पूर्व मन्त्री चिरञ्जीवी वाग्ले पक्राउ

पूर्व मन्त्री चिरञ्जीवी वाग्ले पक्राउ


हिजो बुधबार सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गर्दै जरिवानासहित डेढ वर्ष कैद सजाय सुनाएको कङ्ग्रेस नेता तथा पूर्व मन्त्री चिरञ्जीवी वाग्ले घरैबाट पक्राउ परेका छन्।

सार्वजनिक पदमा रहँदा पदीय दुरुपयोग गरी गैरकानुनी ढंगले स्रोत नखुलेको सम्पति आर्जन गरि भ्रष्टाचार गरेको भनि विशेष अदालतले २०६१ साउनमा सुनाएको फैसलाभन्दा कम बिगो कायम गरि अदालतले भ्रष्टाचार गरेको ठहर गर्दै २ करोड ३ लाख रुपियाँ जरिवाना र १८ महिना जेल सजाय तोकेको थियो। प्रधान न्यायाधीश रामप्रसाद श्रेष्ठ र सर्वोच्चका वरिष्ठ न्यायाधीश खिलराज रेग्मीको संयुक्त इजलासले उनले सार्वजनिक ओहोदामा रहँदा अकुत सम्पत्ति आर्जन गरेको ठहर गर्दै उक्त फैसला सुनाएको हो।

विशेष अदालतले उक्त मुद्दामा वाग्लेले गैरकानुनीरुपमा सम्पत्ति आर्ज गरी आफ्ना छोरा देवेन्द्र वाग्लेका नाममा लुकाएर भ्रष्टाचार गरेको भन्दै २ करोड ७२ लाख जरिवाना र २ वर्ष ३ महिना कैद सजाय सुनाएको थियो। सर्वोच्चले कैद र जरिवाना दुवै घटाएको छ।

नेपालकै इतिहासमा अकुत सम्पत्ति आर्जनको मुद्दामा सजाय पाउने वाग्ले पहिलो मन्त्री हुन्।