रामचन्द्र किन लागे दिल्लीतिर ?

रामचन्द्र किन लागे दिल्लीतिर ?


नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल भारतको पाँचदिने भ्रमणका निम्ति सोमबार बिहान काठमाडौंबाट दिल्लीतर्फ प्रस्थान गर्नुभएको छ । पौडेल बाबा रामदेवको निमन्त्रणामा भारत भ्रमणमा जानुभएको हो । उहाँले हरिद्वारमा आयोजित विशेष समारोहमा सहभागिता जनाउनुहुने र त्यसपछि महत्त्वपूर्ण राजनीतिक भेटघाट तथा छलफलमा पौडेल सरिक हुनुहुने बुझिएको छ । पौडेलका साथ कांग्रेसका युवा नेता शालिग्राम सिंह पनि भारत जानुभएको छ । प्राप्त जानकारीअनुसार पौडेलले नयाँदिल्लीमा विदेशमन्त्री सुष्मा स्वराज, प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभाल, प्रभावी नेता राममाधव सिंह, गृहमन्त्री राजनाथ सिंह र कङ्ग्ेरस नेता कर्ण सिंहलगायतसँग भेटवार्ता गर्नुहुनेछ । प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि पौडेलको भेटवार्ताको प्रयास भइरहेको छ । नेता पौडेल प्रधानमन्त्री मोदीसँग आफ्नो भेट हुनेमा विश्वस्त रहनुभएको छ ।
रामचन्द्र पौडेल
नेपाली कांग्रेसको तेह्रौँ महाधिवेशन सन्निकट रहेका बेला भएको पौडेलको भारत भ्रमणलाई अर्थपूर्ण मानिएको छ । पौडेलले भने आफ्नो भ्रमण दुईपक्षीय असझदारीलाई हटाएर नेपाल–भारत सम्बन्धलाई पूर्ववत् सहज एवम् मित्रवत् बनाउन सफल हुने विश्वास गर्नुभएको छ । नयाँदिल्लीतर्फ प्रस्थान गर्नुअघि घटना र विचारसँग कुरा गर्दै पौडेलले भन्नुभयो, ‘नेपाल र भारतबीच यसप्रकारको असहजता पैदा हुनु उचित होइन, मेरो प्रयास दुईपक्षीय सम्बन्धलाई सहज बनाएर नाकाबन्दी हटाउने कुरामा केन्द्रित हुनेछ ।’ भारतसँगको सम्बन्ध सुधारमा सरकारी उदासीनताले आफूलाई चिन्तित बनाएको बताउँदै पौडेलले भन्नुभयो, ‘मैले आफ्नोतर्फबाट सकारात्मक परिणाम ल्याउने सम्पूर्ण प्रयास गर्नेछु ।’