गम्भीर समस्या बढेपछि साउदी अरबसँग श्रम सम्झौताको तयारी

गम्भीर समस्या बढेपछि साउदी अरबसँग श्रम सम्झौताको तयारी


saudi workers
काठमाडौं ।नेपाली कामदारका लागि साउदी अरब ठूलो श्रम बजारको रुपमा लिइएको छ । पछिल्लो समय यसरी साउदी महत्वपूर्ण श्रमबजार बने पनि साउदी अरबसँग लामो समयदेखि श्रम सम्झौता हुन नसक्दा नेपाली कामदारले निकै जटिल र गम्भीर खालका समस्या भोग्नु परेको छ । पीडित नापल् िकामदारका अनुसार सम्झौताअनुसारको काम नपाउनु, काम गरेको तलब नपाउनु, तोकिएको अवधिभन्दा बढी काम गर्नुपर्ने बाध्यता, करार अवधि सकिएपनि स्वदेश फर्कन नपाउनेलगायत समस्या नेपाली कामदारले भोग्ने गरेका छन् । यस्तो परिवेशमा नेपाल र साउदी अरबबीच छिट्टै श्रम सम्झौता हुने समाचार प्राप्त भएको छ । रियादमा भएको दुई देशबीचका प्रतिनिधिमण्डलको वार्ताले श्रम सम्झौताको मस्यौदालाई अन्तिम रुप दिएपछि श्रम सम्झौता हुने निश्चित भएको हो ।
Nepal-Saudi-Arabia
श्रम तथा रोजगार मन्त्रालयका सचिव रामकुमार आचार्यको नेतृत्वमा आएको प्राविधिक टोली र साउदीको डेपुटी मिनिस्टरस्तरीय वार्ताले श्रम सम्झौताको मस्यौदालाई अन्तिम रुप दिएको बताइएको छ । वार्तामा दुई देशबीच घरेलु कामदारलगायत सबै प्रकारका कामदारसम्बन्धी सम्झौता गर्ने निर्णय भएको समेत बुझिएको छ । दुई दिनसम्म चलेको द्विपक्षीय प्राविधिक टोलीको वार्ताले श्रम सम्झौताका लागि अन्तिम खाका तयार गरेको हो । यसअघि घरेलु कामदारको विषयमा मात्र चासो दिएको साउदी अरबले नेपालले सबै कामदारका लागि सम्झौता गर्नुपर्ने अडान लिएपछि दुवै खालको श्रम सम्झौता हुने भएको हो ।

साउदीका लागि कार्यवाहक नेपाली राजदूत आनन्दप्रसाद शर्मालाई उद्धृत गर्दै बताइएअनुसार साउदीसँग श्रम सम्झौताका लागि सबै तयारी पूरा भएको छ । श्रम सम्झौताका लागि घरेलु तथा सबै खालका कामदारका विषयमा दुई देशका श्रम अधिकारीबीच छलफल भई अन्तिम मस्यौदा तयार गरिएको शर्माको भनाई छ । वार्तामा मूलतः प्रस्तावित श्रम सम्झौता, घरेलु महिला कामदार तथा अन्य सबै प्रकारका कामदार, तलब सेवा सुविधा, कामदारका हक हितलगायत विषयमा छलफल भएको थियो ।