प्रचण्ड पनि उपनिवेशवादी हुन्

प्रचण्ड पनि उपनिवेशवादी हुन्


Mahanta_Thakur
:: महन्थ ठाकुर (तमलोपा अध्यक्ष) ::

० तपाईंहरू त सहमति–सहमति भन्दाभन्दै विमतितिरै जानुभयो, फेरि पनि आन्दोलनको नयाँ कार्यक्रम किन घोषणा गर्नुभयो ?
– देशमा जबसम्म भेदभाव रहन्छ तबसम्म असन्तोष रहन्छ । र, यस्तो असन्तोषको समुचित सम्बोधन बेलैमा गरिँदैन भने त आन्दोलन चलिरहने नै भयो नि ।

० आन्दोलन त ज्यादा नै भइसक्यो, त्यसमाथि तपाईं सहमति, सहकार्य, एकता र संवादबाट मात्र निकास निस्कन्छ भन्नेमा विश्वास राख्ने व्यक्ति हुनुहुन्छ, आन्दोलनको कुरा बेमौसमको बाजा भएन र ?
– कसैलाई बेमौसमको बाजाजस्तो लागे पनि हामीलाई यो गर्नैपर्ने बाध्यता छ । वार्ताका लागि अनेक कमिटी बने, तर हाम्रो कुरा आएन । अनेक सम्झौताहरू पनि भएका छन्, तर कार्यान्वयन गरिएन । संविधान बन्दा पनि पहिलेका सहमति–सम्झौताहरूको पूरै बेवास्ता गरियो । राज्य पुनर्संरचना आयोगद्वारा आएको प्रतिवेदनले सुझाएका कुरा पनि लागू गरिएन । निकै फास्ट ट्रयाक प्रयोग गरेर हतार–हतार संविधान बनाइयो, तर मधेसी, जनजाति, उत्पीडित, दलित, थारू, मुस्लिम आदि कसैको समस्या सम्बोधन गर्न नसक्ने गरी संविधान ल्याइयो । यस परिस्थितिमा गरिएको आन्दोलन बेमौसमको बाजा हुन सक्दैन ।

० मधेसको माग त सम्बोधन हुने दिशामा गइसक्यो भनेका छन् नि नेताहरूले, संविधान संशोधनको कार्य पनि सुरु भएको छ त ?
– कसरी गयो त सम्बोधन हुने दिशामा ? गफमा सम्बोधन भएर त हुँदैन नि । वार्ता गर्ने भनिन्छ, बैठक बस्छ, त्यत्तिकै समय टारिन्छ । जहाँसम्म संशोधनको प्रक्रिया सुरु भएको भन्ने सन्दर्भ छ, हामीले यो संशोधनलाई गहिरिएर नियालेका छौँ, यसले हाम्रो माग या चाहनालाई सम्बोधन गर्न सकेको छैन । यस्तो काइते पाराले मधेसको समस्या सुल्झँदैन, बरु बल्झाउँछ ।

० तपाईंहरूको मुख्य मुद्दा समावेशी, समानुपातिक, जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र र सीमाङ्कन हो क्यारे, यो पूरा गर्न त काङ्ग्रेस, एमालेहरू लागिसके नि, होइन र ?
– लागेका छैनन् । मुखले लागेर भएन, अन्तस्करणबाट उनीहरू लागेकै छैनन् । खालि अलमल्याउन मात्र खोजिरहेका छन् । यो बहुराष्ट्रिय देश हो, तर उनीहरू एकल जातीय स्वभाव प्रदर्शन गरिरहेका छन् । एक भाषा एक भेषको व्यवहार गरिरहेका छन् । एउटा जात, एउटा भाषाको वर्चश्व स्थापित गर्न खोजेर त्यो राष्ट्र हुन्छ ? ५१ प्रतिशत जनता मधेसमा बस्छन्, तर ती मधेसीमाथि दोस्रो दर्जाको नागरिकको व्यवहार गरिएको छ । यसरी त समाधान कहिल्यै निस्कँदैन ।

० तपाईंहरू त मधेस प्रदेशबाट मधेस देशकै कुरा गर्न थाल्नुभयो भन्ने आरोप पनि लाग्न थालेको छ नि ?
– अब यस्तै व्यवहार गर्ने, भित्रैमा पुर्‍याएर पनि नपुगी बाहिरै ठेल्न खोज्ने गरेपछि प्रदेशको ठाउँमा देशकै नारा लाग्नु के अनौठो भयो त ? आफ्नै देशको नागरिकलाई नागरिक नमानी विदेशी ठान्ने, भारतीय भन्ने ? हामी बाहिरबाट आएर बसेका हौँ ?

० तपाईंहरू विखण्डनवादी नै हो त ?
– होइनौँ, तर जबर्जस्ती त्यही बाटोमा धकेल्ने दुष्प्रयास भइरहेको छ । हामी विखण्डनवादी कहिल्यै छैनौँ, हाम्रो एजेण्डामा पनि त्यस्तो केही लेस मात्र पनि छैन ।
Mahantha
० पुष्पकमल दाहाल प्रचण्डले त तपाईंको नामै लिएर महन्थजीहरू नेपाललाई सिक्किमीकरणको बाटोमा लैजाँदै छन् भने नि, के भन्नुहुन्छ ?
– सिक्किमीकरण प्रचण्डजस्ता नेताले मधेसमा गरेका छन् । हामी त मधेस छोडेर पहाडमा बस्न गएका छैनौँ । यो प्रजातन्त्रको युगमा पनि मधेसमा प्रचण्डहरूको औपनिवेशिक शासन चलिरहेको छ । आफ्नै भूमिका हामी अवाञ्छित व्यक्ति (नचाहेका व्यक्ति)को पीडा भोगिरहेका छौँ ।

० प्रचण्डजीहरूले भनेजस्तो तपाईंहरूले भारतको एजेण्डा बोकिरहेको होइन त ? नेपाललाई कमजोर तुल्याउन, टुक्र्याउन चाहेको होइन त ?
– प्रचण्डजीको अभिव्यक्ति त के–के आउँछ, आउँछ, बिहान एकथोक आउँछ, बेलुका पूरै अर्को आउँछ । यस्ता व्यक्तिले कसमाथि कतिबेला के आरोप लगाउँछन्, के टुङ्गो ? आफ्नो सेनालाई लडाइँको मैदानमा छोडेर भाग्ने सेनापतिमाथि कसले विश्वास गर्छ ? प्रचण्ड त्यस्तै व्यक्ति हुन् । यिनले कतिबेला कसलाई बोक्छन्, कतिबेला कसलाई टोक्छन् कुनै ठेगान हुँदैन । यस्ता व्यक्तिले लगाएको आरोप बेकार हो । प्रचण्डका अभिव्यक्तिले समस्या झन् बल्झाइदिएको छ ।

० तपाईंहरू विखण्डनकारी नभए अतिवादी त हो नि, होइन ?
– आफ्नो पहिचान, सम्मान र अधिकार खोज्दा अतिवादी ठहरिनुपर्ने मधेसीले मात्र कि अरूले पनि ? के आधारमा हामी अतिवादी ? यस्तै अतिशयोक्तिपूर्ण आरोप लगाएर त हो मधेसले कडा आन्दोलनको बाटो रोज्नुपरेको ।

० तपाईं त राष्ट्रकै नेताको हैसियत बनिसकेको नेता हो, किन यसरी मधेसको मात्रै कुरा गर्नुहुन्छ ?
– बोलीले राष्ट्रकै नेता भनिदिने व्यवहारमा चाहिँ ठेल्दै भगाएर सीमा कटाउन खोज्ने ? अहिलेसम्म भइरहेको के यही होइन ? के यही हो राष्ट्रिय नेतालाई दिने सम्मान ?

समस्या समाधानको एउटा अहम् चाबी आजको दिनमा तपाईंको हातमा छ, त्यो भनेको रक्सोल नाका खुलाउने हो । के तपाईं यो चाबी प्रयोग गरेर नेपाल र समस्त नेपालवासीको मन जित्न चाहनुहुन्न ?
– त्यो भोटेताल्चाको चाबी हाम्रो हातमा छैन, नेपाल सरकारले खोसेर लिएको छ । ताला मात्रै हाम्रो हातमा छ, चाबी सरकारको हातमा छ । अब कसरी खोल्ने हो– त्यो काम सरकारकै हो । तर के गर्नु ? सरकार चाबीले खोल्नै चाहँदैन, बन्दुकले खोल्न चाहिरहेको छ । चाबीले खुल्ने कुरालाई लाठी र बन्दुकले खोल्न खोजेपछि के हुन्छ † क्रिमिनलहरूबाट आन्दोलनकारीमाथि आक्रमण गराएर खोल्न चाहेको छ सरकारले । यस्तो उल्टो र अन्यायपूर्ण उपाय अवलम्बन गर्न खोजेपछि त्यो ताल्चा खुल्ला त ?

० तत्काल नाका खुल्छ भन्ने कुरा आएको छ, त्यसो भए के खुल्दैन त ?

– होइन यत्तिकै कसरी खुल्छ ? हाम्रो हातमा भएको चाबी खोस्ने, अनि ताल्चामा बन्दुक झोस्ने † कसरी खुल्छ ? खुल्दैन । समाधान नदिएसम्म खुल्दैखुल्दैन । बेलाबेलामा कुरा फेर्ने, कहिले के भन्ने कहिले के भन्ने ! यस्तोमा नाका खुल्ने त होइन बरु अझै कसिँदै जान्छ ।

० छिमेकी भारतले त अब नाका सहज हुनुपर्छ भनिसकेको छ, यसलाई कसरी बुझ्ने ?

– भारतले एउटा असल छिमेकीको नाताले हरदम असल र सकारात्मक सुझाव नै दिइरहेको छ । यो नेपालको समस्या भएकाले नेपालभित्रैबाट समाधान हुनुपर्छ भनिरहेको छ ऊ, हामी पनि यही भनिरहेका छौँ, हुनुपर्ने नै यही हो । तर, मनमा खोट राख्ने शासकहरू दोष भारततिर पन्छाएर समस्या बल्झाउँदै छन् । भारतलाई जबर्जस्ती घसेटिरहेका छन् ।

० तपाईंहरूकै कारण कालोबजारियाको बिगबिगी बढ्यो पनि भन्छन्, के भन्नुहुन्छ ?

– सामान चोरेर ल्याउने, मनपरी मूल्य लगाएर बेच्ने काम सरकार गरिरहेछ, अनि कालोबजारियाको आरोपचाहिँ मधेस र मधेसीले खेप्नुपर्ने ? यही भएर त मधेस झन्–झन् सल्कनुपरेको छ त । आज मधेस यति पीडित भएको छ कि बयान गरी साध्य छैन । मधेसको बाटोबाट सामान ल्याउँछ, त्यो सामान मधेसका जनतालाई पनि आवश्यक पर्छ भन्ने सरकार हेक्का राखिरहेको छैन । यही त हो विभेद भनेको, तिरस्कार र उपेक्षा भनेको । के मधेसले बाँच्नुपर्दैन ? यहाँ त यस्तो व्यवहार भइरहेको छ कि बिमार भएर रोगी अस्पताल पुगेको छ, तर उपचार दिनुको साटो यो मरिदिए त हाइसञ्चो हुन्थ्यो भन्दै बिमार व्यक्ति छटपटिएको मग्नसँग हेर्ने काम भइरहेको छ । यसरी नै गरिन्छ समस्याको समाधान ?

० तपाईंहरूको एघारबुँदे मागमा कतिवटा पूरा भएमा तपाईंहरू मान्नुहुन्छ ?
– आजसम्म एउटै मागको सम्बोधन भएन, एघारै मागको ठोस सम्बोधन नभएसम्म हामी आन्दोलनको मैदानबाट पछि हट्ने छैनौँ । यसपटक पनि पछि हट्यौँ भने भोलि आन्दोलनको कुरा मात्रै गर्न सक्ने अवस्थामा पनि हामीलाई बाँकी राखिनेछैन भन्ने हामीले राम्ररी बुझेका छौँ ।

० मधेसी मोर्चा ओली सरकारलाई विस्थापित गरेर नयाँ सरकारमा सहभागी हुने मौका खोज्दै छ भन्ने चर्चा पनि सुनिन थालिएको छ, यस्तो सम्भावना छ ?
– हामीलाई हाम्रो एघारबुँदे मागसँग सरोकार छ, यस्ता बेतुके कुरा न हामीले सोचेका छौँ, न ध्यान दिने फुर्सद नै छ । सरकार जसको होस्, हाम्रो माग पूरा हुनुपर्‍यो, वश, अहिलेका लागि हाम्रो ध्यान फगत् यत्तिमा छ ।