कुहिरोका कारण उद्धार टोलीलाई दुर्घटनास्थलमा पुग्न कठिन भएको छ’, सरकारी टिभीको अन–स्क्रिन समाचार अलर्टमा भनिएको छ । सरकारी टिभीले इरानी रेड क्रिसेन्ट टोली बाक्लो कुहिरोमा ढलानमा हिँडिरहेको र रायसीको गृहनगर मशहद सहरमा इमाम राजको पवित्र मन्दिरमा प्रार्थना गर्ने उपासकहरूको भीडको लाइभ फुटेज पनि प्रसारण गरेको छ ।

आधिकारिक आइआरएनए समाचार एजेन्सीका अनुसार आइतबारको दुर्घटना वारजाघन शहरनजिकै दिमारको पहाडी संरक्षित वन क्षेत्रमा भएको हो ।

त्रिसठ्ठी वर्षीय रायसी आइतबार प्रान्तको भ्रमणमा पुगेका थिए । त्यहाँ उनले आफ्ना अजरबैजानी समकक्षी इल्हाम अलिएभसँग मिलेर दुई देशको सीमामा बाँध परियोजनाको उद्घाटन पनि गरेका थिए ।

इरानी राष्ट्रपतिको सवारीमा तीनवटा हेलिकप्टर थिए । अन्य दुई हेलिकप्टर सुरक्षितरूपमा आफ्नो गन्तव्यमा पुगेको तस्निम समाचार एजेन्सीले जनाएको छ । हेलिकप्टरमा विदेशमन्त्री र स्थानीय अधिकारी रायसीकै हेलिकप्टरमा सवार रहेको आइआरएनएले जनाएको छ ।

सुधारवादी शार्ग दैनिकले पनि ‘राष्ट्रपति बोकेको हेलिकप्टर दुर्घटनामा परेको र दुई अन्य हेलिकप्टर सकुशल अवतरण भएको’ बताएको छ ।

पछि गृहमन्त्री अहमद वाहिदीले हेलिकप्टरहरूमध्ये एउटा ‘खराब मौसमका कारण कठिन अवतरण भएको र विमानसँग सञ्चार स्थापना गर्न गाह्रो’ भएको बयान दिएका छन् ।