फुटबलमा सफलता :: प्रतियोगिताको मापन हुन जरुरी

फुटबलमा सफलता :: प्रतियोगिताको मापन हुन जरुरी


Shree Bikram Bhandari
:: श्रीविक्रम भण्डारी ::

विजयमा खुसी हुनु र खुसीयाली मनाउनु स्वाभाविकै हो । तर, विजय कहाँ प्राप्त गर्‍यो र कस्तो प्रतियोगितामा प्राप्त गर्‍यो त्यसले विजयको अर्थ राख्छ । सबै विजय ऐतिहासिक हुन सक्तैन । ऐतिहासिक हुन प्रतियोगिताको स्तर पनि त्यस्तै हुनुपर्छ । बंगबन्धु गोल्डकप फुटबल आफैँमा कुनै चर्चित प्रतियोगिता होइन । त्यो बंगलादेशको फुटबल सङ्घले वार्षिक रूपमा आयोजना गर्ने एउटा प्रतियोगिता मात्रै हो । बंगबन्धु प्रतियोगितालाई नेपालको मोफसलमा हुने फुटबलका प्रतियोगितासँग दाँज्दा अतिसयोक्ति नहोला । यसर्थमा कि यी फुटबल प्रतियोगिताको महत्त्व त्यो देशमा भए पनि अन्तर्राष्ट्रियस्तरमा कुनै अर्थ राख्दैन । यहाँ भन्न खोजिएको कुरा के हो भने बंगबन्धु गोल्डकप पनि एउटा साधारण फुटबल प्रतियोगिता हो । त्यसमा जनाइएको सहभागिता र हारजितले फुटबल खेलाडी र सम्बन्धित सङ्घलाई प्रभाव पारे पनि राष्ट्रको सफलतासँग त्यसलाई जोड्न मिल्दैन । यसर्थमा कि त्यस्तो प्रतियोगितालाई फिफा, एएफसी र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले मान्यता दिएको हुँदैन । यदि नेपालले विश्वकप छनोट चरण, ओलम्पिक छनोट चरण, एसियन छनोट चरण, साफ च्याम्पियनसिप, साग प्रतियोगितामा विजय हासिल गरेको भए त्यो नेपालको गौरव र प्रतिष्ठाको विषय बन्थ्यो । तर, आज नेपालले सामान्य प्रतियोगितामा विजय हासिल गर्दा विश्वकप नै जितेर आएको जसरी प्रचारप्रसार गरेर उत्सव मनाइयो त्यो अहिले बुझिनसक्नु भएको छ ।
Sprt Main
अहिले मुलुक नेपाली राष्ट्रिय फुटबल टिमले बंगबन्धु गोल्डकपमा प्राप्त गरेको विजयको नसामा चुर्लुम्म डुबेको छ । तर, विडम्बना सम्बन्धित निकाय राष्ट्रिय खेलकुद परिषद् प्रतियोगिताको वास्तविकता नै नबुझी किन उन्मुक्तता देखाइरहेको छ त्यो अहिले सोचनीय कुरा बनेको छ । सफलताको शुभकामना दिनु र खेलाडीलाई प्रोत्साहन गर्नु राखेपको काम–कर्तव्य भए पनि नेपाली खेलाडीले पाएको सफलताको गहिरो अध्ययन गर्नु पनि उसको दायित्व हो । तर, राखेप यसमा चुकेको छ । राखेपले प्रतियोगिताको स्तरीयता, प्रभावकारितालाई कुनै कोणबाट जाँच्ने प्रयास गरेको छैन । सञ्चारमाध्यमले गरेको प्रचारबाजीमा बगेर आफ्नो अपरिपक्वता प्रस्तुत गरेको छ । साँचो अर्थमा भन्नुपर्दा फुटबल टिमले मुसो मात्रै मारेको हो, बाघ मारेको होइन । मुसो मार्दा यति धेरै प्रचारप्रसार गर्नु आवश्यक थिएन । तर, किन गरियो त्यो अहिले रहस्यको विषय बनेको छ । त्यसैले एकजना फुटबल खेलाडी भन्दै थिए, ‘यो त डाडुको खाएर पाथीको कुरा भो, लाजै भो, किन यसो गरिएको हो ? त्यो फुटबलको भविष्यका लागि राम्रो होइन ।, ‘धेरै भएपछि अजीर्ण हुन्छ, त्यसपछि फुटबल योभन्दा पनि थला पर्‍यो भने को जिम्मेवार हुने ?’ उनको प्रश्न थियो ।

अहिले नेपाली फुटबलको चुनौती र अवसरको रूपमा १२औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) सन्निकट छ । बंगलादेशमा सम्पन्न भएको छैटौँ साफ प्रतियोगितापछि नेपालले फुटबलमा महत्त्वपूर्ण उपाधि जित्न सकेको छैन । यस्तो अवस्थामा बंगबन्धु गोल्डकपमा पाएको सफलता नेपालका लागि कोसेढुङ्गा साबित हुनसक्छ । नेपालले १२औँ सागमा बंगबन्धुमा प्रतिस्पर्धा गर्ने राष्ट्रका टिमसँग प्रतिस्पर्धा गर्ने भएकाले त्यसले नेपालका लागि ठूलो अर्थ राख्छ । १२औँ सागमा नेपाली फुटबलको प्रदर्शन कस्तो रहला त्यो भन्न सकिने अवस्था नभए पनि बंगलादेशमा पाएको सफलता नेपाली खेलाडीका लागि प्रमुख हतियार बन्ने कुरामा शङ्का छैन । यही कुरालाई मध्यनजर गर्दै पूर्वकप्तान तथा फुटबल प्रशिक्षक उपेन्द्रमान सिंहले १२औँ सागको प्रदर्शनप्रति आफू गम्भीर भएको बताएका छन् । बंगबन्धुमा पाएको विजयलाई असली विजयमा बदल्न १२औँ साग फुटबल खेलाडीका लागि चुनौतीपूर्ण भएको बताए । वर्तमान अवस्थामा नेपाली फुटबललाई भ्रष्टाचार र म्याचफिक्सिङले गाँजेको अवस्थामा यो जित आफँैमा ठूलो जित भएको सिंहको कथन थियो । अझ २३ वर्षसम्म अन्तर्राष्ट्रियस्तरमा उपाधिविहीन फुटबललाई यो जितले निकै राहत प्रदान गरेको र सबैलाई खुसी तुल्याएको सिंहले बताए । खेलाडीहरू म्याचफिक्सिङमा परेपछि फुटबलको साख दाउमा लागेको बेला यो विजयले फुटबलमा नयाँ ज्यान पलाएको छ । यदि १२औँ सागमा फुटबल खेलाडीले यस्तै प्रदर्शन दोहोर्‍याए भने त्यो ओलम्पिकमा स्वर्ण पदक जितेसरि हुनेछ– सिंहले बताए ।

बंगबन्धु गोल्डकपको उल्लेख फिफा र एएफसीको वार्षिक क्यालेन्डरमा नभए पनि यो प्रतियोगिता बंगलादेशको उत्कृष्ट प्रतियोगिता हो । प्रतियोगिता जुन स्तरको भए पनि त्यो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । हामीले सात राष्ट्रका आठवटा टिमले सहभागिता जनाएको अन्तर्राष्ट्रिय प्रतियोगिता लामो समयपछि जितेका छौँ । सत्य के हो भने हामीले फुटबलमा परेको विजयको खडेरीलाई समाप्त पारेका छौँ । यो अखिल नेपाल फुटबल सङ्घ, खेलाडी र प्रशिक्षकका लागि ठूलो उपलब्धि हो । त्यसैले लामो समयपछि टुपुल्किएको खुसीलाई मनाउने क्रममा ऐतिहासिक विजयजस्तो गरी मनाइएको मात्र हो । यसमा सञ्चारमाध्यम, सरकार र राखेपले जुन किसिमको साथ दिए त्यसले यो सानो विजय भव्य देखिएको मात्र हो– सिंहले भने । फुटबल खेलाडीको सम्मानमा जात्रा निकाल्दा गाईजात्रा भयो भन्छन् नि भन्दा सिंहले यो २३ वर्षपछिको विजयको उन्माद भएको प्रस्ट पारेका थिए ।

त्यस्तै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले प्रतियोगिताभन्दा पनि खेलाडीको आचारण सुधार्नका लागि आफूले पुरस्कारको घोषणा गरेको प्रस्ट पारेका छन् । विष्टले विगतमा फुटबलका खेलाडी म्याचफिक्सिङमा फसेको र सीमित रकमको लोभमा परेर मुलुकको मानमर्दन हुने कार्य गरेको हुँदा त्यो दोहोरिन नदिन आफूले खेलाडीलाई कुमार्गबाट बचाउने प्रयास गरेको बताए । अहिले खेलाडीले देशको माटोलाई सम्झेर खेलेका छन्, त्यसको परिणाम पनि विजयमा आएको विष्टले दाबी गरे । साथै विष्टले आसन्न १२औँ सागमा फुटबल खेलाडीले यस्तै प्रदर्शन दोहोर्‍याउने दाबीसमेत गरे । साथै खेलाडीलाई पुरस्कृत र सम्मान गर्ने कुरामा राखेप कहिल्यै पछि नपर्ने बताउँदै खेलाडी पनि अनुशासित भएर राष्ट्रलाई सम्झेर खेल्नुपर्ने प्रस्ट पारे । फुटबल खेलाडीकै गलत सोचका कारण फुटबल विवादमा तानिएको र बद्नाम भएको चर्चा गर्दै सदस्यसचिव विष्टले अब त्यस्तो कुरा दोहोरिन नदिन खुद खेलाडी नै गम्भीर हुनुपर्ने बताए ।

प्रतियोगिता सानो होस् या ठूलो अहिले फुटबलले लामो सयमपश्चात् अन्तर्राष्ट्रिय सफलता भने पाएको छ । यसो भन्दैमा एन्फालगायत सम्बन्धित निकायले आँखा चिम्लिन भने कदापि मिल्दैन । फुटबलमा पाएको सफलता कुन स्तर र मापडण्डको हो त्यसको मापन भने गर्नैपर्छ । अन्यथा विश्वकप, एसियन कपको छनोट, साग र साफ च्याम्पियनसिपको सफलता बंगबन्धुमा पाएको सफलता एउटै नहोला भन्न सकिँदैन । तसर्थ जत्रो सफलता त्यत्रै सम्मान त्यो नै खेलाडी र फुटबलका लागि कल्याण हुनेछ । अन्यथा व्यर्थैमा खेलाडीलाई बेलुन बनाएर आकासमा उडाउँदा भोलि महत्त्वपूर्ण गेममा फुस्स नहोला भन्न सकिँदैन ।

अनलक्की गणेश थापा
Ganesh Thapa
अखिल नेपाल फुटबल सङ्घ एन्फाका पूर्वअध्यक्ष गणेश थापा फुटबलका लागि अनलक्की भएको साबित भएको छ । सो कुराको पुष्टि बंगबन्धु गोल्डकप अन्तर्राष्ट्रिय फुटबलमा नेपालले हासिल गरेको विजयले प्रमाणित गरेको छ । थापाले एन्फामा दुई दशक बिताए पनि फुटबलले अन्तर्राष्ट्रिय उपाधि जित्न सकेको थिएन । अहिले थापालाई फिफाले दशवर्षे प्रतिबन्ध लगाएको केही महिना नबित्दै फुटबल टिमलाई सफलता हात लागेको छ । यसलाई संयोग मान्ने कि थापाको दुर्भाग्य त्यो चर्चाको विषय बनेको छ । थापालाई भ्रष्टाचारको आरोप लागेर दशवर्षे प्रतिबन्धमा परे पनि उनले आफ्नो कार्यकालमा फुटबलको समग्र विकास र विस्तारका लागि कुनै कसर बाँकी नराखेको घामजस्तै छर्लङ्ग छ । र पनि, उनको पालामा नेपाली फुटबल टिमले किन कुनै पनि अन्तर्राष्ट्रिय उपाधि जित्न सकेन, त्यो अहम् विषय बनेको छ । यसरी फुटबलमा खेलाडीको रूपमा थापा सफल भए पनि पदाधिकारीको रूपमा असफल र अनलक्की भएको प्रस्ट रूपमा देखिन्छ । फुटबलसँग थापाको साइनो रगत र पसिनाको भए पनि थापा किन फुटबलमा अनलक्की साबित भए त्यो चर्चा र चासोको विषय बनेको छ ।

फुटबलमा अब कालो दिन हुँदैन
keshav-bista
अब फुटबलमा कालो दिन नआउने राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले बताएका छन्। बंगबन्धु गोल्डकप विजेता नेपाली फुटबल टोलीलाई सम्मान गर्न दशरथ रंगशालमा आयोजित कार्यक्रममा सदस्यसचिव विष्टले नेपाली खेलकुदमा लागेको कालो दागलाई अबका दिनमा फर्केर हेर्नु नपर्ने भन्दै कुनै पनि खेलाडीले म्याचफिक्सिङको आरोप झेल्नु नपर्ने बताएका थिए । उनले खेलाडीले बगंबन्धु रंगशालामा जुन जुझारूपनको जित निकाले त्यो जित खेलाडी, फुटबल र खेल क्षेत्रका लागि मात्र नभई तीन करोड नेपालीको जित भएको बताए । सदस्यसचिव विष्टले अन्तर्राष्ट्रिय प्रतियोगितामा हारको खडेरीलाई यस विजयले परिपूर्ति गरेको भन्दै नजिकै आएको १२औँ दक्षिण एसियाली खेलकुदमा समेत यसलाई निरन्तरता प्रदान गर्ने विश्वास व्यक्त गरेका थिए । यस्तै सदस्यसचिव विष्टले टोलीका प्रत्येक सदस्यलाई दुई लाख प्रदान गर्न सरकारलाई अनुरोध गर्नेसमेत बताए ।