पौडेल उम्मेदवार बने कृष्ण सिटौला पनि बन्ने
संस्थापन पक्षका नेता तथा कार्यकर्ताको चौतर्फी दबाबपश्चात् काङ्ग्रेसका युवा नेता गगन थापाले सभापति पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । थापाको उम्मेदवारीलाई कांग्रेसमा पुराना नेताविरुद्धको विद्रोहका रूपमा लिइएको छ । तर, उनको उम्मेदवारीले वरिष्ठ नेता शेरबहादुर देउवाभन्दा सुशील कोइराला र रामचन्द्र पौडेललाई सकसमा पार्न सक्ने देखिएको छ । यसअघि सुशील कोइरालाका विशेष सहयोगी भूमिकामा देखिँदै आएका आमोदप्रसाद उपाध्यायसमेत गगनका पक्षमा उभिएका छन् र उपाध्यायको यस्तो निर्णयले कोइराला परिवारलाई स्तब्ध बनाएको छ । गगन थापालाई उनका ससुरासमेत रहेका अर्जुननरसिंह केसीसँग जोडेर हेर्नेहरू गगनको पछिल्लो गतिविधिबाट चकित परेका छन् । गगनको साथ पाएर महामन्त्री बन्ने अपेक्षा गरिएका केसी पनि आफ्नो ज्वाइँको भूमिकाबाट सशङ्कित बनेको बताइन्छ । यद्यपि गगनले अहिलेसम्म तेह्रौँ महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने औपचारिक घोषणा गरिसकेका छैनन् । आफू उम्मेदवार बन्दा के–कस्तो प्रतिक्रिया उत्पन्न हुनसक्छ र पार्टीपङ्क्तिमा उम्मेदवारीलाई कसरी लिइन्छ भन्ने विषयमा गगन यतिबेला अध्ययन गर्दै छन् । आफूलाई ‘महत्त्वाकाङ्क्षी’ भन्ने हुन् कि भन्ने चिन्ताले मात्र गगन अहिलेसम्म उम्मेदवार घोषणा गर्न हच्किएको बताइन्छ ।
यस सम्बन्धमा घटना र विचारले सम्पर्क गर्दा थापाले भने, ‘म साथी र नेताहरूसँग छलफल गर्दै छु, यदि अधिकांश नेता र साथीहरूको सहयोग र सद्भाव रहने भयो भने उचित समयमा आवश्यक निर्णय लिनेछु ।’ गगनको यस अभिव्यक्तिले उनी सभापति पदमा उम्मेदवारी दिनेबारे सकारात्मक रहेको सङ्केत दिएको छ । संस्थापन पक्षबाट गगन थापाले उम्मेदवारी दिने घोषणा गरेमा सभापति सुशील कोइराला र उपसभापति रामचन्द्र पौडेललाई सकसमा पार्ने सम्भावना छ । अहिलेसम्म गगनले उम्मेदवारी दिने चर्चालाई प्रमुख नेताहरूले गम्भीरताका साथ लिएका छैनन् । यो चर्चालाई नेताहरूले पदाधिकारीको निम्ति ‘बार्गेनिङ’ मात्र भएको ठानेका छन् । तर, गगन थापाका समर्थकहरू सभापतिमा उनको उम्मेदवारी हुने कुरालाई ‘बार्गेनिङ’ मान्न तयार छैनन् । नाम बताउन नचाहने गगनका एक समर्थकले भने, ‘हेर्नुस्, गगनजीले सभापतिमा उम्मेदवारी दिने निश्चित छ, यदि उनले उम्मेदवारी दिएनन् भने युवापङ्क्तिमा निराशा छाउनेछ । पार्टीलाई गतिशील र कार्यमुखी बनाउन गगनको उम्मेदवारी आवश्यक छ, हामी उनलाई उम्मेदवार बनाएरै छोड्नेछौँ, उम्मेदवार बनाएपछि गगनको जित निश्चित छ भन्ने हामीले विश्वास गरेका छौँ ।’
तेह्रौँ महाधिवेशनमा संस्थापन पक्षबाट उपसभापति रामचन्द्र पौडेलले सभापति पदमा उम्मेदवारी दिने निश्चित भइसकेको छ । पौडेलले विगत एक महिनादेखि देशव्यापी रूपमा आफ्नो अभियान अघि बढाइरहेका छन् । पौडेल अब पछाडि फर्कन मिल्ने अवस्थामा छैनन् । यसपटक पनि उनी पछि हटे भने पौडेलका समर्थकहरू निराश बन्ने र पौडेल स्वयम्को राजनीतिक भविष्य पनि अनिश्चित हुने ठानिएको छ । उता सभापति सुशील कोइराला पनि अर्को एक कार्यकाल सभापति बन्न इच्छुक छन् । सम्भावित उम्मेदवारमध्ये सबभन्दा कमजोर मानिएका कोइरालालाई उनका हितैषीहरूले उम्मेदवार नबन्न दिएको सुझावलाई कोइरालाले वास्ता गरेका छैनन् । बरु शुभचिन्तकहरूसँग उनले भन्ने गरेका छन्, ‘मैले राष्ट्रपति बन्न पाएको अवसर त्यत्तिकै छोडेको होइन, कोइराला परिवारको राजनीतिक भविष्य रक्षाका लागि मैले राष्ट्रपति पद छोडेर कांग्रेसको सभापतिमा पुन: उम्मेदवार बन्ने सोच बनाएको हुँ ।’
यसरी सुशील कोइराला देश, प्रजातन्त्र र कांग्रेस पार्टीको भविष्य जोगाउन नभई कोइराला परिवारको राजनीति जोगाउन मात्र पुन: सभापतिको उम्मेदवार बन्न लागेका छन् । तर, महेश आचार्य र नरहरि आचार्यलगायतले उम्मेदवारी नबन्नु उचित हुने भनी दिएको सुझावलाई कोइरालाले गम्भीरतापूर्वक लिएका छैनन् । डा. शशांक कोइरालालाई उपसभापति र सुजाता जोष्टलाई महामन्त्री बनाउँदा मात्र कोइराला परिवारको भविष्य जोगिने विश्वास कोइरालाले गरेका छन् । आफू सभापतिको उम्मेदवार बनेपछि प्रकाशमान सिंहलाई पहिलेझैँ महामन्त्रीको उम्मेदवार बनाउने योजनामा सुशील कोइराला रहेका छन् । डा. रामशरण महत, डा. शेखर कोइराला, नरहरि आचार्य, कृष्ण सिटौला र महेश आचार्यलाई उनले कुन जिम्मेवारी दिएर मनाउने हुन् बुझ्न सकिएको छैन ।
हाल महामन्त्री रहेका कृष्णप्रसाद सिटौला पुन: महामन्त्री या उपसभापति बन्न इच्छुक छन् । सुशीलले उम्मेदवारी नदिएर रामचन्द्र पौडेललाई समर्थन दिएमा कृष्ण सिटौला पनि सभापतिको उम्मेदवारी दिने योजनामा छन् । रामचन्द्र पौडेलप्रति सिटौलाको यति ठूलो वैरभावको कारण बुझ्न सकिएको छैन । तर, सिटौलाले रामचन्द्र पौडेलसँग भने सुशील उम्मेदवार बने आफूले पनि सभापतिमा उम्मेदवारी दिने बताएका छन् ।
यसरी संस्थापन पक्षभित्र भाँडभैलोको स्थिति उत्पन्न भएका बेला गगन थापाले सभापतिमा उम्मेदवारी दिँदा त्यसको असर कुन रूपमा पर्ने हो त्यसको जानकारीका लागि पार्टीको स्थानीय तहको अधिवेशनसम्म प्रतीक्षा गर्नुपर्ने भएको छ । हालको संस्थापन पक्षभित्र उत्पन्न परिस्थितिले वरिष्ठ नेता शेरबहादुर देउवालाई भने राजनीतिक रूपमा लाभ पुर्याउने देखिएको छ ।
प्रतिक्रिया