(कविता)विम्वहरुमा साहित्यकारहरु : निर्भीक राई

(कविता)विम्वहरुमा साहित्यकारहरु : निर्भीक राई


(साहित्यकारहरुको परिभाषाहरु)
साहित्यकार- दर्दलाई सिपालु पाराले कलमको चुच्चोबाट छाद्दै सन्चो हुने मदौरो ।
साहित्यकार- आफ्नो ज्यान छेलिँदा वा बिलाउँदा पनि नाम कागजमा प्रदर्शन गर्नु लालायित महत्वाकाङ्क्षी ।
साहित्यकार- पैसा चलाउन नपाउँदाको दुःख चर्चा फैलाई दुःख घटाउन चाहने अस्तित्ववादी ।
साहित्यकार- शब्दको थुँगाहरु आँखाहरुले चुस्दाको प्रभाव कागजमा थुपार्ने कर्मी मौरी ।
साहित्यकार- कितापप्रेमीको अस्पटलाग्दो क्षणहरुलाई मीठो सपनासँगको निन्द्रामा लाने दबाइको आविष्कारक ।
साहित्यकार- ज्ञानको दानाहरुसहितको हरफहरुको पाँजाहरु कागजमा फिँजाउने किसान ।
साहित्यकार- कलमको तिस्कलोको भरमा विचारको जिली फलाउने पौरखी चेपाङ ।
साहित्यकार- शब्द संयोजनको कौशलले अनुरागीहरु थुपार्ने चटके ।
साहित्यकार- भिक्षुणीलाई दमाहा बनाउने लामा, गोजीमा चुरोट बोकी रोगीलाई धुम्रपान नगर्न सुझाव बाँड्ने चिकित्सक वा महिलामाथि हुने हिंसा विरुद्घको गोष्ठीमा बोल्दा ताली पाउने तर घरमा चाहिँ स्वास्नीलाई भकुर्ने नेताझैँ ढोँगी ।
साहित्यकार- आफ्नो पाखुराको बन्दुकमा कलमको सङ्गिन जोड्दै क्रान्तिकारीहरुलाई जोस्याउने सहयोद्घा ।
साहित्यकार- चिहान फोर्ने तस्करझैँ घटनाको थुप्रोलाई कलमको टुँडोले उधुनी कहानी बेच्ने तस्कर ।
साहित्यकार- कलमको रकेट चढी कल्पनाको आकाशमा घुम्ने यात्री ।
साहित्यकार- अक्षरको घारीमा पाठकलाई भौँतरिनु लगाई बिनाउपलब्धि समय खर्च्याउने ठग ।
साहित्यकार- कल्पनाको महासागरमा कागजको डुङ्गालाई कलमको बहनाले खियाउने दुखी माझी ।
जन्मथलो :नेपालेडाँडा, भोजपुर
हाल -मनमैजु, काठमाण्डू ।