कांग्रेसलाई आर्यघाट नपुर्‍याएसम्म कोइरालाले नछोड्ने

कांग्रेसलाई आर्यघाट नपुर्‍याएसम्म कोइरालाले नछोड्ने


तेह्रौँ महाधिवेशनमा पुन: सभापतिको उम्मेदवार बन्ने हठबाट सुशील कोइराला अझै पछि हट्नुभएको छैन । वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल सभापतिको उम्मेदवार बन्ने उद्घोषका साथ जिल्ला–जिल्लाको भ्रमण गरिरहनुहुँदा सुशील कोइराला राजधानीको आफ्नो निवासस्थानमा हिटरमा सेकिएर ज्यान सुरक्षित राख्ने प्रयास गर्दै हुनुहुन्छ । यसअघिको महाधिवेशनमा राजधानी नछोडीकन प्राप्त सफलताको ‘ह्याङओभर’बाट कोइराला मुक्त हुनुभएको छैन । त्यसैले कोइराला परिवारको विरासद धान्न कोठेराजनीति नै पर्याप्त रहेको उहाँ अहिले पनि ठान्दै हुनुहुन्छ र लाखौँ नयाँ क्रियाशील सदस्यहरूलाई मताधिकारबाट वञ्चित गर्न सके पुन: आफैँ सभापति बन्न सक्ने विश्वासका साथ उहाँ यस्तो ‘सुकेधन्दा’मा लाग्नुभएको छ ।
Sushil Koirala
पार्टीपङ्क्तिभित्र कोइरालाको साखमा भारी गिरावट आएको छ, तर उहाँले यसको भेउ पाउनुभएको छैन । दशकौँदेखि सहयोगी भूमिका निर्वाह गर्दै आउनुभएका उपसभापति रामचन्द्र पौडेललाई वरिष्ठ उपसभापति या संसदीय दलको नेतासहित प्रधानमन्त्री बनाइदिने आश्वासन दिएर थामथुम पार्न सकिने भ्रममा कोइराला हुनुहुन्छ । यसपटक सभापतिको उम्मेदवार बन्नेबाहेक अन्य कुनै पनि आश्वासनले पौडेलको चित्त बुझाउन सकिँदैन भन्ने यथार्थबोध उहाँलाई भइरहेको छैन । आनन्द ढुङ्गाना, दिलबहादुर घर्ती, मृदुला कोइराला, दिलेन्द्र बडु, महेश आचार्य, शशांक कोइराला, सुजाता कोइराला, पद्मनारायण चौधरी र फर्मुल्लाह मन्सुरजस्ता व्यक्तिहरूको जमातलाई सुशील कोइरालाले पार्टीको सर्वश्रेष्ठ टिम ठान्नुभएको छ । पार्टीमा स्थापित नेताहरू रामचन्द्र पौडेल र डा. रामशरण महत सुशील कोइराला र उहाँको टोलीका निम्ति आँखाको कसिङ्गर बन्नुभएको छ । यी दुई नेताहरू नभइदिएका भए कोइराला पक्षभित्र कुनै प्रकारको असहजता देखापर्ने थिएन भन्ने उहाँहरूको ठम्याइ छ ।

पछिल्लो समयमा कृष्ण सिटैलाप्रति पनि सुशील सकारात्मक हुनुहुन्न । गणेशमानपुत्र प्रकाशमान सिंहलाई गहनाको रूपमा प्रयोग गर्दै कोइराला परिवारको मुठ्ठीमा कांग्रेसलाई राख्ने तानाबाना बुन्न सुशीलले अधिक समय दिइरहनुभएको बुझिन्छ । सुशील कोइराला आफैँ सभापति बन्न इच्छुक रहेको र रामचन्द्र पौडेललाई अघि बढाउने पक्षमा नरहेको बुझेपछि विगतमा कोइराला क्याम्पमा रहेका कैयन नेता तथा कार्यकर्ता क्याम्प परिवर्तन गरेर शेरबहादुर देउवालाई साथ दिने निर्णयमा पुगिसकेका छन् । महाधिवेशनसम्ममा यो क्रम बढेर चुलीमा पुग्ने देखिएको छ । रामचन्द्र पौडेललाई सभापतिको उम्मेदवार बनाउँदा पौडेल विजयी बने पार्टीमा देउवा र पौडेल दुई शक्तिकेन्द्र बन्न सक्ने, पौडेल देउवासँग पराजित भए पनि पौडेल र देउवा नै शक्तिकेन्द्रका रूपमा रहने र कोइराला परिवारको शक्ति क्षीण हुने भएकोले सुशील कोइराला रामचन्द्र पौडेललाई सभापतिको उम्मेदवार बनाउने पक्षमा नरहनुभएको बताइन्छ । देउवासँग पराजित हुनुपरे पनि कोइराला परिवार शक्तिकेन्द्रका रूपमा रहिरहने विश्वासका कारण सुशील आफैँ उम्मेदवार बन्ने मानसिकतामा रहनुभएको छ ।

पौडेलले के गर्नुहोला ?
सभापतिको सम्मावित उम्मेदवारका रूपमा रामचन्द्र पौडेलले कार्यकर्तामाझ आफूलाई प्रस्तुत गरिहनुभएको भए पनि अझै कतिपय नेता–कार्यकर्ता पौडेल आफ्नो अडानमा कायम रहने विश्वास गर्दैनन् । अन्तिम क्षणमा पौडेलले कोइरालालाई नै साथ दिनुहुने अनुमान धेरैको छ । विगतमा पौडेलले अन्तिम क्षणमा गएर कोइरालालाई साथ दिने गर्नुभएकोले पार्टीभित्र उहाँले ‘खुट्टा छोड्ने’ अनुमान गर्नेहरूको सङ्ख्या अधिक देखिएको हो । तर, यसपटक रामचन्द्र पौडेल सुशील कोइरालासँग सती जाने पक्षमा हुनुहुन्न । बरु सुशीलले आफूलाई साथ दिएनन् भने देउवासँग सहकार्य गरेर भए पनि कोइरालाको पारिवारिक राजनीतिक अन्त्य गराउन पौडेलले निर्णायक भूमिका निर्वाह गर्नुहुने प्रबल सम्भावना छ । देउवा र पौडेलबीच सहमति बनेमा कांग्रेस पार्टी कोइरालामुक्त हुने निश्चित मानिएको छ ।

देउवाको कार्यनीति

शेरबहादुर देउवा यसपटक निकै परिपक्व ढङ्गले अघि बढ्दै हुनुहुन्छ । महामन्त्री, सहमहामन्त्री, उपसभापति र कोषाध्याक्षजस्ता पदहरूमा आवश्यकताअनुसार जोकसैलाई चयन गर्नसक्ने सुविधामा रहनुभएका देउवा सभापतिबाहेक कुनै पनि पदमा जोकसैसँग सम्झौता गर्न तयार हुनुहुन्छ । उहाँ विधान संशोधन गरी महामन्त्री र उपसभापति पदसङ्ख्या बढाउने पक्षमा हुनुहुन्न । ‘यो’ र ‘त्यो’ पक्ष भनी कसैलाई काखा र पाखा गर्ने मानसिकता पनि देउवाले बनाउनुभएको छैन । रामचन्द्र पौडेललाई प्रधानमन्त्री तथा संसदीय दलको नेता र पार्टीमा सम्मानित स्थान दिन देउवा तयार रहनुभएको बताइन्छ । पौडेलको बेग्लै धु्रव बन्न कोइरालाले नदिनुको लाभ उठाउने सोच देउवाले बनाउनुभएको छ ।

सुशील कोइराला र रामचन्द्र पौडेलबीच उत्पन्न तनावले पनि देउवालाई नै लाभ पुर्‍याइरहेको छ । साठी र चालीस प्रतिशतका दरले भागबन्डा गर्ने परम्पराले पार्टीलाई बलियो नबनाउने निष्कर्षमा पुग्नुभएका देउवाले कसैप्रति पूर्वाग्रह नराख्ने र सबैथरीलाई समेटेर अघि बढ्ने सोच बनाउनुभएको बुझिएको छ ।
यसैबीच प्राप्त अर्को एक जानकारीअनुसार सभापतिका कुनै पनि उम्मेदवारहरूले आफूलाई महामन्त्रीको उम्मेदवार (निर्वाचित) नबनाए सभापति पदमा उम्मेदवारी दिने योजना अर्जुननरसिंह केसीले बनाउनुभएको छ । ज्ञातव्य छ, केसीले सुशील कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेल तीनैजनासँग सम्बन्ध र सम्पर्क कायम राख्नुभएको छ । देउवा र पौडेलप्रति अलिक निकट रहेका केसीले दुवै नेतासँग आफूलाई महामन्त्रीको उम्मेदवार बनाए सभापतिमा सहयोग गर्ने वचन दिनुभएको छ ।

त्यस्तै महामन्त्री कृष्ण सिटौला पनि सभापतिको उम्मेदवार बन्न इच्छुक रहनुभएको छ । सिटौलालाई यसपटक तीन प्रमुख नेताहरूले महत्त्व नदिएकोले उहाँ पुन: महामन्त्री बन्न सम्भव देखिएको छैन । त्यसैले सिटौला पनि सभापतिमा उम्मेदवारी दिने भन्दै नेताहरूलाई आफूसँग सहमतिमा ल्याउन प्रयास गर्दै हुनुहुन्छ । नयाँ पुस्ताबाट सम्भाव्य सभापतिको रूपमा हेरिएका डा. रामशरण महत भने अहिलेसम्म मौन हुनुहुन्छ । उपसभापति या महामन्त्री पदमा दाबी रहे पनि कुनै नेतासँग अहिलेसम्म उहाँले आफ्नो इच्छा प्रस्तुत गर्नुभएको छैन । डा. महतले सभापतिमा कसलाई समर्थन गर्नुहुने हो प्रतीक्षाको विषय बनेको छ । नेताहरू लक्ष्मणप्रसाद घिमिरे र डा. नारायण खड्कालगायतले कसलाई समर्थन दिने हुन् सो पनि स्पष्ट हुन सकेको छैन ।

कांग्रेसभित्र सुशील कोइरालाको हठलाई लिएर निकै तिखा टीका–टिप्पणीहरू हुने गरेका छन् । धेरैको भनाइ छ– ‘सुशीलले यो कार्यकालमा पार्टीलाई सिकिस्त बिरामी बनाए, अब उनी सायद कांग्रेसलाई आफूसँगै आर्यघाट लिएर जान चाहन्छन् ।’