काङ्ग्रेस महाधिवेशन र चुनौती

काङ्ग्रेस महाधिवेशन र चुनौती


ghatana logo 1
पार्टीको वैधानिकतामाथि नै प्रश्नचिह्न खडा हुने विषमावस्था निम्तिएपछि संविधान संशोधनको बाटो अवलम्बन गरी अस्तित्व जोगाउन सफल नेपाली काङ्ग्रेस १३औँ महाधिवेशनको चटारोमा छ । यतिबेला गाउँ/नगर, क्षेत्र एवम् जिल्ला अधिवेशन प्रक्रियामा होमिएको काङ्ग्रेसभित्र गुटबन्दी कुन स्तरमा पन्पिएको रहेछ भन्ने स्थानीय तहको अधिवेशनपछि काङ्ग्रेसका नेता–कार्यकर्ता स्वयम्ले राम्रोसँग अनुभूति गर्न पाएका छन् । नेतृत्व तहबाटै लादिएको गुट–उपगुटको महारोगका कारण आफ्नै कार्यकर्ताको निम्ति पनि ‘आफ्नो’ बन्न नसकेको काङ्ग्रेसले ‘जनताको पार्टी’ भन्ने विशेषण गुमेको त हेक्कासम्म पनि राख्न नसकेको आभास हुन्छ । कुनै बेला जागरण, नवचेतना र परिवर्तनको संवाहकको रूपमा रहेको र आमनेपालीले पनि यसरी नै स्वीकार गरेको नेपाली काङ्ग्रेस यसरी आफैँ अस्तव्यस्त अवस्थामा रहे पनि देशकै ठूलो र पुरानो लोकतान्त्रिक पार्टीको ढोल पिट्दै तमाम कार्यकर्ता र आमनेपालीको ध्यान खिच्ने प्रयत्न भने गरिरहेकै छ ।

पार्टीलाई माया गर्ने लाखौँ कार्यकर्ता एवम् शुभचिन्तक मात्र होइन काङ्ग्रेससँग व्यापक बौद्धिक जनशक्ति पनि छ । तर, नेतृत्व नै एकाङ्की भइदिँदा पार्टीको यो महत्त्वपूर्ण पुँजी देश र जनताको हितमा परिचालन हुन नसकेको यथार्थ कसैबाट छिपेको छैन । कतिपयले काङ्ग्रेसलाई यदाकदा ‘बिरानो शक्ति’को रूपमा चित्रित गर्न खोज्नुमा पनि पारिवारिक सङ्कुचनमा परेको नेतृत्व नै एक कारक देखिएको छ । लोकतान्त्रिक पद्धतिलाई संस्थागत तुल्याउँदै मुलुकले चाहेको स्थायित्व, विकास तथा समृद्धिको चाहना साकार तुल्याउने सवालमा आशा गरिएको नेपाली काङ्ग्रेसजस्तो दललाई सीमित व्यक्ति वा परिवारको वृत्तमा मात्र रिङ्ग्याइराख्ने प्रवृत्ति कायम रहनु पार्टी तथा पार्टीसम्बद्ध व्यक्तिका लागि मात्र नभई देश र समस्त देशवासीकै निम्ति पनि दुर्भाग्यपूर्ण विषय हो । देशकै ठूलो दल भएर पनि प्रकारान्तरले परिवारविशेषको मुठ्ठीमा खुम्चिएको काङ्ग्रेस मौजुदा हालतमै रहने कि परिवारवादको घेरा तोड्दै नीतिमुखी, जनमुखी बनेर अघि बढ्ने भन्ने सवाल १३औँ महाधिवेशनको सन्दर्भमा व्यापक रूपले उठेको छ ।

काङ्ग्रेस कदापि सुध्रन नसक्ने पुरातन पार्टी हो भन्ने आरोप किन लाग्ने गर्छ ? यसभित्रका युवाको भविष्य नै छैन भन्ने त्रास विपक्षी तप्का र आफैँभित्रबाट पनि के आधारमा लाग्दै आएको छ ? यस परिवेशमा के काङ्ग्रेसले युवा वर्गलाई समेत सम्मान, स्थान वा जिम्मेवारी दिएर परिचालन गर्ने सोच राखेको छ त ? १३औँ महाधिवेशनले के मुलुकको समस्या समाधान र अग्रगमनका लागि काङ्ग्रेसमाथि भर पर्दा हुन्छ भन्ने आमनेपालीबीच सन्देश दिन सक्ला त ? यी यस्ता सवाल हुन् जसलाई नजरअन्दाज गरेर उम्कन खोज्नु रुग्ण नेतृत्व तहका निम्ति ठूलै अभिशाप सावित हुन सक्छ ।

वास्तवमै समयको पदचाप सुन्न र बुझ्न नसकेर काङ्ग्रेस दिशाहीन भएको हो । मुलुकलाई नेतृत्व दिने सन्दर्भमा मात्र नभई पार्टीलाई दिशानिर्देश गर्ने तथा आन्तरिक प्रजातन्त्रकै सवालमा पनि काङ्ग्रेसको वर्तमान नेतृत्वको छवि धुमिल बनेको छ । तथापि, जसले जे दाबी गरे पनि काङ्ग्रेसले अङ्गीकार गर्दै आएको विचार वा दर्शन उछिनेर अगुवा हुने गरी कुनै नीति, सिद्धान्त वा विचारवाहक दल हालसम्म मुलुकमा अर्को देखिएको छैन । ओह्रालो लागेको अवस्थामा पनि काङ्ग्रेसका लागि यो सुखद पक्ष हो । तर, मेरो बाटो सही छ भनी जबर्जस्ती हुङ्कार गर्दै इतिहास भजाएर पार्टीको साख बच्ने अवस्था अब छैन । आमनागरिक र तमाम कार्यकर्तासँग सोझै जोडिएर सकारात्मक परिणाम प्रदान गर्न नसक्ने कुनै पनि दलका दिन अब करिब–करिब समाप्त भए भन्दा हुन्छ । काङ्ग्रेस मात्रै यस निर्मम यथार्थबाट अछुतो रहन किमार्थ सक्दैन ।

सबभन्दा महत्त्वपूर्ण त कुनै पनि राष्ट्र अगाडि बढ्ने कार्यमा अहम् भूमिका नेतृत्वकै हुन्छ । यस्तोमा जस्तोसुकै होस् आफ्नै परिवारभित्रबाट पार्टीको उत्तराधिकारी खोजिनुपर्छ भन्ने सोचले ग्रस्त नेतृत्वका कारण पार्टीपङ्क्ति र सिङ्गै देशलाई समेत शिथिल तुल्याएको इन्कार गर्न सकिन्न । तसर्थ, समयानुकूल नेतृत्व चयनको सवालमा तमाम काङ्ग्रेसजनले ‘महाधिवेशन’माथि नै दबाब पुर्‍याउनु अपरिहार्य भएको छ । अबको महाधिवेशनले मुलुकका समस्या समाधान गर्नका लागि काङ्ग्रेसले अगुवाइ गर्नेदेखि देशका तमाम युवाहरूको चाहना बुझेर दल पुरानो भए पनि काङ्ग्रेस नै नयाँ र भरपर्दो शक्ति हो भन्ने सन्देश प्रवाहित गर्न सक्नुपर्छ । यसका लागि केवल नारामा होइन यथार्थमै पार्टी एकढिक्का भएर अगाडि आउनुपर्छ । सम्भवत: काङ्ग्रेसका लागि १३औँ महाधिवेशनको सबभन्दा कठिन चुनौती पनि यही नै हो ।