लुम्बिनी विकास कोष बन्द हुनुमा कसको दोष ?

लुम्बिनी विकास कोष बन्द हुनुमा कसको दोष ?


लुम्बिनी विकास कोष
रूपन्देही/ कर्मचारी आन्दोलन र तराई बन्दका कारण बुद्ध जन्मस्थल लुम्बिनीस्थित लुम्बिनी विकास कोषको कार्यालय गत चार महिनादेखि बन्द रहे पनि कार्यालय सुचारु गराउनेतर्फ सम्बन्धित कसैले खासै चासो नदिँदा अन्योल बढेको गुनासो कोषका कर्मचारीहरूले गरेका छन् । कार्यालय बन्द रहेको कारण पर्यटक प्रवेश शुल्कबाट आम्दानी हुने दैनिक पाँच लाख गुमेको कोषका सूचना अधिकृत हरि राईको कथन छ । राईका अनुसार पर्यटक आगमनको मुख्य मौसम भएकाले कोषको आम्दानीमा ठूलो नोक्सानी भएको छ ।

विगतका वर्षमा अक्टोबरदेखि फेब्रुअरीसम्म पर्यटकको घुइँचो लाग्ने गरेको लुम्बिनीमा चालू वर्षको यस मौसममा निराशा छाएको छ । मायादेवी मन्दिरमा प्रवेश खुला भए पनि पर्यटक आगमन पातलो छ । फाटफुट आउने पर्यटक नि:शुल्क घुमेर फर्कने गरेका छन् । कोषका पदाधिकारी असुरक्षाको कारण जनाउँदै काठमाडौंस्थित सम्पर्क कार्यालयमा बस्ने गरेका छन् । लुम्बिनीका होटेल तथा पर्यटन व्यवसायी पनि विस्थापित भएका छन् ।
ज्यालादारी कर्मचारीहरूले नियमित गरिनुपर्ने माग गरी कोषको प्रवेशद्वारमा धर्ना बसेका र स्थायी कर्मचारीले असुरक्षा, इन्धन र यातायात असुविधाको कारण जनाउँदै कार्यालय नखोलेकाले लुम्बिनी अस्तव्यस्त भएको छ । जताततै फोहोरमैला थुप्रिएको छ । यसले पर्यटकहरूमा नकारात्मक प्रभाव पारेको छ ।

पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले कोषका पदाधिकारीहरूलाई काठमाडौंमै भए पनि बोर्ड बैठक बसेर समस्या समाधान गर्न निर्देशन दिए पनि काम भएको छैन । कोषका सदस्यसचिव अजितमान तामाङले कोषका ७३ जना ज्यालादारी कर्मचारी नियमित गर्न माग गरेर आन्दोलित भए पनि तराई बन्द हल भएपछि सबै समस्या हल गर्ने प्रतिबद्धता जनाएका छन् ।

स्थानीय समाजसेवी नरेन्द्र मिश्रले गत चार महिनादेखि लुम्बिनी विकास कोषमा तालाबन्दी हुँदा पनि कोषका पदाधिकारीले समाधान गर्न पहल नगरेकोले लुम्बिनी अस्तव्यस्त भई विश्वमाझ नराम्रो सन्देश फैलिएको गुनासो गरेका छन् ।
– चन्द्रकान्त खनाल