हो, ‘बिन्दास–३’ले ‘अडल्ट सर्टिफिकेट’ पाएको छ

हो, ‘बिन्दास–३’ले ‘अडल्ट सर्टिफिकेट’ पाएको छ


:: शुभेच्छा थापा ::
subhechchha

० तपाईं रङ्ग तथा सिनेक्षेत्रमा कहिले प्रवेश गर्नुभयो ?
– बाल्यकाल अर्थात् स्कुलेजीवनदेखि नै म रङ्गमञ्चमा काम गर्थें । यो ०५०/५१ सालतिरकै कुरा हो । स्कुल सकिनेबित्तिकै म ड्रामाको तालिम गर्न पुग्थेँ ।

० सुरुमा त तपाईं टेलिफिल्ममा काम गर्नुहुन्थ्यो, होइन ?
– हो । मैले कुनैबेलाको चर्चित टेलिशृङ्खला देवीमा पनि खेल्ने मौका पाएँ । अत्यन्त लोकप्रिय उक्त टेलिशृङ्खला लय सङ्ग्रौलाले निर्देशन गर्नुभएको हो । यस्तै, प्रकाश सायमीले बनाउनुभएको मैथिली टेलिचलचित्र ‘हंस चलल प्रदेश’मा १२–१३ वर्षकै उमेरमा काम गर्ने मौका पाएँ । पाँच भागको उक्त टेलिचलचित्र एनटीभीबाटै प्रसारण भएको थियो । यस्तै–यस्तै क्रममा पछि ०६२/६३ मा फिचर फिल्म ‘ध्रुवतारा’बाट मेरो ‘कमब्याक’ भएको हो ।

० त्यसपछि…?
– त्यसपछि त आकाश अधिकारीको ‘क्रोध’, दयाराम दाहालको ‘अग्निज्वाला’, टंक लम्सालको ‘प्रहार’लगायत निकै चलचित्रमा मैले अवसर पाएँ ।

० सानो पर्दा र ठूलो पर्दा दुवैमा काम गरेको आधारमा कुनमा बढी व्यावसयिकता पाउनुभयो तपाईंले ?
– त्यतिबेलाको कुरा गर्नुपर्दा टेलिसिरियल र म्युजिक भिडियोमा मैले निकै कामको मौका पाएकी थिएँ । टेलिसिरियल पथभ्रष्ट, बद्री अधिकारीको सहयात्री, खुसी पलभरको, म आफँैले निर्माण गरेको ‘यहाँको चलन’लगायत म्युजिक भिडियोहरू ‘रुन्छ नि मन किन रुँदैन’, डाली पलायोजस्ता लोकप्रिय पचास–साठी लोकभिडियोहरूमा मैले त्यतिबेलै काम गरेँ, जसले व्यावसायिक रूपमा पनि मलाई सन्तुष्टि दिएको थियो । यता ०६९ मा आएर म आफैँले ‘मिस नेपाल’ चलचित्र बनाएँ, त्यसपछि ‘टाइगर : द रियल हिरो’, मखमली र तत्काल रिलिज हुन लागेको बिन्दास–३ पनि मेरै हो ।

० तपाईंको आफ्नै लगानीका चलचित्रचाहिँ कुन–कुन हुन् ?
– को हुँ म, मिस नेपाल, मखमली मैले नै लगानी गरेका फिल्म हुन् भने मेरो ब्यानरमा अरू नै निर्माता रहेका चलचित्र पनि प्रशस्तै छन् ।

० तपाईंको पछिल्लो फिल्म बिन्दास–३ त रिलिज नहुँदै निकै चर्चामा आयो नि ?
– हो, यस्तो हुनु नराम्रो पनि होइन । व्यावसायिकताको हिसाबले त पहिले नै यसरी चर्चा हुनु खुसीकै कुरा हो । यो चलचित्र क्षेत्र पनि एउटा लडाइँको मैदानजस्तै हो । युद्ध लडेभन्दा कम छैन यहाँ सिनेमा बनाउन र बनेपछि त्यसलाई हलमा चलाउन, लगानी उठाउन या नाफा कमाउन । यसका लागि अनेक रणनीति नै प्रयोग गर्नुपर्ने पनि हुन्छ ।

० लगानी उठाउन कत्तिको गाह्रो छ नि चलचित्रको ?
– निकै गाह्रो छ । चलचित्र बनाएर हलसम्म पुर्‍याउन निकै कठिन छ भने लगानी उठाउन झन् कठिन छ । दर्शकहरू सीमित छन्, त्यसैले विशेष शो र विदेश शो गर्नुपर्ने बाध्यता छ ।

० यस्तो हुनुमा मुख्य जटिलता के रहेछ ?
– प्रोड्युसर, ड्रिस्टिब्युटर र हल । यी तीन पक्षको समीकरण मिलाउने कार्य अत्यन्त जटिल छ । निर्माताले आफ्नो लगानी लगाएर फिल्म बनाएको हुन्छ, तर चलचित्र प्रदर्शन हुँदासम्म निर्माता त थर्ड पर्सन पो बन्न पुग्दोरहेछ । उठेको पैसा पहिला हलवालाले लिन्छ, त्यसमा के–के ट्याक्स काट्छ, अनि वितरकले आफ्नो कमिसनसहित असुल गर्छ । अन्त्यमा निर्माताले बचेखुचेको रकम पाउन पनि हातपाउ बजार्नुपर्ने अवस्था छ । निर्माता ‘फस्र्ट पर्सन’ हुने नीति बन्नु आवश्यक छ । व्यावसायिकतामा लैजान यस्ता कुरामा ध्यान पुग्नुपर्छ सम्बन्धित सबैको ।

० हिन्दी फिल्मको तुलनामा नेपाली फिल्म स्तरीय नहुने हुँदा यसरी नेपाली चलचित्र निर्माता तल पर्नुपरेको पनि भनिन्छ नि ?
– केही हदसम्म यो सही नै होला, तर कुरो यो मात्र भने होइन । नेपाली फिल्मलाई माथि पार्न त्यस्तै नीति बन्नुपथ्र्यो, जो बनेको छैन । नीतिगत रूपमै नेपाली फिल्मलाई प्राथमिकता दिएमा अवश्य पनि नेपाली फिल्मका दर्शक बढ्ने थिए र आफसेआफ स्तर पनि वृद्धि हुँदै जाने थियो ।

० पछिल्लो चरणमा कि रेखा थापा, कि झरना थापा कि त शुभेच्छा थापा भन्ने चर्चा पनि सुनिएको छ, यसलाई कसरी लिनुहुन्छ ?
– दर्शक तथा मिडियाकर्मीले यस्तो उपाधि दिँदा मलाई त खुसी नै लाग्छ । रेखा, झरना दिज्यूहरूको हाराहारीमा मेरो चर्चा हुनु पक्कै सुखद सन्दर्भ हो । तर, मैले के ख्याल राखेकी छु भने उहाँहरूको तहमा पुग्न मैले पनि उहाँहरूले गरेजत्तिकै दु:ख गर्नुपर्छ, त्यो गर्न बाँकी नै छ ।

० तपाईंको अहिलेसम्मका फिल्ममध्ये अलिक चलेको कुनचाहिँ हो ?
– मिस नेपाल चलेकै हो, तर विभिन्न कारणले रकमको हिसाबचाहिँ मैले पाउन सकिनँ । सोचेजस्तो हातमा रकम परेन । बरु मेरै ब्यानरमा राजु गिरीजीले निर्माण/निर्देशन गर्नुभएको टाइगर : द रियल हिरोले मेरो हातमा समेत केही रकम दिलायो । अब जो बिन्दास–३ आउँदै छ, यसले चाहिँ मलाई आर्थिक रूपले पनि राम्रै गर्छ भन्ने विश्वास लिएकी छु ।

० बिन्दास–३ कस्तो फिल्म हो र यसलाई दर्शकले किन हेर्ने ?
– यो फिल्म वर्तमान पुस्तालाई टार्गेट गरेर बनाइएको त्रिपक्षीय प्रेमकथामा आधारित फिल्म हो । आजको पुस्ताले सेक्सलाई पनि अत्यन्त साधारण रूपमा लिएको हामी पाउँछौँ । यो विषयलाई यस फिल्ममा उठाइएको छ । यसरी सेक्सलाई नर्मल रूपमा लिएर व्यवहार गर्दा आजका किशोर तथा युवाहरूले कस्ता समस्या झेल्नुपर्ने हुन्छ भन्ने यसमा देखाउन खोजिएको छ । यौन भन्ने कुरा भित्री कुरा हो, यसलाई गोप्य रूपमा प्रयोग गर्नु नै राम्रो हुन्छ भनेरै हाम्रो समाजले गोप्य विषय बनाउँदै आएको हो । यसलाई उल्लङ्घन गरेर दुरुपयोग गर्दा कस्तो क्रिटिकल परिस्थिति आउन सक्छ भन्ने म्यासेज यस चलचित्रमार्फत दिन खोजिएको छ ।

० रिलिज कहिले गर्दै हुनुहुन्छ ?
– आगामी माघ २२ गतेदेखि ।
० यस चलचित्रमा प्रयोग गरिएको बेडसिन भद्दा भयो भन्ने आलोचनात्मक चर्चा छ नि ?
– हो, यस्तो चर्चा हुनुपर्छ । फिल्म आउनुअघि यसरी चर्चा भएमा दर्शकको ध्यान झन् खिचिन्छ र उनीहरू आफ्नो जिज्ञासा मेटाउन हलसम्म पुग्छन् । हल पुगेपछि त भद्दा हो कि शालीन हो, उहाँहरूले आफैँ मूल्याङ्कन गरिहाल्नुहुन्छ ।

० तपाईंले छातीमा खोपेको ट्याटुको पनि निकै चर्चा चल्यो नि, ट्याटु किन खोपाएको ?
– ट्याटु खोपाउने रहर त मेरो निकै पुरानो हो । तर, के चित्र खोपाउने भनेर निकै समय म द्विविधामा थिएँ । पछि लाग्यो कि म एक देशभक्त नागरिक हुँ, देशको माया झल्किने चित्र नै खोपाउनु उपयुक्त हुन्छ । अनि मैले छातीमा राष्ट्रिय झन्डा खोपाउने निर्णय गरेँ । छातीमै किन त भन्दा माया भन्ने कुरा त छातीभित्रैबाट लाग्ने हो, त्यसैले छातीमा राष्ट्रिय झन्डाको ट्याटु बनाएँ । यो कुनै चर्चाका लागि होइन, रहर मेटाएको मात्र हो ।
० तपाईं ग्ल्यामर क्षेत्रमा कर्म गरिरहनुभएको छ र त्यसमाथि पनि तपाईंको शैली थप ग्ल्यामरियस छ, परिवारले आपत्ति गरेको छैन ?
– म आफूलाई भाग्यशाली व्यक्ति ठान्दछु र थप भाग्यशाली यसकारण ठानिरहेछु कि मलाई र मेरो पेसालाई राम्रोसँग बुझ्ने जीवनसाथी पाएकी छु । मलाई मेरो घर–परिवारबाट एकदमै सपोर्ट मिलेको छ । मेरा श्रीमान् आफ्नै व्यापार–व्यवसायमा हुनुहुन्छ र पनि मेरो काम बुझ्नुहुन्छ, मेरी जेठानी दिदी झरना थापाज्यू स्वयम् कहलिएकी अभिनेत्री हुनुहुन्छ, मेरा जेठाजु सुनील थापा आफैँ फिल्म निर्माता हुनुहुन्छ भने परिवारले मलाई या मेरो पेसालाई नबुझ्ने त सवालै भएन । फिल्मी पेसामा ग्ल्यामर आउँछ, आउनु पनि पर्छ भन्ने उहाँहरूले बुझ्नुभएको छ ।

० अन्त्यमा, तपाईंको रिलिज हुन लागेको फिल्म बिन्दास–३ ले त ‘अडल्ट सर्टिफिकेट’ पाएको सुनिन्छ, यसबारे तपाईंको प्रतिक्रिया ?
– हो, निश्चित केही दृश्यहरूका आधारमा सम्बन्धित निकायले बिन्दास–३ लाई बयस्क चलचित्रको प्रमाणपत्र दिएको छ । यस्तो सर्टिफिकेट त अलिक भल्गर फिल्मलाई दिने हो भन्ने लाग्नु स्वाभाविक छ । तर, यो भन्दैमा कुनै शालीन दर्शकले बिन्दास–३ हेर्न धक मान्नुपर्ने अवस्था छैन भनी म यहाँनेर प्रस्ट्याउन चाहन्छु । कथाको मागअनुसार बिन्दास–३मा अलिक ‘रफ वर्ड’हरू प्रयोग भएका छन्, केही दृश्यहरू त्यस्ता छन् पनि, तर यो अश्लील फिल्म भने पक्कै होइन ।